श्री ३ को आदेश: 'भिक्षाखोरी नाम खारेज गरी अमलेखगञ्ज लेख्नू'*

(गोर्खापत्र हालको गोरखापत्र नेपालको एउटा जिउँदो जाग्दो इतिहास हो। यसका पुराना अंकहरु पढ्दा गज्जब गज्जबका समाचार भेटिन्छन्। हुनत हरेक लेखिएका वा रेकर्ड गरिएका कुरा आफैंमा इतिहास हुन्। मेरो यही ब्लग पनि एउटा इतिहास नै हो। आफ्नै ब्लग खोतल्दै जाँदा गोर्खापत्रको पुराना समाचारको संकलन गरेर एउटा ब्लग लेखेको रहेछु। त्यही ब्लगलाई थोरै सम्पादन गरेर नयाँ बनाउने जमर्को हो यो।)

तपाइँ हामीले बाराको अमलेखगञ्जको नाम त सुनेका छौं। अमलेखगञ्ज भन्ने बित्तिकै झट्ट याद आउने नेपाल आयल निगमको तेल ट्याङ्की याद आउँछ। अनि कतिलाई चाहिँ रेल्वे पनि याद आउला। तर अमलेखगञ्जको नाम पहिला भिक्षाखोरी थियो भन्ने चाहिँ हामी कमैलाई मात्र थाहा होला। भिक्षाखोरीबाट अमेलखगञ्ज नाम कसरी रहन गयो भन्नेबारे गोर्खापत्रको समाचारमा केही उल्लेख छ। राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले दास प्रथा उन्मुलन गर्दै भिक्षाखोरीमा बस्ती बसालेपछि यो ठाउँलाई अमलेखगञ्ज नामाकरण गरिएको रहेछ। नेपाली बृहद शब्दकोषका अनुसार अमलेखको अर्थ हुन्छ- करियाहरुलाई पार वा स्वतन्त्र गरिदिने काम, कमाराकमारीको छुटकारा। यसरी हेर्दा यसको नामाकरण दासत्वबाट मुक्तिको इतिहासमा जोडिएको रहेछ।

अब यसबारे गोर्खापत्रमा छापिएको सुचना हेरौं। गोर्खापत्रको भाग २६, संख्या ९, १९८३ आषाढ १ गतेको अंकको मुखपृष्ठको समाचारमा लेखिएको छ- “अब उप्रान्त भिक्षाखोरी भन्ने नाम खारिज गरी भिक्षाखोरीलाई ‘अमलेखगञ्ज’ भन्ने नाम राख्नु भन्ने श्री ३ महाराजबाट हुकुम बक्सिएबमोजिम अब उप्रान्त लेखापढी इत्यादि गर्दा ‘अमलेखगञ्ज’ भन्नु भन्ने अखाडा अड्डा अफिसहरूलाई १ छापे पूर्जि भएको छ।“

[caption id="attachment_143" align="alignleft" width="300"]गोरखापत्र गोरखापत्र। फोटो स्रोत: मदन पुरस्कार पुस्तकालय[/caption]

देश संघिय लोकतान्त्रिक गणतन्त्रमा छ अहिले। यतिबेला योभन्दा त राणा शासननै ठीक थियो, पञ्चायत त धेरै ठीक थियो, राजा हुँदै देश गतिलो थियो भनेर नि चर्चा गर्छन् केही मान्छे। तिनीहरुलाई अलिकति प्रोत्साहन दिऊँ न त। प्रसंग पुरानो पत्रिका गोरखापत्रकै हो। गोर्खापत्र विक्रम सम्वत् १९५८ सालको बैशाख २० गतेबाट प्रकाशन शुरु भएको थियो। यसले यो पत्रिका किन शुरु गरिएको हो भनेर आफ्नो पहिलो अंकमा प्रष्ट लेखेको छ। “सभ्यता नभयाका दुनिञा बाट धर्म, कर्म, अकल, बुद्धि, बन्दबेपार, खेतिपाति, चालचलन, बहादुरी इत्यादि कौनै कुरामा पनि उनती हुननसक्‌ने ठहराइ बकसी, आफ्ना छोरा जस्ता दुनिञा विद्वान हुन् … नेपाल देशको उन्नति भएपछि सारा दुनिञा सुखपाउनन् भन्नाका निमित्त श्री ३ महाराजबाट येस् हाम्रो कार्खानामा संपूर्ण कुराको पूरामदत् गरी बक्सी उन्नतिको मुख्यकारण भयाको अखबार प्रकाश भयो”। यो विज्ञापन पं. नरदेव, मोतिकृष्ण शर्मा, पशुपत प्रेस नेपालका नाममा गोर्खापत्रको पहिलो अंकमा प्रकाशित छ। हेर्नुस् त महाराजको कृपा हाम्रा पूर्वजहरूमाथि। जनता असभ्य भए, देशको उन्नति भएन भनेर महाराजले जनतालाई विद्वान बनाउन गोर्खापत्र छाप्न थाले। तर अहिलेका महाराजहरुले अरिंगाल पाल्छन्। हुनत वहाँहरुले पनि जनतालाई विद्वान बनाउन 'प्रेस विज्ञ'हरु राख्नुहुन्छ क्यारे।


अहिले भर्खरको तात्तातो घट्ना छ- ललितपुरमा मच्छिन्द्रनाथको रथयात्रामा भएको झडपको। हाम्रो संस्कृति, परम्परा, धर्म, संस्कृति, रूढीवाद अनेकमाथि अहिले बहश जारी छ। यसै प्रसंगमा गोर्खापत्रको एउटा पुरानो समाचार यहाँ उल्लेख गर्न उपर्युक्त लाग्यो। 'देश र जनतालाई विद्वान बनाउने' समाचार छापिएको थियो, वि.सं. १९५८ जेष्ठ १० गते सोमबार-गोर्खापत्रको बर्ष १, अंक १ को पृष्ठ ४।

‘एकघण्टामा दुइको टण्टा’ शीर्षकमा प्रकाशित समाचारले भन्छ- “एक बाहुन देवताको छोरा छोरी कोही नहुँदा हे शिवजि मेरो छोरो भयो भने १ ठूलो घण्टा चढाउला भनि भाकेको रहेछ केहि दिन पछि शिवजिका कृपाले छोरो पायेछन्‌ र भाके बमोजिम् घण्ट चढायाछन्- ५/६ महिनापछि चढायाको घण्ट पसेछ र मलाई सपना भयेको छ म चढाउछु भनि आर्का बाहुन देवताले चढाउने काम गर्दा मैले चढायाका ठाउमा तिमि चढाउन पाउँदैनौ भनि एक घण्टमा २ को टण्टा चलेको छ.”


झण्डै १ सय २० बर्ष अघिको यो समाचार र हिजोको मच्छिन्द्रनाथको रथयात्रामा भएको झडपको समाचार पढेर सय बर्षमा हामी कति सभ्य भएछौं भनेर ठ्याक्क देखिने रहेछ। उबेला १ घण्टमा चलेको टण्ट र हिजो एक रथमा चलेको डण्डाबारे आफैं सोचौं, आफ्नो मुल्याङ्कन आफैं गरौं।


हुनत गोरखापत्रले नैतिक शिक्षाको पाठ पढाउन आफूले सकेको मद्दत गरेकै हो। अनि देशका जनतालाई इलम गर्न उक्साएकै हो, भलै भाषा अलि तितो नै किन नहोस्। भाग २, संख्या ८, १९५९ आषाढवदी २ सोमवारको सम्पादकीयनै हेरौं न- “देशको मन इलंतिर नघुसी, कौनै मुलुक्को तरक्कि हुन सक्तैन, तर अफसोच छकि, हाम्रा राजधानी कै जान्ने सुन्ने मानिस पनि आफ्ना छोराछोरीलाई पढाउँदा साधारण साउँ अक्षर लेख्न सक्ने भो भने पनि खुप गर्‍यो भन्ने ठान्दछन्. ‘त’ र ‘ट’ छुट्टयाउनाको होस भयाको हुन्न, अड्डा ताक्न थाल्दछन् हिसाब पढाइ कस्तो छ होला भन्नुहोला भने, जम्मा गर्दा हात लागेको कहाँबाट आयो भनि सोध्ये, आकाशबाट खस्यो भन्लाजस्तो मुख बायेर आकाशतिर हेर्छन्.”


छैन त गज्जबको सम्पादकीय ! त्यसै टिकेको छैन नि गोरखापत्र यत्तिका बर्षसम्म। हाम्रो अहिलेको शिक्षा अनि हामीले प्राप्त गरेको शिक्षाको धाक लगाएर आफूलाई विज्ञ घोषणा गर्ने क्रम पहिलेभन्दा घटेको छैन, बढेकै छ। विज्ञता कस्तो छ भनेर त गोर्खापत्रले उहिल्यै लेखेकै छ- 'जम्मा गर्दा हात लागेको कहाँबाट आयो भनि सोध्ये, आकाशबाट खस्यो भन्लाजस्तो।'


गोर्खापत्रको अर्को मन परेको कुरा पनि छ मलाई। भाग १७, संख्या २८, १९७४ कार्तिक २० को अंकमा दशैम बिदा मनाएको कुरा पनि बडो रोचक ढंगले लेखेको छ। ’संमिलन’ शीर्षकको यो जानकारीले भन्छ- “प्रिय महाशय हो! तपाञीहरूबाट निगाह राखी यो गयेका १ हप्ताको छुट्टि दिनु भयेको हुनाले गोर्खापत्रले आनन्दपूर्वक दुर्गोत्सव मनायेर तपाञीहरूलाई धन्यवाद अर्पण गरी फेरी कार्यक्षेत्रमा उपस्थित भै, सबै तपाञीहरूलाई यथा योग्य नमस्कार, कुर्णेस इत्यादि गरी आफ्ना कार्यमा प्रवृत्त भयेको छ.”


जाँदाजाँदै एउटा गोर्खापत्रे ब्रेकिङ न्यूज पढेर जाऊँ। भाग २५, संख्या ९, आषाढ ९ गते छापिएको ब्रेकिङ न्यूज समाचारको शीर्षक छ ‘दोहोरो मरण’- “यही आषाढ ७ गते शनिवारका दिन बिहान करीब ८ बजे, काठमाडौं यंगालटोल बस्ने राजभण्डारी थर भएकी अन्दाजी ६० वर्षकी बुढी वाग्मती नुहाई फर्की घर आई घरमा पूजा गर्न भनी लागेका मौकामा पूजा गर्नै नपाई वान (हावा) लागी हो वा केले हो, एक्कासी वेथाले छोपी आलस तालस भई उसैदिन दिउसो करीब १ बजे मरी छ. र गुठीयारहरू जम्मा भई मुर्दा उठाउन लागेका अवस्थामा क्रमैसँग पहिले खुट्टा, हात चली पछी पेट समेत तातो भई ताती, आँखा समेत खुली राम्रै चैतन्य भई बाँची, तहाँ उप्रान्त करीब ९ घण्टासम्म बाँची, अनी करीब रातको १० बजे सो बुढी एक्कासी मरीछ र मरेकि मर्र्‍यै भइछ !!!”


जय गोरखापत्र !


* यो लेख २०६७ सालमा लेखिएको हो। यसको शीर्षक फेरेर २०७७ साल भदौ १९ का दिन पुनर्लेखन गरिएको हो।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ