मलाई माफ गर, तिम्रो माया मार्नै सकिनँ
आँखाले देखेसम्म हेरेँ घरको छतमा बसेर- चन्द्रमा आफ्नै प्रकाशमा चम्किरहेको थियो। घामले बिदा लिएपछि आजकाल चन्द्रमा प्रकाश छर्न आइपुग्छ। गोधुली भर्खरै मात्र बितेको थियो, सायद त्यसैले चन्द्रमाको छेउमा एउटा मात्र तारा देखिएको थियो। आफ्नो चमक बढाउँदै लगेको चन्द्रमा र छेउमा देखिएको सानो तारा देखेर सोचेँ- चन्द्रमा तिमी हौ, जो फक्रिँदै गइरहेकी छौ अनि छेउको सानो तारा म- न त तिमीबाट टाढा हराउन सकेको छु न त तिमीसँगै बिलिन हुन। यसअघि आकाश हेरेर, आकाशमा देखेको तारा वा जून देखेर आफू हराएको थाहा छैन। अनि यसअघि तिम्रा बारेमा यति गहिरिएर सोचेको थिइनँ। किन किन मलाई जूनसँगै बरालिन मन लागिरहेको थियो- सायद त्यसले तिमीसँगै रहेको अनुभूति दिन्थ्यो मलाई। आकाशबाट तल हेरेँ परसम्म, शहरमा भर्खर बत्ती बल्दै थियो अनि कतै टाढा बलेका ती बत्तीहरु पनि मलाई ताराहरु जस्तै लागिरहेको थियो। आकाशका जून तारा र शहरका घरहरुमा धिपधिपाइरहेका ती बत्तीहरुले मलाई तिमीसम्म डोहोर्याइरहेका थिए। तिमीले मेरा बारेमा केही मीठा कुरा भन्नु न भन्दा पनि मैले अहिलेसम्म मीठा कुरा भन्न सकेको छैन, बरु जवाफमा सँधै ‘जेरी, लालमोहन’ भन्दै टारेको छु। तिम