देश छोडेका ५ बर्ष


बिहानै श्रीमतीले भनिन्, 'तपाइँ आएको पनि ५ बर्ष भएछ है, सेप्टेम्बर ३, २०१५।'





सायद फेसबुकमा उनले फोटो हालेकी होलिन् र देखियो। मेरा सयौं कमजोरी छन् र ती मध्येका दुइटा हुन्, मान्छेको नाम र मिति सम्झिन नसक्ने। एकथरी मान्छे 'जुन कुरालाई महत्व दिइन्न त्योकुरा याद हुन्न' भन्छन्। मेरा यी कमजोरीलाई त्यही एकथरी मान्छेले भनेकै आधारमा तौलिने हो भने 'मेरो जीवनमा के र कसको महत्व छ?' भनेर खोज्न म असमर्थ हुन्छु सायद। अर्काले शुभकामना दिनु अघि आफ्नो जन्मदिन थाहा नहुने मान्छे संसारमा कमै हुन्छन् होला। अँ, अर्काथरी मान्छे भन्छन्, आफ्नै जन्मदिन पनि याद नगर्ने मान्छे साँच्चै 'जिनियस' हुन्। तपाइँ मलाई त्यस्तै ठान्नुस् न एकछिन।





---- ---- -------- ----









ठ्याक्कै साल याद छैन, माथि नै भनिसकेँ मिति याद हुँदैन मलाई। तर जहाँसम्म लाग्छ यो २०५४ वा २०५५ सालको जेठको अन्तिम साता वा असारको पहिलो साता। विराटनगरबाट रुम्जाटार उड्ने तत्कालिन शानेबानिको ट्विनअटर जहाज चढ्न पाउँदाको उत्साह, डर, झिझक। पुरा भाडा ४७५ रुपैयाँ वा ५ सय थियो सायद, तर विद्यार्थीका लागि २७५ रुपैयाँ। रेडियो नेपालबाट अघिल्लो राति आरए डिले सेड्युलको उडान समय सुनेपछि तोकिएको दिनभन्दा ३ दिन ढिला भएपनि प्लेन उड्दै थियो। १७ सिटे ट्विनअटर जहाज त्यसमाथि खराब मौसम अनि नियमित समयभन्दा २५ मिनेट बढी जहाज आकाशमै घुमिरहँदाको अवस्था। आकाशमा पनि बाटो चैं ग्राबेल हुँदो रहेछ, घुम्ती हुने रहेछन्, घुर्मी-कटारीको ककरु खोलाको किनारमा कुदेको ट्रक र पहाडमा उडान भर्ने शानेबानिको ट्विनअटर जहाजको हल्लाई उस्तै हुँदो भन्ने बुझाइ फेर्न पनि 'कस्मिक एअर' नै चढ्नु पर्‍यो। पहिलोपटक जहाज चढ्दाको सुखद पक्ष थियो, प्लेनको नाम प्रिन्ट भएका चकलेट पहिलोपटक म आफैंले पाएको थिएँ र म गाउँमा एक दुईजनालाई ती चकलेट बाँड्न सक्थेँ। त्यसको धेरैपछि कस्मिक एअरको २२ सय रुपैयाँमा विराटनर-काठमाडौं टु-वे प्याकेज टिकट काटेर भाइटीकाको दिन बिहान विराटनगरबाट काठमाडौं उड्न प्लेन चढ्दा थाहा भयो प्लेन भित्र ट्वाइलेट पनि हुँदोरहेछ। यो उडानमा मलाई याद छ- मैले ३५ मिनेटको उडान अवधिको २० मिनेट चैं ट्वाइलेटमै बिताएको थिएँ। होइन, होइन, पखाला चलेकाले होइन, प्लेनको ट्वाइलेट राम्रो लागेर।





---- ---- -------- ----





फोटो: इण्डियन एक्सप्रेस




२०१५ को सेप्टेम्बरमा काठमाडौं विमानस्थलबाट क्याथे प्यासेफिकको जहाज चढ्दा मेरो मनमा केही सपना थिए कि थिएनन् होला भनेर बिहानभरी सोचें। जेसुकै होस् विदेश जान्नँ भनेर आफैसँग वाचा गरेर पासपोर्ट पनि नबनाइ बसेको मान्छे अचानक म किन विदेश हिँडेको थिएँ? मैले यहाँ लेखे पनि ठूला कुरा गरिस् भन्नुहोला तर मैले अहिलेसम्म डिभी भरेको छैन। पहिला त भरिएन झन् अहिले त भर्ने कुरै भएन। यस्तो देशभक्त मान्छेलाई के कुराले देश छोड्न वाध्य बनायो? के गर्छु भन्ने सोचेको थिएँ? के मान्छे भविश्यको बारेमा नसोचि कुनै निर्णय गर्छ? आफैंलाई यति प्रश्न गरिसक्दा पनि मैले किन देश छोडेको थिएँ भन्ने कुराको ठोस् उत्तर मिलेन। सायद रहर !?





नेपालबाट विदेश जाने हरेकका आफ्ना कथा, आफ्ना व्यथा छन्। वाध्यताले विदेशिनु परेकाको व्यथा सुनिनसक्नुको छ। अनि उनीहरुले पाएका दु:खका कथा उत्तिकै दर्दनाक। तर के मसँग नि विदेशिनु पर्ने वाध्यता थियो त? मसँग औसत नेपालीले पाउनेभन्दा राम्रो तलब पाउने जागीर थियो। थोरै नै सही तर नेपालको माथिल्लो तप्काको मानिने एउटा 'समाज'मा मेरो पहुँच थियो। तर पनि म किन बिदेशिएँ होला? आजमात्र हैन, यो प्रश्न मेरो मनमा देश छोडेको शुरुवाती दुई बर्ष त हरेक दिन आउँथ्यो। आज लाग्छ- त्यो कारण थियो, एकपटक हेरौं न त कस्तो हुँदोरहेछ विदेश भन्ने लहडमा म विदेशिएको थिएँ। र, ५ वर्षअघि देश छोड्दा म विदेशमा ५ बर्ष वा त्योभन्दा बढी बस्छु भन्ने सोचेकै थिइनँ। कसैले उतै बस्छस् कि फर्किन्छस् भनेर सोद्धा म जवाफ दिन्थेँ, बढीमा ५ बर्ष। र, त्यो ५ बर्ष आज पुरा भयो।





क्याथेको प्लेन चढेको ५ बर्षपछि हेर्दा लाग्छ- मनको कुनै कुनामा तुष त पक्का थियो, वा एकैथोपो भए पनि ईख पनि पो थियो कि। समयमा भाडा दिन नसक्दा घरबेटीको रुखो वचन, ४० हजारको ल्यापटप किन्न ३५ हजार ऋण लिनुपरेको अवस्था, फलानोले कहिले नयाँ मोबाइल किन्ला र म त्यसको त्यो थोत्रो मोबाइल सस्तोमा किनेर चलाउँला भनेर निरीह भएर पर्खिनुको पीडा पनि थियो कि। साथीको बिहेमा जन्त जान सबैले सुट लगाउने भनेपछि दरबारमार्गमा कोट किन्न गएको मान्छे कोटको दाम सुनेर टिसर्ट किनेर फर्केको व्यथा पनि सायद आफ्नै वचन तोड्ने कारण थियो कि ! तर मलाई यति चाहिँ थाहा छ- बहुसंख्यक बिदेशिएका नेपालीकै जस्तो वाध्यता नै चाहिँ थिएन मलाई विदेशिनुमा। मेरो थाप्लोमा ठूलो ऋणको भारी पनि थिएन। अँ, बुबा र दाजुले आफ्नो बिहे आफैंले गर्नुपर्छ, ऋण चाहिए खोज्दिम्ला भनेपछि बिहे गर्दा अलिकति ऋण लागेको थियो- ४/५ लाख जति। तर त्यो ऋण पनि नियमित जागीर खाइरहेको भए त ७/८ बर्षमा तिरिसकिन्थ्यो होला भन्ने लाग्छ। जेहोस्, बिहे गर्दाको ऋण तिर्नै भनेर चाहिँ म बिदेशिएको थिइनँ। त्यसो भए ५ बर्ष नि पुरा भयो, बिदेश जाने रहर पनि पुरा भयो अब देश फर्किने हो त?





---- ---- -------- ----





काठमाडौंबाट हङकङ्, हङकङ्बाट नारिताको लगभग १४ घण्टाको उडानको बीचमा मैले सोचेको थिएँ- भाँडा माझ्छु तर विश्वकै उत्कृष्ठ मध्येको एक टोकियो विश्वविद्यालयबाट एउटा डिग्री चैं लिन्छु, लिन्छु। आज ५ बर्ष बित्यो, म अझै पनि त्यही कुरा सोचिरहेको हुन्छु, ६ महिना १ बर्षजतिमा एकपटक। ओल्बाको रेल र मेरो टोकियो विश्वविद्यालयको डिग्री। भाषणमा छ, काममा छैन। ए अँ, रेल विभागमा अहिले मान्छे नि नियुक्त पो गरिएको छ क्यारे। उसो त मैले पनि ५ बर्षमा तीनपटकजति चाहिँ विश्वविद्यालयका प्रोफेसर खोज्ने, के पढ्ने भनेर बिषय छान्नेजस्ता काम चाहिँ गरेको छु है। कुनै दिन त पक्का आउला नि रेल भनेर पर्खेर बसेको छु म टिकट काट्ने पैसा पर्सको भित्री गोजीमा राखेर। अब ओल्बाले रेल नल्याइ सरकार छोड्ने कुरा भएन, मैले डिग्री नलिई टोकियो छोड्ने कुरा भएन। त्यसैले ५ बर्षे म्याद स्वत: खारेज।





माथि लेखिसकियो, बिहे गर्नु अघि ऋण भनेको त्यै २० हजार, ३० हजार हुन्थ्यो। बिहे गरेपछि ऋण लाखमा पुग्यो। फेरि पनि भन्छु, म बिहेको ऋण तिर्न विदेशिएको होइन। न त म विदेश जानको लागि ऋण गरेर ठूलो रकम तिरेर नै आएको हुँ। र, विदेश गएर पैसा कमाएर म घडेरी किन्छु, घर बनाउँछु, गाडी किन्छु भन्ने सपना पनि देखेको थिइनँ। केही सपना नभएपछि जीवन निरस हुन्छ, केही कुरा पाउनु नै छैन, केका लागि बाँच्ने भन्छन् धेरै मान्छे। तर म भन्छु, सबैभन्दा सुखी र खुशी मान्छे त्यो हो जसको कुनै सपना छैन। सपना नभएपछि सपना पुरा गर्ने हुटहुटी हुने भएन, सफल भइएन भन्ने दु:ख हुने कुरा पनि भएन। बिना सपना, बिना उद्देश्य, बिना भविश्यको योजनाको पनि मान्छे हुन्छ होला त? खै मलाई चाहिँ थाहा छैन, तपाइँहरुले मेरा बाबुआमा वा मेरी श्रीमतीलाई सोध्नु भयो भने उनीहरुले कोही चिनेका छन् कि !





तपाइँहरुले विदेश गएर धन कमाएर घडेरी किनेका, घर बनाएका धेरै मान्छे देख्नु चिन्नु भएकै होला। अथवा, तपाइँ आफैं नि त्यस्तो हुनुहोला। तर विदेश गएर ऋण लागेको मान्छे चिन्नुभएको छैन भने यो ब्लग लेख्ने मान्छेलाई चिनिराख्नुस्। विदेशमा बसेर २५/३० लाख ऋण पनि नभएको मान्छे के मान्छे? ५ बर्ष बिदेश बसेपछि एउटा बहुत ठूलो कुराको ज्ञान प्राप्त गरियो- बिना उद्देश्यको, बिना योजनाको मान्छेको काम छैन। त्यसैले मान्छे तह लगाउनु छ भने छ भने ऋण लगाइदिनु पर्ने रहेछ। ऋण तिर्नको लागि भएपनि त अलि मेहनत गर्छ। कम्तिमा उसको जीवनको उद्देश्य केही त बन्छ। आजकाल म त्यही उद्देश्यमा छु- क्रेडिट कार्ड कम्पनीको ब्लक लिस्टमा नपर्ने उद्देश्य।





---- ---- -------- ----





विदेश गएर के पाइयो के गुमाइयो भनेर सोच्दा सोच्दै बडा भावुक बनियो। हैन, यसलाई लेखेर राखिराख्नुपर्ला भनेर बिहान ९ बजे ल्यापटप खोलेर बसेँ। यो लाइन लेख्दासम्म दिउँसोको ३ बजेर १५ मिनेट भएको छ। ब्लग लेख्दा लेख्दै मामाले फोन गर्नुभयो। मामा माइजुसँग आधा घण्टाजति कुरा गरेँ। लेखिसकेर खाना खान्छु भनेर लेख्दालेख्दै पनि सकिएन। लगभग ३ हजार शब्द लेखिएछ। अनेकन कुरा- यो ५ बर्षमा मैले मेरा केही आत्मीय मित्रहरुको नजरबाट गिरेर माटोमा मिलेको घट्ना, त्यो घट्नापछि प्रत्यक्ष भेट्दा आफ्नो अनुहार, मनको भाव, पटकपटक माफी माग्न नआएको हिम्मतजस्ता अनेकौं कुरा लेखेँ। म भित्र पुरुष ईगो वा मेरो हुर्काइ, म जन्मेको हुर्केको परिवेश, समाजको सोचका कारण मैले महिलाहरुका बारे सोच्ने तरिका, त्यसले पारेका असर, त्यसको आत्मिकरण, पश्चाताप, त्यसैका कारण आफुले आफैबाट भोगेको मानसिक तनाव, त्यसबाट भाग्न 'मैले थाहै पाइनँ' भन्ने भ्रममा बस्दाको अवस्थादेखि त्यसको लागि माफीसम्म सबै लेखेर सकाएँ।





अहिले भर्खर यहाँ अनुच्छेद परिवर्तन गरेँ मैले। यो याद गर्नुभएको थियो? अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका कुरा सबै पढेपछि तपाइँलाई त्यो घट्ना, ती कुरा पढ्न मन लागेको हुनुपर्छ। मैले ती सबै कुरा लेख्दा आफ्नो बारेमा एउटा लाइन लेखेको थिएँ, 'अहिले आएर मलाई लाग्छ, म काँतर हुँ।' अनि म आफूले आफैंलाई काँतर लेखेको कुरा म किन दुनियाँलाई पढ्न छोड्दिऊँ? त्यसैले मैले ती सबै कुरालाई भूपि शेरचन गरिदिएँ।





मैले ५ बर्षमा के भएँ भनेर हिसाब गर्दा म रुन्चे भएछु। अथवा, शहरिया भन्न पनि सकिएला। अर्काको दु:ख देखेर तुरुक्क आँशु आउने तर त्यो आँशु घुटुक्क रक्सीको घुट्कोसँग घुड्क्याउने। दाँतमा अड्केको मासुको टुक्रोलाई कोट्याउँदै ह्विस्कीको घुट्को घुटुक्क पार्दै म रोइरहेको हुन्छु, हरेक दिन।





अन्त्यमा, अनेकन प्रयास गर्दा पनि भविश्यको बारे गम्भीर भएर नसोचेको, घर घडेरीका बारे कुनै पनि कुरा नसोचेको, परिवार र ईष्टमित्रप्रति चाहिनेजति जिम्मेवार नभएको देखेपछि श्रीमतीले एकदिन छोरोलाई अगाडि सार्दै भनिन्, आफ्नोबारे त सोचिनस् सोचिनस्, कम्तिमा छोरोको बारेमा त सोच्। सन्तानको मायाले मान्छेलाई साँच्चै नै गम्भीर बनाउने रहेछ। म पनि केही गम्भीर भएँ। एकैछिनमा ज्ञान प्राप्त गरे झैं मन्द मुस्काएँ र भनेँ, ओखल्ढुंगाको बाँदर लड्ने भीरमा जन्मेको म त अहिले टोकियोमा यत्तिको जीवन बिताइरहेको छु, यत्तिको ज्ञानी छु भने टोकियो मै जन्मेको छोरोको मैले चिन्ता गर्नुपर्ला त? अब केही बर्षको कुरा मात्र हो, छोरोले मलाई असल र ज्ञानी मानव बनाउनेछ।


Comments

  1. "श्रीमतीले एकदिन छोरोलाई अगाडि सार्दै भनिन्, आफ्नोबारे त सोचिनस् सोचिनस्, कम्तिमा छोरोको बारेमा त सोच्। सन्तानको मायाले मान्छेलाई साँच्चै नै गम्भीर बनाउने रहेछ।" आफैले दिनको तीनपटक फेस गर्ने प्रश्न आएछ यहाँ चाहीँ।

    ReplyDelete
  2. 😃घर घरकी कहानी

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ