श्री ३ को आदेश: 'भिक्षाखोरी नाम खारेज गरी अमलेखगञ्ज लेख्नू'*
(गोर्खापत्र हालको गोरखापत्र नेपालको एउटा जिउँदो जाग्दो इतिहास हो। यसका पुराना अंकहरु पढ्दा गज्जब गज्जबका समाचार भेटिन्छन्। हुनत हरेक लेखिएका वा रेकर्ड गरिएका कुरा आफैंमा इतिहास हुन्। मेरो यही ब्लग पनि एउटा इतिहास नै हो। आफ्नै ब्लग खोतल्दै जाँदा गोर्खापत्रको पुराना समाचारको संकलन गरेर एउटा ब्लग लेखेको रहेछु। त्यही ब्लगलाई थोरै सम्पादन गरेर नयाँ बनाउने जमर्को हो यो।) तपाइँ हामीले बाराको अमलेखगञ्जको नाम त सुनेका छौं। अमलेखगञ्ज भन्ने बित्तिकै झट्ट याद आउने नेपाल आयल निगमको तेल ट्याङ्की याद आउँछ। अनि कतिलाई चाहिँ रेल्वे पनि याद आउला। तर अमलेखगञ्जको नाम पहिला भिक्षाखोरी थियो भन्ने चाहिँ हामी कमैलाई मात्र थाहा होला। भिक्षाखोरीबाट अमेलखगञ्ज नाम कसरी रहन गयो भन्नेबारे गोर्खापत्रको समाचारमा केही उल्लेख छ। राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले दास प्रथा उन्मुलन गर्दै भिक्षाखोरीमा बस्ती बसालेपछि यो ठाउँलाई अमलेखगञ्ज नामाकरण गरिएको रहेछ। नेपाली बृहद शब्दकोषका अनुसार अमलेखको अर्थ हुन्छ- करियाहरुलाई पार वा स्वतन्त्र गरिदिने काम, कमाराकमारीको छुटकारा। यसरी हेर्दा यसको नामाकरण दासत्वबाट मुक्तिको इतिह