अव्यक्त प्रेमकथा
'एउटा कुरा थाहा छ? हाम्रा बा र दाजु कटारी जाने रे आज।' गाग्री धारामा थापेपछि मजेत्रोले मुख पुछ्दै निर्मलीले भनी। उसको अनुहार खुशीले फक्रियो। मजेत्रो फनक्क घुमाई र थपी, 'भरेदेखि त गोठमा म बस्छु। आमा बिरामी छिन्।' गोलो चटक्क मिलेको गहुँगोरो अनुहार। निलो फ्रक र खैरो बुट्टे सर्ट त्यसमाथि रातो मजेत्रो। शिखर यात्रामा निस्किन तयार भएका जस्ता बक्षस्थल। खुट्टामा हात्तीछाप चप्पल। अनुहारको चमकलाई खप्लक्कै खाउँला झैं गरेर पटपटी फूटेका खुट्टा। उसको शरीरमा एकसर्को आँखा दौडाएँ। उसको आँखीभौं खुशीले नाचिरहेका थिए। मैले दायाँबायाँ हेरेँ। धारा छेउछाउ निर्मली बाहेक कोही थिएनन्। म १७ बर्षमा हिँड्दै थिएँ। उसको उमेर पनि त्यही १५/१६ हुँदो हो। मुस्कान देख्दै काउँकुती लाग्ने उमेर। तर उ मलाई तिमी भन्थी अनि म चाहिँ तँ। मभन्दा धेरै होची तर सलक्क परेको जिउ। त्यसैपनि १५/१६ बर्षको उमेर शरीरका अंगहरू हलक्क बढ्ने उमेर। शारिरीक विकाससँगै बढ्ने कौतुहलता। त्यही कौतुहलताले होला सायद बिहानै धारामा मुख धुन जाँदा उसले बाउ र दाजु कटारी जान्छन् भनेर खुल्ला निम्तो दिएकी थिई। उसको निम्तो मेरो लागि सुखद वा दुखद छ