हाइवे र सत्य

सामाजिक सञ्जालका धेरै साथीहरू मैले ‘हाइवे’का बारेमा गरेको विज्ञापन पोष्टहरूका बारेमा मलाई गाली गरेर अनि ‘हाइवे’को ओभर हाइप भएको भनेर गुनासो र गाली गर्ने गर्छन्। फेसबुक नामको अगाडि ‘हाइवे’ थपेको विषयमा धेरै साथीहरूले अनलाइनमा आफ्नो परिचय नै बेचेको समेत आरोप लगाएका छन्। मेरो जवाफ सिधा छ-, जसरी सगरमाथा वा गौतम बुद्ध नेपालमा जन्मेको भनेर हामीलाई गर्व लाग्छ त्यत्तिनै ‘हाइवे’ नेपालमा बनेको हो भनेर मलाई गर्व लाग्छ। अब संसारमा सधैंभरी नेपालको पहिचान सगरमाथा र बुद्धले मात्र बोक्नु पर्ने हो भने फरक कुरा। तर यहाँ मानिस पनि बस्छन्, यहाँको छुट्टै संस्कृति छ अनि यहाँका मानिसहरूको छुट्टै जीवनशैली छ भन्ने हो भने यी सबै कुरालाई चिनाउन चलचित्र एउटा महत्वपूर्ण माध्यम हो। चलचित्र हाइवेले गरेको पनि त्यही हो। ‘हाइवे’ माथि किन यत्रो गर्व भन्ने जिज्ञासा छ भने पढौं-,

सबैलाई थाहा छ, शक्ति गौचनले आइपिएलको चौथो संस्करणमा खेल्न पाउलान् कि भन्ने समाचार मात्रले देशमा तरंग उत्पन्न गर्‍यो। हामी सबैले आफ्ना आफ्ना सामाजिक सञ्जालका पेजहरूमा खुसी बाड्यौं। अखबारहरूका पाना त्यही समाचारले भरिए, रेडियो टेलिभिजनमा ब्रेकिङ् समाचार बने। तर १५० भन्दा बढी देशका हजारौं सिनेमाहरूलाई पछि पार्दै विश्वका ठूला दुई फिल्म फेस्टिभल मध्येको एकमा उत्कृष्ठ १८ मा पर्न सफल चलचित्रका बारेमा कुरा गर्दा किन स्वीकार गर्न नसकिएको? हामीले सबैभन्दा बढी मन पराउने बलिउडका फिल्महरूलाई पछार्दै बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ६२ औं संस्करणमा प्रतिस्पर्धामा पुग्नु नेपालले क्रिकेट वा फूटबलमा विश्वकप खेल्नु जस्तै होइन र?

[caption id="attachment_148" align="alignright" width="208"]हाइवे अफिसियल पोष्टर हाइवे अफिसियल पोष्टर[/caption]

हैन भन्ने तपाईंहरूको तर्क छ भने ‘हाइवे’ले प्रतिस्पर्धा गरेका फिल्महरूको बारेमा पनि जान्ने हो कि? ‘हाइवे’ले प्रतिस्पर्धा गरेको एउटा चलचित्र हो ‘ Cherry‘. एकेडेमिक अवार्डका लागि मनोनित हलिउड स्टार  James Franco जस्ता सुपरस्टारले निर्माण गरेको र अभिनय गरेको मिलियन डलरमा बनेको फिल्मसँग ४०-५० लाखको बजेटमा बनेको हाम्रो जस्तो मुलूकको फिल्मले प्रतिस्पर्धा गर्नु माइकल ज्याक्सन्‌सँग नेपालको एउटा गाउँको सानो केटो एउटै स्टेजमा नाच्नु जत्ति पनि होइन त? (६२औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानिएका चलचित्रको लागि यहाँ क्लिक गर्नुहोस्)त्यसो हो भने हाइवेका बारेमा चर्चा गर्दा वा पत्रिकामा समाचार वा लेख आउँदा वा शहरमा होर्डिङ बोर्ड राख्दा किन होला मान्छेहरूको टाउको दुखेको? पटक्कै बुझ्दिनँ। त्यसमाथि हामीले हाम्रो काम गरिरहँदा अरूलाई किन रीस उठेको होला :D   हामी सँधै  त्यही पाँचवटा गीत र पाँचवटा फाइट भएका चलचित्र बनिरहुन् भन्ने चाहान्छौं भने माफ गर्नु होला यो चलचित्र तपाईंहरूका लागि होइन। किनकी यो चलचित्रमा न त चोभारमा हिरोले फाइट हानेर गुण्डा लडाउँछ न त हिरोईन फेवातालमा नै नाच्छिन् या त किस् को सिन छ न त कादर खानले बोल्ने जस्तो डाइलग। यसमा छ त केवल हाम्रो कथा अनि हाम्रो व्यथा। त्यसैले हाइवे हेर्न जाँदा केही फरक कुरा हेर्छु भनेर जानुस्। पक्कै पनि फरक महशुस हुन्छ। चलचित्रलाई समाजको ऐेना मान्ने हो भने वास्तविक जीवन चलचित्रमा देखिनु पर्छ। ‘हाइवे’ले गरेको प्रयास पनि यही हो। प्रयास भनिसकेपछि धेरै कुरा भनिरहनु पर्दैन होला।

‘हाइवे’का बारेमा लेख्दै कान्तिपुर कोसेलीमा यज्ञश दाइले लेख्नुभएको लाइन सापटी लिन्छु-, “फिल्म हेर्नु र बुझ्नु आफैंमा एउटा कला हो। यदि कला होईन् भने पनि शैलीसम्म त सबैका लागि हो नै। एउटै ढर्राका नेपाली वा बलिउडी फिल्म हेर्ने शैली भएकाका लागि यो फिल्म फरक हुन सक्छ। किनभने, यसमा कुनै फाईट छैन, गीत छैन। कुनै तिलस्मी हिरो छैन। कुनै अदभुत सुन्दरी हिरोईन छैन। आफ्ना केही कमी र कमजोरीका साथ यो फिल्म भीडमा भिन्दै देखिन्छ।”   यो भनाइलाई मध्य नजर गर्दै चलचित्र हेर्नुस्, पक्कै पनि केही अर्थ निस्केला। केवल मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन मात्र चलचित्र हैन।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ