नो मोर लभ प्लिज् !!!

पृष्ठभूमि:


यो पनि कथाको विषय होला भन्ने सोचेकै थिएन। अनि भर्खरै टुसाउन खोजेको प्रेमका बारेमा त्यो पनि पूर्ण रूपमा चिन्न नसकिएको मान्छेको बारेमा। तर यसलाई कथा नबनाउने हो भने भर्खरै पलाउन शुरू गरेको प्रेमको ठोसा मर्ने पक्का भयो। त्यसैले नफक्रिएको यो प्रेमगाथा लेख्नु पर्ने वाध्यता आइ लाग्यो। यो कथा लेख्नको लागि उनले (भर्खरै मेरी प्रेमिकाको रूप धारण गर्न खोजेकी) पात्रको रूपमा आफ्नै नाम राख्नेसम्मको स्वीकृति दिएकी हुन्। तर मैले त्यो उचित ठानिनँ। भएपनि एउटा कुरा पहिलानै भन्छु: यो कुनै प्रेमकथा होइन। तर यो कथा काल्पनिक ठहरिएमा संयोग मात्र हुनेछ :D


never-stop-loving


शुरूवात:


फेसबुकमा एकदिन ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। विगत छ महिनाको अवधिमा जति पनि साथी बन्नका लागि अनुरोध आए, आँखा चिम्लेर स्वीकार गरियो। उनको पनि भयो। मेरो ब्लग र मेरा स्टाटस्‌मा नियमित ‘लाईक’ आउन थाले उनीबाट। मसँग साथी बन्नुको उनको उद्देश्यका बारेमा न त मैले उनलाई सोधेको छु न त उनले जरूरी सम्झेकी छिन्। तैपनि उनले यतिसम्म भनेकी छिन्: ‘मेरो ब्लग उनलाई मन पर्छ।’ तर साथमा उनले यो पनि भनेकी छिन् कि उनलाई गजल र ब्लग पढ्न रमाइलो लाग्छ।


यहाँसम्म उनको र मेरो सम्बन्ध एउटा ब्लगर र पाठकको भन्दा बढि छैन। यस अर्थमा म उनलाई मेरो ब्लगकी नियमित पाठक जो आफूलाई चिनाउन चाहन्नन् भनेर मात्र बुझेको थिएँ। दिनभरी अफिसकै काममा व्यस्त हुनुपर्ने र फेसबुकभन्दा ट्वीटरमा बढी रमाउन थालेकोले ‘अनलाइन’ बस्न बन्द गरेको थिएँ। त्यसैले जस्लाई मसँग कुरा गर्नु थियो सबैले ‘अफलाइन सन्देश’ पठाउँथे। तर उनले त त्यो पनो गरेकी थिइनन्। त्यसमाथि उनीसँग म साथी बनेको थिएँ भन्ने कुरा पनि मैले बिर्सिसकेको थिएँ, गफ गर्ने त परको कुरा।


एकदिन म फेसबुकमा ‘अनलाइन’ भएँ। सबैभन्दा पहिले उनकै सन्देश आयो: ‘हेल्लो’। जवाफमा हेल्लो भन्नै पर्‍यो। कोही बोलिसकेपछि जवाफ नफर्काउनु पर्ने कारणै थिएन। तर त्यो ‘हेल्लो’बाट शुरू भएको गफ यस्तो गहिराईमा पुग्यो कि लाग्थ्यो हामी दुई बच्चैदेखिका मिल्ने साथी हौं। सायद हामीले ३ घण्टा कुरा गर्‍यौं लगातार फेसबुकमा। शंका थियो मनमा, ‘कतै फेक आइडी त होइन?’ त्यसैले मैले उनको नम्बर मागेँ। मागेर के गर्नु दिनु पो महत्वपूर्ण कुरा हो त। मागेरै सबै पाउने भएको भए यत्रो नि नम्बर मात्रै माग्दिनँ थें। :D :D  उनले मलाई नम्बर नदिएर के भो त मैले त मेरो नम्बर दिन सक्थें नि त। साला जिन्दगीमा जताततै ‘अप्सन’ हुने के !  नम्बर टाइप गरेको दुई मिनेटमै मोबाइल बज्यो। सोचें, उनकै होला, ‘सेभ’ गरिराख्छु। विश्वास नि अजिबको चीज रहेछ। त्यो नम्बर उनको नहुन नि सक्थ्यो। तर विश्वास चाहिँ थियो। नम्बर ‘सेभ’ गरेपनि मैले उनको फोन बजाउन जरूरी सम्झिनँ। सायद यो आत्मादेखिको विश्वास थियो।


मध्यान्तर:


पहिलो दिनको गफ यति आत्मिय भयो कि यसले निरन्तरता पाउन थाल्यो। फेसबुकमा ‘अनलाइन’ हुने बित्तिकै जनक @Jaw_knock को ट्वीट आउन थाल्यो अनन्त फेसबुकमा ‘अनलाइन’मा गफ गर्दैछन् भनेर । तर पनि डराइएन। उनको घर स्वयम्भू, काम गर्ने बाँसबारी छेऊ। म बस्ने कुपण्डोल, काम गर्ने पाटनढोका। फेसबुकभन्दा बाहिर भेट हुनै मुश्किल हुने अवस्था। अगि नै भनें नि, साला यो जिन्दगीका पाइलै पिच्छे ‘अप्सनै अप्सन’। गंगालाल अस्पतालमा एकजना बिरामीलाई मेरै ब्लड ग्रुपको रगत चाहियो। अजिंगरको आहारा दैवले पुर्‍याउँछ रे। मैले फोन गरें, म गंगालाल आउँदैछु भनेर। उनले पनि अफिसको ठेगाना दिईन्। झम्‌झम् परेको असारे झरी। लाग्थ्यो, इन्द्रदेवले हाम्रैलागि मौसम त्यस्तो बनाएका थिए। गंगालालमा ब्लड टेस्ट गर्न दिएपछि फेरि फोन गरें र भनें (भनेंभन्दा नि आदेश दिएँ) ‘तिमी गंगालालको छेउको ‘डाउनटाउन’ रेष्टुराँमा आऊ।’ उनले हुन्छ भनिन्। म रेष्टुराँको बाहिरबाट भित्र जाने तर्खरमै थिएँ। एउटी पातली, अग्ली, चश्मा लगाएकी र अफिसको ‘फिटिङ्’ ड्रेस लगाएकी केटी छाता ओढेर आउँदै थिईन्। उनीमाथि मेरा आँखा पर्ने बित्तिकै उनी मुस्कुराइन्। मैले सोचें यही केटी रै’छे। यसो सर्सर्ती हेरें। ‘धत्, म भन्दा पनि अग्ली पो छे कि के हो?’ मेरो मनले त्यसै भन्यो। हामी रेष्टुराँ छिर्‍यौं उनको छनौटको खाजा खान। उनले आफ्नो लागि पिज्जा मगाइन्। मेरो पहिलो गाँसमै ढुंगा पर्‍यो। यो पिज्जा भन्ने चीज देख्यो कि रीस उठ्छ आफूलाई। धन्न बाल बाल बचें, मेरो र साथीको लागि उनले म:म: मगाईन्। सामान्य कुरा भयो। पटरपटर मकैका फूल उठेजस्तो उनी पट्की रहिन्। म र मेरो साथी सुनेरै बस्यौं। कुनैकुनै बेला बोल्ने पालो आउँथ्यो अनि हामी बोल्थ्यौं। नत्र साथी र म उनका श्रोता। साथीसँग भएकोले होला उनले व्यक्तिगत कुरा गरिनन्। जब मैले कुरा निकाल्थें उनले अँ, हो वा यस्तै भनेर जवाफ दिन्थिन्। मैले सोचें, ‘केटी लजालु रै’छे।’ तर साथीको कमेन्ट भने फरक थियो। उनले भने, ‘वाफ रे कत्ति बोल्न सकेकी यो केटी।’


हामीले कुरा गर्न थालेको भर्खरै मात्र हो। तर यो बीचमा उनले आफ्नो प्रेमीका बारेमा बताइन्। उसँगको सम्बन्धको बारेमा बताइन्। पारिवारीक पृष्ठभुमि, प्रेमी र उनका बारेको पारिवारीक अप्ठेरा सबै बताइन्। कुरो बुझियो: ‘भर्खर भर्खर फक्रिन लागेको उनको प्रेम परिवारका कारण निमोठिएको अवस्थामा थियो। मैले सोचें: ‘केटा, मलमपट्टी गर्ने सही समय हो, लगे रहो।’ :D म अलि धेरै दार्शनिक कुरा गर्थें क्यार। उनले कहिल्यै नाईं, होइन भनिनन्। मैले दर्शन छाँटन छोडिनँ। हामीले त्यसपछिका दिनमा सँगै फिलिम् हेर्‍यौं। तर सारै दु:खको कुरा छ: बल्लबल्ल फिलिम हेर्ने समय मिलाएको उनले ‘हाइवे’ हेर्ने भनिन्। आफूलाई त फिलिम कस्तो छ भन्ने थाहा थियो। गर्लफ्रेण्ड लिएर पपकर्न र कफी खाँदै हेर्ने फिलिम् थिएन। तैपनि नाईं भन्न सकिएन। हुने बेलामा गोरू नि ब्याउँछ रे नहुने बेलामा गाई थारै बस्छ भन्छन् नि। ठ्याक्कै त्यही ताल भयो मेरो। कति पापड बेलेर फिल्म हेर्ने समय मिलाएको, मसँग दुईजना मेरा साथी थपिए। त्यसै पनि ‘हाइवे’ फिल्म त्यसमाथि साथमा साथीहरू पनि। प्रेम गर्न हिंडेको प्रेमकुमार फिल्मको दर्शक भएर फर्कियो। हामीले चुपचापै फिल्म हेर्‍यौं। प्रेमका कुरा गर्न नपाएपछि अरू कुराको के मोल यहाँ। त्यसै पनि उनको र मेरो बीचमा प्रेममय कुरा भन्दा पनि घर व्यवहारका कुरा बढी हुने। गफ गर्न थाल्यो बिहे र घरजमका कुरा हुने। उमेरले नेटो काटेछ कि क्याहो, डेटिङ् जानेबारे न त उनको दिमागले सोच्छ न त मेरो दिमागले। अब हाम्रो यात्रा फेसबुकमै मात्र सिमित छैन। तर प्रष्ट भनौं, फोनमा हाम्रो त्यत्ति धेरै कुरा हुँदैनन्। भेटनको लागि समय मिलेसम्म जोड लगाइन्छ। यो तालले भएन भन्ने सोचेर मैले भनें, ‘न त हामीलाई डेटिङ जानु छ, नत हामीलाई लभ गर्नुछ बरू अब बिहे गरौं।’ उनको मनमा के छ भनेर त जान्नु पर्‍यो नि ;-)  उनले भनिन्, ‘घरमा माग्न आउनु।’ मैले जोड गरें, ‘घरमा माग्ने त दोस्रो कुरो, पहिलो कुरा त तिम्रो मप्रतिको ‘इन्ट्रेस्ट’ बुझ्नु छ।’ उनले भनिन्, ‘घरमा माग्नु, उनीहरूले हुन्छ भने भने मेरो तर्फबाट ओके।’ तर यसरी हुँदैन, ‘नो मोर लभ, डाइरेक्ट म्यारिज्।’ मेरो कुरो। फेसबुकमा जे जति बिहे वा घरजमका कुरा गरेपनि भेट हुँदा उनले यो बारेमा कुरै गर्दिनन्। अगि भनें नि, ‘केटी लजालु छे।’  अनि मौसम चाहिँ सारै चञ्चल छ। जहिले जहिले हामी एकआपसमा भेट्न खोज्छौं पानी पर्न थाल्छ।


अन्त्य:


यो कथाको अन्त्य थाहा छैन। हामीले हेरेको ‘हाइवे’ फिल्म जस्तै यो कथा पनि खुल्ला छ। पाठकहरूले नै यसको अन्त्य सोच्नु पर्छ। तर कथा पढ्ने पाठकहरूलाई नै सबै कुरा सोच्न दिएर गाली खानु छैन मलाई  :D भर्खरै त हो ‘हाइवे’ फिल्मको खुल्ला अन्त्यले धेरै गाली खाएको। त्यसैले पाठकहरूको जिज्ञासालाई शान्त पार्दै यतिसम्म भन्छु, ‘उनले घरमा माग्न आउनु भनेकी छिन्। मलाई उनको घरमा माग्न जाने साथी चाहिएको छ।’  म चाहान्छु, यो कथाको अन्त्य नै नहोस्। सुखद या दुखद जे भए पनि कथा त कथा हो नि। यो न त प्रेम, न त अप्रेमको अवस्था सारै रमाइलो र आनन्ददायी छ। “एउटा निश्चित समय छ, निश्चित ठाउँ छ, जहाँ उनले मलाई अनि मैले उनलाई पर्खिरहेका हुन्छौं। भविश्य कस्ले देखेको छ र !! मरेका भोलिपल्ट दुई दिन भइहाल्छ क्यारे !! ” यो अन्तिम वाक्यमा अर्की पात्रको आगमन भएको छ। अब उनका बारेमा लेखेर माथिल्ली पात्रको अवमूल्यन म किन गरौं? त्यसैले यो कथा यहीं सकिन्छ !!


(नोट: पाठक र पात्रको रूचिलाई मध्यनजर राख्दै कथाको अन्त्य तथा मध्यभागमा केही संसोधन गरिएको छ :P)

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ