के सिकाउने, कसरी सिकाउने !
शुरुवात शुरुबाटै गर्नुपर्छ। शुरुवात मध्यबाट वा अन्त्यबाट भयो भने त्यसको परिणाम राम्रो हुँदैन। हुनत सँधै शुरुवात शुरुबाटै हुँदैनन्। दशैंमा बाबियो (खर)को लठारो बाट्नुभएको छ? लामो, मोटो लठारो बाट्नुपर्ने र एकजनाले गर्न नसकिने भएकोले लठारो सामान्यत: बीचबाट बाट्न शुरु गरिन्छ। त्यसैले मध्यबाट शुरु भएका सबै कामका परिणाम सही हुँदैनन् भन्ने पनि हुँदैन।
ठ्याक्क एक बर्ष अगाडि हो, कफी टकमा बसेर कफी पिइरहँदा एकजना दाइले मलाई सोध्नुभयो- हाम्रो समाज वा देशमा परिवर्तन ल्याउन सबैभन्दा पहिला के परिवर्तन गर्नुपर्छ? मलाई यसको जवाफ दिन सोच्नै परेन। मैले भनें- शिक्षा। सिकाइको पहिलो खुट्किलो। यहाँ शिक्षा भनेर विद्यालय जानुभन्दा अगाडिदेखिको कुरा गर्न खोजेको। यसलाई संस्कार पनि भन्न सकिन्छ। हुनत बहुसंख्यकलाई हेर्ने हो भने हाम्रो रहनसहन वा हाम्रो जीवनशैली शहरिया होइन। हाम्रा आमाहरुले अझै पनि गर्भावस्थामा पर्याप्त स्याहार पाउँदैनन्। हिँड्दा हिँड्दै, काम गर्दागर्दै बच्चा जन्माउनु पर्छ। बच्चा पनि हिलो, माटो, ढुंगासँग खेल्दै, खाँदै हुर्किन्छन्। हामी त्यसैगरी हुर्केका हौं। तर सँधै 'हामी त यस्तै त हो नि ब्रो' शैलीमा हामी सभ्य मान्छे बन्न सक्दैनौं।
शुरुवात कहाँबाट गर्ने?
शुरु त गर्भावस्थाबाटै गर्दा राम्रो हो। तर त्यो सम्भव नभए कम्तिमा बच्चा जन्मिएपछि। बच्चामार्फत् हामीले आफ्नो समाजको, हाम्रो संस्कारको, हाम्रो सिकाइको जग बसाल्नु पर्छ। तपाइँहरुले कति याद गर्नुभएको छ- हाम्रा बच्चाहरु नचिनेका मान्छे वा नयाँ मान्छेसँग कसरी अन्तरक्रिया गर्छन्? कोही नयाँ मान्छेले केही सोधे डराउने, नबोल्ने गर्छन् कि जवाफ दिन्छन? नयाँ ठाउँमा जाँदा जतिबेलै बाउआमाको हात समातेरै झुण्डिराख्छन् कि अरुसँग पनि अन्तर्क्रिया गर्छन्? हेर्दा सुन्दा सामान्य लाग्ने कुरा हुन् यी। तर यसले बच्चाको सिकाइ र हुर्काइमा ठूलो अर्थ लाग्छ। सामान्यत: हाम्रा बच्चाहरु नयाँ मान्छेसँग बोल्न डराउँछन्। बच्चा नयाँ मान्छेसँग झुम्मिनुपर्छ, जतिबेला नि कुरा गर्नुपर्छ भन्ने होइन तर त्यसको मलतब बोल्दै नबोल्ने हुनुहुँदैन। बाटोमा हिँड्दा, कसैका घर जाँदा बच्चालाई अन्तर्क्रिया गराउन बाबुआमा सक्रिय हुनुपर्छ र यो सिकाउने घरमै हो।
अर्को, हाम्रोमा 'डे केयर' प्रणाली छैन। हामी सबै फुर्सदिला छौं। त्यसैले हाम्रा बच्चाहरुलाई 'डे केयर'को आवश्यकता नै छैन। त्यसमाथि हामी संयुक्त परिवारमा बस्छौं। अनि बच्चा हेर्ने जिम्मा हजुरबा हजुरआमाको हुन्छ। हाम्रा 'डे केयर' हाम्रा बाबुआमा हुन्। 'डे केयर'ले बच्चैमा संस्कार सिकाउँछ। साथीहरुसँग कसरी खेल्ने, अनुशासनमा कसरी बस्ने? कसरी अन्तर्क्रिया गर्ने? खाना खाने, कपडा लगाउने, सफा सुग्घर हुने, बाटोमा हिँड्दा कसरी हिँड्ने, सार्वजनिक यातायातमा यात्रा गर्दा के कुरा ध्यान दिने? पार्क वा खेल मैदानमा खेल्न जाँदा के के कुरा ध्यान दिने? यी सबै कुराको सिकाइ 'डे केयर'मा हुन्छ। हरेक बच्चा फरक हुन्छन्। प्राय: हरेक बच्चा घरमा अराजक हुन्छन्। घरमा हामी बच्चालाई या त गाली गर्छौं, या त धेरै माया। सिकाउनेबेला पनि हामीले यही नै गर्छौं। बच्चालाई गाली गरे झर्किन्छन्, माया गरे पुल्पुलिन्छन्। सबैभन्दा महत्वपुर्ण हो, उसलाई रमाइलो लाग्ने कुरा पत्तो लगाउनु। त्यसपछि बल्ल सिकाइ सजिलो हुन्छ।
के कुरा सिकाउने?
हुनत, आजकाल मन्टेश्वरी प्रणाली भनेर धेरै प्राथमिक स्कूलहरु खुलेका छन्। तर तिनले पनि घुमाइ फिराइ सिकाउने हैन पढाउने गर्छन्। हाम्रा बच्चाले खानाको प्रशंसा गर्न, रङ् देखेर वाह ! भन्न नै जान्दैनन्। हामीले यस्ता कुरा सिकाउँदै सिकाउँदैनौं। हामीलाई हाम्रा बच्चाले सबैभन्दा चाँडो अक्षर चिन्नुपर्छ, लेख्न जान्नुपर्छ। हामी साइज, आकार, रङ्, स्वादका कुरा बच्चालाई सिकाउँदै सिकाउँदैनौं। तपाइँहरु मध्ये कतिजनाले भन्न सक्नुहुन्छ- स्याउको स्वाद कस्तो हुन्छ? टिम्मुर, सिलौटामा पिँधेको जीरा र हरियो खोर्सानी हालेर पकाएको कुखुराको मासु र गरम मसला र रेडिमेड चिकेन् मसला हालेर पकाएको कुखुराको मासुको स्वादमा के फरक हुन्छ? यी कुरा हामीलाई नै थाहा छैन। अनि हाम्रा बच्चाले कसरी थाहा पाउँछन्? अँ, मलाई अर्को एउटा प्रवचन खानाको स्वाद र खाना पकाउने हाम्रा विधिबारे दिनुछ। त्यसैले यसलाई अहिले यहीं रोक्छु।
मैले यहाँ भन्न खोजेको के हो भने- हाम्रो शिक्षा र हाम्रो सिकाइमा यस्ता कुरा कहिल्यै प्राथमिकतामा पर्दैनन्। यी न्युनतम कुराहरु नै थाहा नपाएर हाम्रा बाबुबाजेहरु हुर्किए, हामी पनि यसरी नै हुर्कियौं, हाम्रा बच्चा पनि यसरी नै हुर्किँदैछन्। त्यसैले म भन्छु- हाम्रो सिकाइ प्रकिया नै गलत छ। हामीले बच्चाहरुलाई हात खुट्टा, औंला चलाउन सिकाउँदै सिकाउँदैनौं। अँ, हामी बलिउड वा नेपाली फिल्मका गीतमा नाच्न भने सिकाउन खोज्छौं है। औंला चलाउन सिकाउनु भनेको बच्चाले अंकदेखि हिसाब सिक्ने मात्र हैन औंलाको प्रयोग गरेर विभिन्न जनावरको बारेमा समेत बताउन सकिन्छ। हामीले भात खान सिकायौं तर भातको स्वाद कसरी लिने भन्ने सिकाएनौं। यसमा 'भात खान पाउनु नै ठूलो कुरा हो, स्वादको कुरा किन गर्नुपरो' भन्न पनि सकिन्छ। तर महत्वपूर्ण कुरा के हो भने, कम्तिमा खान पाएकोबेला त्यसको स्वाद थाहा पाइयो भने भोकलागेको बेला त्यो स्वाद सम्झेर पानी निकाल्दै त्यही पानीले पेट भिजाउन पनि सकिन्छ 😊
बच्चा भगवानका रुप
हाम्रा बच्चा भगवानका रुप हुन्। हाम्रा बच्चाले गर्ने बिगार बिगार हैनन्, ती लिला हुन्। जब बच्चामा हामी र हाम्रा बच्चा लिला गरेर हुर्किन्छौं तब त जिवनभर हाम्रो लिला चल्ने नै भयो। हाम्रा बच्चालाई बाटोमा कसरी हिँड्ने थाहा हुँदैन- हुनत हामीलाई नै थाहा छैन, बच्चालाई कहाँबाट थाहा होस्- सार्वजनिक यातायातमा कसरी उभिने, कसरी बस्ने भन्ने हामी आफैंलाई थाहा छैन, झन् बच्चा त बच्चा भइगए। म कहिलेकाहीं केही मान्छेहरु भेट्छु। ती मान्छे देखेर मलाई ईर्श्या लाग्छ- कोही मान्छे यति नरम स्वभावको, अर्कालाई कहिल्यै नबिझाउने, जतिबेलै हँसिलो कसरी भइरहन सक्छ? सायद उसको हुर्काइको प्रभाव हुनुपर्छ। यी सामान्य कुरा हुन्, तपाइँ हामीले याद नगर्ने कुरा। तर संस्कार वा अनुशासनको कुरा गर्दा यी महत्वपूर्ण कुरा हुन्। यदि हामीले बच्चाबेलैमा यस्ता कुरा सिकाउन सक्ने हो भने फूटपाथमा प्रेसर हर्न बजाउँदै मोटरसाइकल कसैले कुदाउँदैनन्। यस्तो अनुशासन, यस्तो शिक्षा दिन सके एम्बुलेन्सले ईमर्जेन्सीको बिरामी बोकेर अस्पताल दौडिरहँदा त्यसको बाटो छेकेर आरामले मुस्काउँदै गाडी भित्र बस्दैनथ्यौं हामी। अनि जाम छल्न एम्बुलेन्सका पछिपछि लेन मिचेर पनि दौडिन्न थियौं। सडक अनुशासनका बारे पनि अर्को प्रवचन दिनुछ। त्यसैले यसका बारेमा अहिले लेख्दिन।
घोकन्ते विद्या
अर्को महत्वपूर्ण कुरा- तपाइँ याद गर्नुस् त, बच्चाबेला तपाइँ हामीले कति धेरै तनाव झेल्यौं। दायाँ फर्के पढाइको तनाव, बायाँ फर्के पनि पढाइको तनाव। पढाइ पनि मनोरञ्जक होस्, खेल्दाखेल्दै सिकियोस्। अहँ, छैन। रटाने पढाइ। नेपालीमा भनाइ नै छ नि- धावन्ते खेति, घोकन्ते विद्या। मतलब- जति धेरै समय खेतमा बिताउनु भयो तपाइँको खेति त्यति नै राम्रो सप्रिन्छ। अनि जति धेरै घोक्न सक्यो त्यति धेरै जानिन्छ। खेतिको कुरामा त सही हो यो। तर पढाइको कुरामा यो गलत प्रणाली हो। गलत तरिका हो।
एउटा उदाहरण दिन्छु- हामीलाई कक्षा आठमा विज्ञान पढाउन एकजना यादव सर आउनुभयो। सर सारै कडा। आउने बित्तिकै विज्ञानका सारा परिभाषा अंग्रेजीमा दनादन लेखाउनु भयो र हरेक परिभाषा एकदिनमा याद गर्नुपर्ने उर्दी भयो। याद नभए बाँसका सिर्कनाले हत्केलाबाट रगत नआउन्जेल भे्टने। विकल्प दुईटा मात्र थिए- या त परिभाषा रटेर याद गर, या त हातमा रगत बगाउन तयार। मलाई त्योबेला रटेका पाचनप्रणाली र श्वाशप्रश्वासका परिभाषा अझै याद छन्। तर त्यो के भन्न खोजेको हो? त्यसको अर्थ लगा भनेर कसैले सोधेको भए मैले कम्तिमा १२ पास नगरुन्जेलसम्म अर्थ भन्न सकिनथेँ म। हाम्रो सिकाइको प्रक्रिया घोकन्ते हो र त्यो पनि डरका कारण।
अर्को गज्जबको उदाहरण चाहिँ स्वस्थानी कथालाई मान्न सकिन्छ। हामी धेरैले स्वस्थानी खररर पढ्छौं। त्यो पनि हरेक बर्ष। अध्याय अध्याय याद पनि छ। नेपाली भाषामै पढ्छौं। तर हामी मध्ये कतिले त्यो स्वस्थानीलाई अर्थ्याउन सक्छौं त?
टेलिभिजन/मोबाइल
हामी प्रविधिको युगमा छौं। संसार हत्केलामा छ। आजकाल सबैको एउटै गुनासो हुन्छ- मेरो बच्चा त जत्तिबेला मोबाइल, टिभीमै झुन्डिरहन्छ। टिभी नहेरी भात खुवाउनै सकिँदैन। ठीक छ त। राम्रो हो नि। बच्चा प्रविधि मैत्री रहेछ। हामी नेपाल सरकार हैनौं नि, कसैले केही प्रयोग गर्यो वा बढी प्रयोग गर्यो भनेर कर लगाउने वा बन्द गर्ने। त्यसको सही प्रयोग गर्न सिकाउने हो। टिभी मोबाइलमा बच्चाका लागि बनेका कार्यक्रम, गीत, रङ्, अक्षर, आकार चिनाउने कार्यक्रम हेर्दा त राम्रो हो नि। बच्चाले झन् चाँडो सिक्छन्। टेलिभिजन देखाएर बच्चालाई संस्कार सिकाउन पनि सकिन्छ। टेलिभिजनमा भिगे होठ तेरे गीत बजाएर ल नानी, ल बाबु नाच त भनेर आफू मनोरञ्जन लिने अनि टिभी हेरेर बच्चा बिग्रियो भनेर गुनासो गरेर त कहाँ हुन्छ त? अँ, बरु हामीकहाँ हाम्रा टेलिभिजनहरुले बच्चाको मनोविज्ञान अध्ययन गरेर वा बच्चालाई सिकाउन सकिने खालका कार्यक्रम बनाउन सकेका छैनन्। त्यतातिर चाहिँ सरकारी तवरबाटै काम भए गज्जबै हुनेथियो।
Agreed
ReplyDelete