भड्किएका हामी, बतासिएको बहश
विगत केही समयदेखि सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजनमा भइरहेका बहश हेर्दा लाग्छ- हामीले चुनेका हाम्रा प्रतिनिधि हाम्रालागि अति योग्य प्रतिनिधि हुन्। हुन् पनि। यी प्रतिनिधि हामी आफैंले भोट दिएर चुनेका हुन्। यी प्रतिनिधिले हाम्रो भौगोलिक र सामाजिक प्रतिनिधित्व मात्र हैन हाम्रो बौद्धिक क्षमताको प्रतिनिधित्व पनि गरिरहेका छन्। हामीलाई लाग्छ- हाम्रा नेता वा हाम्रा राजनीतिज्ञ, हाम्रा कर्मचारी वा हाम्रा जनप्रतिनिधि खराब भए। आत्मसन्तुष्टिका लागि त्यस्तै ठानौं। तर तपाइँ हामीले माने पनि नमाने पनि खराब हामी हौं। हामी आफू खराब भएकाले हाम्रा प्रतिनिधि खराब भएका हुन्। यो स्विकार गर्न गाह्रो होला तर सत्य त्यही हो।
हामीले अहिले गरिरहेका बहशका विषय हेरौं र अहिलेको देशको अवस्था हेरौं। टेलिभिजनमा भइरहेका बहश, पत्रपत्रिकामा भैरहेका बहश पढौं र हाम्रो हुनेपर्ने प्राथमिकता हेरौं। हामी बहश केमा गरिरहेका छौं? केही समयदेखि समाजको एउटा तप्का राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने बहशमा मग्न छ। ट्विटर, फेसबुकका त कुरै छोडौं, टेलिभिजन, पत्रपत्रिकातिर पनि यसबारेमा बुद्धि लडाइरहेका छन् बुद्दिकेबीहरु। तपाइँ एकपटक सोच्नुस्- राजेश हमाललाई महानायक मान्दा नेपाली समाजले के पाउँछ? उनलाई महानायक नमान्दा नेपाली समाजले के गुमाउँछ? ल एक छिनलाई मानौं राजेश हमाल महानायक हुन्। अनि के हुन्छ?
त्यही चलचित्र क्षेत्रमै यो बहशभन्दा अघि नै राजेश हमालकै समकक्षी अर्का अभिनेता भुवन केसीमाथि आरोप लाग्यो। तर महानायकको बहशमा कन्दनी कसेर भिडिरहेका बौद्धिकहरु यो मुद्दामा चुइँक्क बोलेका छैनन्। न त हमाललाई महानायक हो भनेर उफ्रिने नै यौन दुर्व्यवहारको बारेमा बोलेका छन् न त होइन भन्नेहरु नै। एकजना चलचित्रमा आफ्नो भविश्य बनाउँछु भनेर लागेकी नायिकाको आवाज हामीले त्यही महानायक हो, महानायक हैन भन्ने आवाजमा दबाइदिएका छौं। राजेश हमाल महानायक हुन् को होइनन् त्यो बहश तपाइँहरु नै गर्नुस्, तर म यति चाहिँ भन्छु- आफूले २५औं बर्ष एकछत्र राज गरेको क्षेत्रकी एक नायिका साम्राज्ञीले उठाएको मुद्दामा एकै शब्द बोल्न नसक्ने राजेश हमाललाई महानायक त के नायक पनि हैनन्। ती फगत कागजका बाघ हुन्।
अहिले अर्को चर्को बहशमा रहेको बिषय छ- ढाड प्रतिष्ठा। हाम्रा नेता खराब, हाम्रा जनप्रतिनिधि खराब भन्नु अघि एकपटक सोच्नुस्, हामी के कुरामा बहश गरेर बसेका छौं? भाषणमा, प्रतिवेदनमा, प्रोजेक्ट रिपोर्टमा, कथामा, कवितामा, समाचारका पंक्तिमा, उपन्यासका पन्नामा जताततै देखिने, सुनिने र पढिने एउटा वाक्य छ- 'अहिलेको जस्तो एक्काइसौं शताब्दिको सूचना तथा प्रविधिको युगमा।' खोयाको सूचना र प्रविधिको युग। स्मार्ट मोबाइल हातमा बोकेर हिँड्नुलाई नै भनिएको हो सूचना तथा प्रविधिको युग? महिलाले कस्तो लुगा लगाउने र कस्तो मेक अप गर्ने भन्दै नैतिक प्रहरी बन्ने तपाइँको लागि यो युग हैन कृपया।
श्रीमतीले श्रीमानको खुट्टाको पानी खान किन नहुने भनेर हामी होनहार तर्क पेश गरिरहेका छौं। यो तर्क गर्ने हामी त्यही हौं- जो लेखिरहेका छौं, एक्काइसौं शताब्दि सूचना र प्रविधिको युग हो। हो यो सूचना प्रविधिकै युग हो, तर हिजो हाम्रा हजुरआमाहरुले, हाम्रा आमाहरुले जे गरे आज हाम्रा श्रीमतीहरुले त्यही गर्नुपर्छ भन्नेस्तरको बहश गर्ने युग चाहिँ यो होइन। कसैलाई श्रीमानको खुट्टाको पानी पिउन मन लाग्छ, पिउनुस्। खुट्टाको पानी मात्र किन? श्रीमानको पिशाब नै पिउनुस्, वीर्य नै पिउनुस्। माया गर्ने मान्छेको वा आफ्ना श्रीमानको जे जे मन लाग्छ पिए भयो तर सार्वजनिक रुपमै सबै श्रीमतीले यस्तो गर्नैपर्छ, तैंले पनि पिउनुपर्छ भनेर नभन्नुस् कृपया- त्यो हिंसा हो। यति सामान्य कुरा बुझ्नुहुन्नँ भने कृपया आफ्नो अपरेटिङ् सिस्टम अपडेट गर्नुस्- अहिले आइओएस १४ को बेटा भर्सन शुरु भैसक्यो, तपाइँको आइओएस नयाँ एप्लिकेसनका लागि सुहाउँदो भएन। यसले काम नै गर्दैन।
जब जब शासकहरु कमजोर हुन्छन्। सत्ता चलाउनेहरुसँग देखाउन मिल्ने र सुनाउन मिल्ने केही उपलब्धि हुँदैन तब तब बहशमा आउँछन्- राष्ट्रियता र संस्कृति। यी दुवैमा आम मानिसको भावना जोडिएको हुन्छ। तर्क हैन भावना प्रधान हुन्छ यी कुरामा। जब केही कुरामा भावना प्रधान हुन्छ तर सबै तर्क फिक्का हुन्छन्। प्रेममा हुने यही हो सँधै। त्यसैले हो 'प्रेम अन्धो हुन्छ' भनिएको। (कृपया यहाँ प्रयोग भएको अन्धोलाई फरक क्षमता भएका व्यक्तिप्रतिको व्यंगको रुपमा नबुझिदिनुहोला।) जब तपाइँ प्रेममा पर्नुहुन्छ तब तपाइँ आफ्ना भावनाबाट डोहोरिनुहुन्छ। राष्ट्रियता र संस्कृतिको कुरा पनि ठ्याक्कै त्यस्तै हो। 'तेरो तर्कले हुन्छ? म त्यसैगरी हुर्किएँ, मेरो गाउँमा सबै त्यसैगरी हुर्किए। मेरा बा त्यसैगरी हुर्केका थिए' भन्छौं हामी। भावनाको कुरा। फेरि कसैको भावना ठेस पुर्याउनु नि भएन।
अहिले बहशमा आइरहेका नक्साका कुरा, रामका कुरा ठ्याक्कै त्यही भावनाका कुरा हुन्। देश अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ? देशको प्राथमिकता के हुनुपर्ने हो। बहशको प्राथमिकता के हुनु पर्ने हो। त्यतातिर वास्तै छैन। कोरोनाका कारण व्यापार व्यवसाय ठप्प छन्। साना उद्योग, संस्थाहरु बाँच्नै नसक्ने अवस्थामा छन्। ती साना व्यवसाय सकिँदा त्योसँगै आउने बेरोजगारी समस्या, हाम्रो आर्थिक दूरावस्था, विद्यालय तथा उच्च शिक्षादेखि स्वास्थ्य नीतिका कुराजस्ता अनेकन कुरा छन् अहिले गर्नुपर्ने। हरेक दिन प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, मेयरदेखि वडाध्यक्षसम्म यही काममा खट्नु पर्ने हो। तर अहँ, यसको कुनै बहशै छैन। चिन्तै छैन। चिन्ता छ- ठोरीमा रामको साल खोज्ने, चिन्ता छ राम र सीताको बिहेमा मन्त्र पढ्ने पण्डित खोज्ने। एकछिनलाई मान्नुस्- राम ठोरीमै जन्मेका रहेछन् रे। त्यसबाट तपाइँ हामीले के पाउँछौं?
अझ दु:खको कुरा त के हो भने यस्ता कुरामा बहश मात्र हैन, बजेट नै छुट्टिन्छ। अब पुरातत्व विभागले ठोरीको उत्खनन् गर्छ। हाम्रो प्राथमिकता यही हो। रामलाई ठोरीको नागरिकता दिएपछि हाम्रो अवस्था फेरिनेछ। हामी समृद्ध हुनेछौं।
अझै अर्को पनि छ बहशको श्रृङ्खला। एउटा तीजको नो व्रत भन्ने गीतले नि कतिको भावना ठेस पुग्यो रे। गीतमाथि, फिल्ममाथि, फिल्मका टिप्पणिमाथिका यस्ता प्रहार नयाँ होइनन्। विगत केही समयदेखि हामी निरन्तर यही बिषयमा बहश गर्दै आइरहेका छौं। तपाइँले बोल्ने भाषाले, तपाइँले लगाउने लुगाले, तपाइँले गाउने गीतले, तपाइँले लेख्ने कविताले संस्कार भत्किन्छ रे। २००७ सालको प्रजातन्त्र, २०४७ को प्रजातन्त्र पुनर्स्थापना, २०६२/०६३ को गणतन्त्र सबै भोगिसकेर, देखिसकेर पनि हामी अझै त्यही २००२ सालको राणा शासनमै छौं। तर नेपालको लागि चिन्ता हुनुपर्ने बिषय गीतले संस्कृतिमा प्रहार गर्यो भन्दै धम्की दिने वा विरोध गर्ने क्रम अब संगठित रुपमै शुरु भएको छ। यही संस्कृतिको भावनात्मक व्यापारमा एउटा ठूलो समुह नै विचार निर्माणमा लागिरहेको छ। र, यसमा हरेक असफल साशकहरु आफ्नो असफलता छोप्न यो विचारको प्रभावमा परेका पनि छन्। आशा गरौं, यो राजनीतिक असफलता छोप्ने भावनाको व्यापार मात्र बनोस्, भारतीय शिव सेना हाम्रो संस्कृति बचाउन नआओस्।
जय श्री राम !
फेरि पनि मनकै कुरा लेख्नुभो । अँ साँच्चै, यो लेखलाई कसैले अर्को भड्किएको बहस भन्यो भने प्रतिरक्षाको लागि तयार हुनुहुन्छ नि
ReplyDeleteत्यो त एकपटकलाई गर्नुपर्ला प्रतिरक्षा 😀
ReplyDeleteLinkage with iOS 14th's beta version gives it another "raunak".
ReplyDeleteReading your content after a long time, and totall refreshed.