नो मोर लभ प्लिज् !!!
पृष्ठभूमि: यो पनि कथाको विषय होला भन्ने सोचेकै थिएन। अनि भर्खरै टुसाउन खोजेको प्रेमका बारेमा त्यो पनि पूर्ण रूपमा चिन्न नसकिएको मान्छेको बारेमा। तर यसलाई कथा नबनाउने हो भने भर्खरै पलाउन शुरू गरेको प्रेमको ठोसा मर्ने पक्का भयो। त्यसैले नफक्रिएको यो प्रेमगाथा लेख्नु पर्ने वाध्यता आइ लाग्यो। यो कथा लेख्नको लागि उनले (भर्खरै मेरी प्रेमिकाको रूप धारण गर्न खोजेकी) पात्रको रूपमा आफ्नै नाम राख्नेसम्मको स्वीकृति दिएकी हुन्। तर मैले त्यो उचित ठानिनँ। भएपनि एउटा कुरा पहिलानै भन्छु: यो कुनै प्रेमकथा होइन। तर यो कथा काल्पनिक ठहरिएमा संयोग मात्र हुनेछ :D शुरूवात: फेसबुकमा एकदिन ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। विगत छ महिनाको अवधिमा जति पनि साथी बन्नका लागि अनुरोध आए, आँखा चिम्लेर स्वीकार गरियो। उनको पनि भयो। मेरो ब्लग र मेरा स्टाटस्मा नियमित ‘लाईक’ आउन थाले उनीबाट। मसँग साथी बन्नुको उनको उद्देश्यका बारेमा न त मैले उनलाई सोधेको छु न त उनले जरूरी सम्झेकी छिन्। तैपनि उनले यतिसम्म भनेकी छिन्: ‘मेरो ब्लग उनलाई मन पर्छ।’ तर साथमा उनले यो पनि भनेकी छिन् कि उनलाई गजल र ब्लग पढ्न रमाइलो लाग्छ।