निद्रा, तन्द्रा, भ्रम र यथार्थ
बर्खामास चलिरहेको थियो। हल्का हल्का पानी परिरहेको र बाटो केही हिलो देखिएकोले पक्का पनि बर्खामास हुनुपर्छ भन्ने मेरो अनुमान हो, तर एकिन गरेर भन्न सक्दिनँ। एकिनका साथ भन्न नसकेपनि मेरो धुमिल सम्झनामा हामी ५ या ६ जना थियौं जस्तो लाग्छ। हामी कतै जाँदै थियौं। तर ठ्याक्कै याद छैन हामी कता जाँदैथियौं? हाम्रो यात्रा लामै थियो वा छोटो? हामीसँग कुनै ब्यागप्याक थिएन। यसको मतलब हामी मर्निङवाकमा थियौं कि त ! तर मर्निङवाकमा अनकन्टार पहाड किन गयौं होला त? झट्ट हेर्दा यो कृष्णभीरको आसपास जस्तो पनि देखिन्थ्यो। खैर ! यति थाहा छ, हामी जानुपर्ने बाटो पहिरोका कारण रोकिएको छ।
मान्छेको मन कति किलोमिटर वा माइल प्रतिघण्टामा दौडिन सक्छ? साँच्चि मान्छेको मन दौडिन्छ कि उँड्छ? अनि मान्छेको मन दौडिने हो कि दिमाग? दिमागले कति चाँडो सोच्न सक्छ होला? मासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका न्युरो वैज्ञानिकहरुको एउटा अध्ययन अनुसार मान्छेको दिमागले कुनै वस्तु देखेको १३ मिलीसेकेण्डमा त्यसको पुरै चित्र दिमागमा उतारिसक्छ। अहिलेलाई यो कुरा छोड्दिऊँ। यो मेरो जिज्ञासा मात्र हो, यो ब्लग पढ्न पाठकलाई यो सबै जानकारी आवश्यक छैन।
माथि कथा रोकिएको छ पहिरोका कारण। खासमा हामी रोकिएका हौं, तर बिडम्बना हामीसँगै कथा पनि रोकिएको छ। एकछिन नहतारिनुस् न। अब कथा यसरी अघि बढ्छ कि तपाइँलाई लाग्छ, ह्या यति चाँडो कथा कसरी मोडिन सक्छ? यतिबेला तपाइँलाई मान्छेको दिमाग वा मन कति चाँडो दौडिनसक्छ भन्ने तथ्य आवश्यक पर्न सक्छ। पहिरोका कारण हामी केहीको यात्रा रोकिएको छ।
***********
एकिन नभए पनि म अब भन्न सक्छु, यतिबेला हामी तीनजना छौं, आकाशमा उँडिरहेका। मलाई थाहा छैन, त्यहाँ प्लेन कहाँबाट आयो र हामी प्लेन कहाँबाट चढ्यौं। म यत्तिमात्र देखिरहेको छु कि हामी उँडिरहेका छौं।
हो, आकाशमा उँडिरहेका। हामी को को छौं र केमा बसेर उँडेका छौं भनेर म ठम्याउने कोशिस गर्दैछु। ती उँड्ने तीनजनामा एकजना म छु, अर्को एकजना मेरो काकाको छोरो हो कि जस्तो लाग्छ र अर्को ठ्याक्कै ठम्याउन सकेको छैन। एउटा सानो हेलिकोप्टरकै आकारको एउटा प्लेन छ। त्यसको अगाडिको भाग, जसलाई छत पनि भन्न सकिएला, मा हामी तीनजना एउटा ब्राउन रङ्को टाटेपाटे ब्ल्याङ्केटमा बाँधिएर बसेका छौं। अनि भित्र पाइलटको सिटमा भारतीय कलाकार अर्चना पुरनसिंह छिन्। अर्थात् हामीलाई अर्चनाले उँडाइरहेकी छिन्। कस्तो अचम्म ! तिनी हाम्रो समुहमा कसरी आइपुगिन्? अनि उनी कसरी पाइलट बनिन्? सोनी टिभीबाट आउने द कपिल शर्मा शोमा उन्मत्त हाँसो हाँस्ने ती महिला अचानक हाम्रो यात्रामा पाइलट? मैले यहाँ देशको कुरा गरेको होइन, न त मैले यहाँ देश चलाउने शासकको नै कुरा गरेको छु। म त फगत हामी तीनजनाको यात्रा वर्णन गरिरहेको छु।
हिन्दी फिल्ममा कहिले आइटम डान्स त, कहिले नायिका अनि कहिले खलपात्रको भूमिकामा देखिने र पछिल्लो समय एउटा कमेडी शोमा देखिएकी एक पात्रले आफ्नो प्लेन उँडाइरहेको देखेपछि तपाइँ पनि डराउनु हुन्छ नै। म पनि डराएँ। एक त हामी प्लेनको बाहिर बसेका छौं, खुट्टा ब्ल्याङ्केटमा अड्काएर, बिना समाउने, हात टेकेर। त्यसमाथि पाइलट त्यस्तो। मैले उँड्दा उँड्दै पत्तो लगाएँ- यिनले पाइलट कोर्स गरेकी छैनन्। तर पाइलटको अनुपस्थितिमा यिनी ईमर्जेन्सीमा पाइलट बनेकी हुन्। तपाइँ यतिबेला मेरो डरको अनुमान गर्न सक्नुहुन्छ। मैले चिच्याएर पाइलटलाई बोलाएँ, फेरि आफैं देखेँ, पाइलट त शिशा भित्र छिन्, तिनले बाहिरबाट बोलाएको सुन्दिनन्, बुझ्नै खोजे मुख चलाएको सम्म देख्न सक्थिन् होला। तर के थाहा, केटाहरु खुल्ला हावामा पहाडी उडानको मज्जा लिइरहेका छन् भन्ने पो बुझेकी थिइन् कि !
मैले यताउता हेरेँ कतै केही समाउने वा हामफाल्ने कुनै सुरक्षित ठाउँ वा छाता, प्यारासुट केही छ कि भनेर। अहँ, प्लेनको टुप्पोमा हाम्रो खुट्टा अड्याइरहेको ब्ल्याङ्केट बाहेक केही थिएन। अनि सोचें, के नै पो होला र ! एअरपोर्टको कन्ट्रोल टावरबाट सबै निर्देशन दिइहाल्छन् नि, उताबाट जे भन्छन् त्यही गरेर ल्याण्ड गरिहाल्छिन् नि। उनीहरुलाई पनि थाहा छ, यिनी पाइलट होइनन्। टावरबाट एटिसीले यो स्विच थिच्ने, यो बटम थिच्ने, यता गुमाउने भनेर सिकाइहाल्छन् नि। विकल्परहित भएपछि यस्तै सोचेर पनि खुशी भएँ। फेरि सम्झेँ, एटिसी पनि गतिलो परेन र अर्चना, तिमीले यति गर्न सक्छौ। नआत्त, प्लेन उडाउनु गाह्रो हैन भनेर उकास्दिने पर्यो भने त खेर गइयो। डराउँदै डराउँदै भएपनि सिमसिम पानीमा हरियाली पहाडको चिसो हावा खाँदै मस्त उँडिएको छ।
म सम्झिन खोजिरहेको छु, ल्याण्ड गर्नुपर्ने एअरपोर्ट कुन हो भनेर। अहँ पटक्कै चिन्न सकेको छैन। यो वरिपरी ठूलो पहाडको बीचमा छ। ल्याण्ड गर्न एउटा दुईवटा पहाडको बीचबाट छिरेर दाहिनेतिर घुम्नुपर्छ। त्यहाँ परबाट हेर्दा उपत्यकाजस्तो समथर भाग छ। प्लेनको स्पीड घटेको छैन। मैले देखेँ, प्लेन जमिनको सतहमै पुगिसकेको छ। अनि ठ्याक्क रनवेमा आँखा पुगे, ढुङ्गैढुङ्गा छन्। म प्लेनको अगाडिको चक्का पहिला जमिनमा पर्छ कि पछाडिको भनेर डराइरहेको छु। त्यसपछि एकैटपक प्लेनको अगाडिको चक्का ढुङ्गामा घस्रिएकोसम्म याद छ।
***********
अहिले म एउटा गहिरो खोंचको माथि एउटा ढिस्कोबाट हिँडिरहेको छु। अलिकति बल गरेर फड्को हान्दा खोंच पार गर्न सकिन्छ। पल्लोपट्टिबाट एकजना एक हुल भेडा खेदेर हिँडिरहेका छन्। कहीं कतै हरियाली देखिन्नँ, सबैतिर भर्खर पहिरो गएको हिलो मात्र देखिन्छ। म हात्तीछाप चप्पलको फिता नाडीमा घुसाएर हातमा चप्पल बोकेर घस्रिरहेको छु। यताउता फाट्टफुट्ट मान्छे नि देखिन्छन् तर म कसैलाई चिन्दिनँ। मलाई यति थाहा छ, मैले यो खोंच पार गर्नुछ, किनकि यो खोंच पार गरेपछि अलि पर्तिर सानो डाँडोमा मेरा आफन्तको घर छ। यो ठाउँ मेरो दिमागमा भए अनुसार काठमाडौंको मुलपानी हो। तर ठाउँ हेर्दा मलाई यो मुलपानी जस्तो लागेको छैन। म कोटेश्वरको जडिबुटीतिरबाट मुलपानीतिर गइरहेको छु।
म घुँडा र हात टेकेर हिँडिरहेको छु। खासमा म किन त्यहाँ गइरहेको छु? के यही ठाउँमा म चढेको प्लेन ल्याण्ड गरेको थियो र म प्लेनबाट ओर्लेर आफन्तकोमा जाँदैछु? त्यसो भए मसँग भएका अरु दुईजना कता छुटे? हिँड्दा हिँड्दै म यो सोचिरहेको छु। एकपटक आफैलाई नियालेर हेर्छु- कहीं कतै चोटपटक लागेको छैन। मतलब प्लेन दुर्घटना भएको होइन रहेछ। त्यसोभए ती दुईजना कता गए? सायद उनीहरुका आफन्त अर्कोतिर पुगे होलान्।
फेरि अचानक म आफूलाई एउटा समथर ठाउँमा पाउँछु। साना साना बाँसका घारीहरु देखिएका छन्। यो ठाउँ मलाई कता कता सुनसरीको मधेशा जस्तो लागिरहेको छ। सायद घोपाली टोलबाट म भित्र छिरेको छु। मेरो दिमाग रननन घुमेको छ। म एकछिन अगाडि मुलपानीमा भएको मान्छे अचानक किन घोपाली टोल पुगेको छु? त्यो खोंचको पारिपट्टी क्रिम रङ्को ऊनले छपक्कै भरिएका भेडाहरु खेदिरहेको मान्छे कता गयो? मेरो दिमागमा यी कुराहरु खेलिरहेका छन्। अचानक मलाई जाडो भएजस्तो भयो। मैले ब्ल्याङ्केट तानेँ र ओढें। कानमा एसीको आवाज आइरहेको थियो, सायद त्यसैले चिसो बनाएको हुनुपर्छ। हो, म अचानक ब्युझेँ क्यार !
***********
म कुमार नगरकोटीको लेखमा घोरिइरहेको छु, यादहरुको पोस्टमार्टम रिपोर्ट। यो लेख हिजो मात्र छापिएको थियो। मैले सुत्नुअघि दुईवटा लेख पढेको थिएँ- एउटा यही नगरकोटीको र अर्को बिश्वम्भर प्याकुरेलको सम्मोहनको एउटा नाउँ नारायणगोपाल भन्ने। मुलपानी र मधेशामा रुमल्लिरहेको म अचानक नगरकोटीसँगको यात्रामा छु। नगरकोटी पाटनका गल्लीमा हिँड्छन् र म कपनका डाँडामा। त्यसैले कहिल्यै पनि हाम्रो भेट नै भएन हिँडेकाबेला। म निदाउने प्रयास गर्दै सोचिरहेको छु- नगरकोटी शहरका गल्ली हिँड्छन्, म गाउँका पहाड। उनी मान्छेका बस्ती बीचमा हिंड्छन् र मन्दिर भेट्छन्, म जङ्गलमा हिँड्छु र गुम्बा भेट्छु। कस्तो अचम्म ! साँच्चै, मन्दिर किन बस्तीका बीचमा हुन्छन् अनि गुम्बा किन जंगलका बीचमा? नगरकोटी साइकलमा घण्टी बजाउने मन्दिरका पूजारी बाटोमा भेट्छन् तर म किन गुम्बाका लामा किन भेट्दिन बाटोमा? कि मेरो छुट्टै बिशेष पोशाक नभएकोले लामाले मलाई देख्थेनन्?
सायद म निद्रा र तन्द्राको बीचको समयमा छु। नगरकोटीका पात्रहरुका बारे सोच्दा सोच्दै म कुनै यस्तो भ्रमको चपेटामा परेको महशुस भइरहेको छ। म देखिरहेको छु, म एउटा मेज (Maze) का बीचमा छु, कुनै समथर भूभागमा। अनि देखिरहेको छु, अघि त्यो मुलपानीमा देखेका भेडाहरु मध्येको एउटा भेडो। त्यसको रङ् निक्खर सेतो छैन। अनि त्यो भेडो कहिले मेरो देब्रेतिर, कहिले मेरो दाहिनेतिर, अगाडि, पछाडि गर्दै स्विङ् गरिरहेको छ। त्यसको आकार कहिले गँड्यौलाजस्तो देखिन्छ, कहिले गर्भमा रहेको बच्चाको आकारमा। अनि त्यो अचानक मेरो अगाडि टक्क रोकिन्छ र निक्खर सेतो रङ्को भेडोमा बदलिन्छ। म त्यसको अनुहारमा, आँखामा आँखा जुधाएर हेरिरहेको छु। त्यसको अनुहार बिस्तारै एउटी दिव्य सुन्दरीको अनुहारमा परिणत भइरहेको छ तर शरीर भेडोकै छ। अनि त्यसले मुसुक्क मुस्काउँछे। त्यसलाई हेरेर म आफैंलाई भन्छु, सुन्दरता भ्रम हो, सुन्दरी भ्रम हो।
यस्तो कसरी हुनसक्छ? भोलि उठेर गुगल गर्नुपर्ला, म यस्तै सोचिरहेको छु। म निदाएको छु कि तन्द्रामा छु या पुरै जागा? अहँ भन्न सक्दिनँ। तर एउटा भेडो एउटी सुन्दरीमा परिणत भएको देखेर म विचलित भएको छु। मलाई योबारेमा जान्ने कौतुहलता लागेको छ, छटपटि भएको छ। फ्याट्ट मेरो दिमागमा एउटा नाम आउँछ, स्पेन्सर। को स्पेन्सर? के यी कोही साहित्यकार हुन्? वा यिनले इल्लुजनको बारे केही सिद्धान्त प्रतिवादन गरेका छन्? कस्तो अचम्म। भोलि उठेर गुगल गर्नुपर्ला। गुगलका अनुसार स्पेन्सर भन्ने एकजना रहेछन्, स्पेन्सर ब्राउन- जसको एउटा म्युजिकल एल्बमको नाम रहेछ, इल्युजन अफ पर्फेक्सन। कसरी हुनसक्छ यस्तो? कहिल्यै उनको बारेमा थाहै नभएको र उनको संगीतका बारेमा थाहै नहुँदा पनि सपनामा कसरी त्यो मान्छेको नाम लिइयो त्यो पनि इल्युजनकै कुरामा?
***********
म शुरुदेखिको कथा सम्झिने प्रयास गरिरहेको छु। कताको यात्रामा हिँडेको यात्री म, कहाँ पुगिरहेको छु। सत्य र भ्रम, सपना र विपना, यथार्थ र फिक्सनबीचमा हराइरहेको छु। म हरेक कुराको जवाफ खोजिरहेको छु। हामी पहिरोका कारण रोकिएका यात्रीको उद्धार गर्न आएको प्लेन, त्यो प्लेन उडाउने पाइलट अर्चना पुरनसिंह, त्यो भेडा खेदाउने मान्छे, नगरकोटी, भेडाको शरीर भएकी सुन्दरी। यी कुन चाहिँ मेरा सपनाका पात्र हुन् र कुन चाहिँ यथार्थका पात्र?
सायद आज म बहुलाउँछु। म बहुलाउँछु भनेर सोच्दै गर्दा थापाथलीको पुलमाथि साइकलमा एउटा हातले चुरोट च्यापिरहेका महाकवि देवकोटाको चित्र मेरो दिमागमा आउँछ। पागल बुढा ! तर के म बहुलाउँदा देवकोटा बनुँला त? हैन म निदाउनु पर्छ, नत्र म देवकोटा चैं हैन, बाटोमा नाङ्गै डुलिरहने एउटा बहुला पक्का हुन्छु।
निदाउन त निदाउने तर कसरी? सयबाट उल्टो गन्ती गर्दा चाँडै निदाइन्छ भन्छन् त्यसै गर्नुपर्ला। म अंक गन्न थाल्छु, उनान्सय, अन्ठानब्बे, सन्तानब्बे। अचानक देख्छु म एउटा भिडियो- जहाँ प्रहरी केही मान्छेहरुलाई निर्घात पिटिरहेको छ लेखेटी लखेटी। म पिटाइ खाने र पिट्नेको अनुहार ठम्याउन खोज्छु। भिडियोको स्पीड धेरै छ, अर्थात् भिडियोको मुभमेन्ट एकदम चाँडो चाँडो भैरहेको छ। म चश्मा पुच्छु। किन बारम्बार यस्ता घट्ना हुन्छन्? किन अधिकार हातमा आउने बित्तिकै मान्छेहरु आफूलाई शासक र अरुलाई रैति देख्छन्?
निक्कै नियालेर हेरेपछि देखेँ, यी तिनै युवा रहेछन् जो मसँगै पहिरोमा अड्केका थिए। एकजना मसँगै प्लेनमा उँडेका थिए। सायद प्लेनबाट ओर्लेर यी सिधै आन्दोलनमा गए होलान्। यीनले सायद नारा लगाए होलान्, उद्दारको प्लेनमा दक्ष पाइलट पठाऊ। सुरक्षाका सामाग्री उपलब्ध गराऊ। अर्कातिर देख्छु, ती मेरा सहयात्रीलाई पिट्ने प्रहरीको पोशाकमा मलाई उडाउँने पाइलट अर्चना पुरनसिंह रहेको टिभी शो द कपिल शर्मा शोको दर्शकदिर्घामा राखिएका फोटाहरु छन्। कोरोनाका कारण आजकाल त्यो शोमा दर्शकको ठाउँमा आर्टिफिसियल दर्शक राखिन्छन्। हो, प्रहरीको पोशाकमा मैले तिनै अचल र अमूक दर्शक देखेँ। र, पर टलक्क टल्किने लुगा लगाएर अर्चना पुरनसिंह चैं अट्हास हाँसिरहेकी थिइन्, त्यही कपिल शर्मा शोमा जस्तै।
I consider something truly interesting about your website so I saved to bookmarks . Melamie Hugo Erle
ReplyDelete