मोबाइल र पत्रकारिता
“सञ्चार मन्त्री राजकिशोर यादवलाई फोन गरें। उनले तुरून्तै फोन ‘कट’ गरे। मैंले लगातार ११ पटक फोन गरें, उनले एघारै पटक फोन काटे। त्यसपछि मैंले उनलाई ‘टेक्स्ट’ गरें,- मन्त्री ज्यू तपाईंको फोनमा ‘रिसिभ’ बटन छैन?”
एकजना मोफसलका पत्रकार (जो आफूले नेपालको पत्रकारिता धानेको दाबी गरूँला झैं गर्दैथिए) ले आफूलाई कसैले फोन ‘रिसिभ’ नगरी ‘कट’ गरेको पटक्कै मन नपर्ने बताउँदै गर्दा दिएको अभिव्यक्ति हो माथिको। उनले यो कुरा यस्तरी भने मानौं पत्रकार भएकै नाताले उनको फोन जोसुकैले जुनसुकै समय ‘रिसिभ’ गर्नुपर्छ। उनले बोलिरहँदा उनको भावाविव्यक्तिले उनले कुनै युद्ध जितेको जस्तो देखाउँथ्यो। उनकै भनाई अनुसार उनले ‘राजनैतिक पत्रकारिता’ गरेको ५ वर्ष भएको छ। ‘राजनैतिक पत्रकारिता’लाई आजकाल म ‘न्यूज पत्रकारिता’ भन्न रूचाउँछु। किनकी नेपालमा राजनीति ईतरका समाचारहरूले धेरै कम ‘स्पेस’ पाउँछन्।
[caption id="attachment_133" align="alignright" width="300"] Gadgets via google Image[/caption]
उनको दाबी थियो,- ‘राजनैतिक रिपोर्टिङ्मा घटनाहरू यति चाँडै घटछन् कि तुरून्तै फोनमा ‘बाइट’ लिनु पर्ने हुन्छ। समय नै हुँदैन।’ यसको जवाफ दिनु उचित ठानेर मैंले भनें,- ‘तपाईंले फोन गरेको समयमा तपाईंले फोन गरेको मान्छे कुनै रेडियो वा टेलिभिजनमा लाईभ अन्तरवार्ता दिँदैछ भने के होला? अथवा उनी ट्वाइलेटमा बिष्ट्याउँदै छन् रे लौ। अनि के अँ अँ गरेर कन्दै नि बाइट दिनु जरूरी छ?’ कोही मान्छेले फोन गर्ने बित्तिकै ‘कट’ गर्छ भने या त उ तपाईंसँग कुरा गर्न चाहँदैन या त उ कुनै काममा व्यस्त छ भन्ने कुरा पत्रकारहरूले बुझ्नु पर्छ कि पर्दैन होला? संसारभरीको पत्रकारिताको अभ्यास हेर्ने हो भने टेलिफोन अन्तर्वार्तालाई खास महत्व दिईंदैन। तर नेपाल यस्तो देश हो पत्रकारहरूका लागि जहाँ पत्रकारहरू घटनास्थल जानु जरूरी नै ठान्दैनन्। सबै रिपोर्टिङ् फोनमै सकिन्छ। यसको मतलब कोही पनि ‘फिल्ड’मा जाँदैनन् भन्ने होइन तर अधिकांशले त्यसको महत्व बुझेका छैनन्।
अर्को रमाइलो लागेको कुरा: फोन ‘स्वीच अफ’ नगरिएको अवस्थामा फोन त बजिहाल्छ। फोन बजेपछि ‘रिसिभ’ गर्न मिल्नेसम्म रिसिभ गरिन्छ। तर जब फोन रिसिभ गर्ने बित्तिकै ‘तपाईं अहिले लाईभ कार्यक्रममा हुनुहुन्छ, यसको बारेमा केही भनिदिनु पर्यो’ भनेर भन्दा कस्तो सुनिएला। राजनैतिक घटना बाहेकका अरू कार्यक्रमहरूमा कार्यक्रम चलाउने मान्छेले आफूले कुरा गर्न चाहेको मान्छेलाई १० मिनेट पहिला जानकारी दिन सकिंदैन होला र? कहिलेकाहीं त शंका लाग्छ, यो प्रविधिले मान्छेलाई बनाएको हो वा मान्छेले प्रविधि बनाएको हो भनेर। मोफसलका १० जना पत्रकारहरूसँग चलेको यो बहश टुंगिने कुनै सम्भावना त थिएन। किनकी नेपालको पत्रकारिताको कमजोरीय पक्ष भनेको पत्रकारहरूले आफूलाई संसारकै सबैभन्दा जान्ने ठान्नु हो। उनीहरू अरूका कुरा सुन्न नै चाहँदैनन्। यो चलन काठमाडौंमा बरू केही कम होला तर मोफसलको त यो बिशेष रोग नै हो। कुनै कार्यक्रम पहिला नै निर्धारण गरिएको छ र त्यसको जानकारी ६ घण्टा भन्दा अगाडि गराइएको छ भने छलफल गर्ने विषयवस्तुका बारेमा सामान्य अध्ययन गर्नु जरूरी नै ठान्दैनन् पत्रकारहरू। तपाईं पत्रकारहरूसँग १ घण्टा गरेर आउनुस्, कुरा गरेको १ घन्टा नबिति तपाईंलाई फोन आइसक्छ,- ‘ए, तपाईंले अगि भन्नुभएको थियो तर मैले बिर्सेंछु, एकपटक भन्दिनुस् न!’ यो हो मोबाइल पत्रकारिता। अघि कुरा गर्दा किन नटिपेको होला वा रेकर्ड नगरिएको होला? सायद पत्रकार हुनुको खास विशेषता या फाइदा नै यही पो हो कि? पत्रकारिता युद्ध लड्नु जस्तै हो र जित्दा खुशी लाग्नु स्वभाविक हो। तर नेपालका धेरै पत्रकारहरूले के बुझ्न जरूरी छ भने अहिले नेपालको पत्रकारिता २०३६ साले पत्रकारिता भन्दा बढी बदनाम भएको छ। मोबाइल पत्रकारिता यसको एउटा कारक तत्व हो।
गाली गर्न मन छैन। तर शुभकामना छ मोबाइल पत्रकारितालाई !! तर पनि एउटा अनुरोध,- ‘जुन दिन बाउ मरेर लाशमाथि टाउको राखेर रूईरहेको हुनुहुन्छ, त्यो बेला तपाईंको समाचार स्रोतले तपाईंलाई समाचार टिपाउन फोन गर्यो भने कृपया फोन उठाईदिनुस् है !’ सायद त्यतिबेला तपाईंलाई फोनको महत्व पनि थाहा होला कि !! जय होस् मोबाइल पत्रकारिताको !!!
Comments
Post a Comment