प्रकाशकीय: आदर्श लेखन शुरुवात
शुरुवात, उदघाटन, थालनी, प्रारम्भ भनेर हरेकपटक ब्लग रिन्यू गर्ने पैसा तिर्दा लेखिने नियमित स्तम्भ हो मेरो। र, यो पनि त्यसकै निरन्तरता हो। उहिले उहिले सत्ययुगमा चामलमा पानी धेर भएपनि, तरकारीमा नुन बढी भएपनि ब्लग लेख्न मन लाग्थ्यो। कसैले ट्विट लेख्दा पनि कसैले फोटो छाप्दा पनि ट्याँस्स ब्लगमा टाँस्न मन लाग्थ्यो। आजकाल त्यस्तो गर्न मन लाग्दैन। किनकी गीत नै छ, चालीस कटेसि रमाउँला।
अँ, अहिलेको मुल र नियमित कुरा- र, यो लेखिएको पनि तेस्रो वा चौथोपटक हुनुपर्छ, ईतिहास खोज्दा यही ब्लगमा नि भेटिएला- अब म ब्लग नियमित लेख्छु। लेख्न त लेख्ने तर के लेख्ने? मैले निर्णय गरेको छु- अब सानातिना कुरा नलेख्ने। अब अल्लारे कुरा नलेख्ने। अब बडा गहन कुरा, आदर्शका कुरा, अर्ति दिने कुरा लेख्ने। अब समाज बदल्ने कुरा, संस्कार बदल्ने कुरा लेख्ने। ओशोका जस्ता, सदगुरुका जस्ता, टेड टल्कका वक्ताहरुका जस्ता सफल हुने सुत्रका कुरा, खुशी हुने कुरा लेख्ने। सिधै भनौं न, अब गुरु बन्ने। अब तपाइँहरुलाई अन्धकारबाट उज्यालोतिरको यात्रा गराउने म।
तपाइँहरुलाई अर्ति पढ्न मन लागे, उपदेश सुन्न मन लागे मेरो ठेगाना खोज्ने, पलेँटी मारेर आँखा चम्काएर यता पढ्ने र आफ्नो ज्ञानको चक्षु खोल्ने। तपाइँहरुको प्रश्न हुन सक्छ- तँ को होस् र उपदेश दिने? संस्कार सिकाउने? मेरो जवाफ छ- म अनन्त हुँ, म सर्वव्यापी हुँ, म स्वयं महाभारत हुँ। म हली पनि हुँ, म ढाक्रे पनि हुँ, म रानीपोखरीको किनारमा रहेका टहरे जुत्तापसलको बाहिर बसेर डेन्ड्राइट तानिरहेको एउटा ड्रगिस्ट हुँ। अनि म रत्नपार्कबाट भोटाहिटी जाने पुलमा बसेर पकेटमारलाई सम्भावित ग्राहक चिनाउने गुरु हुँ। कटारीबाट नुनको ढाकर बोकेर ककरु खोलाको बालुवासँग लँडाइ जितेको सिपाही पनि हुँ, म महेन्द्र चोकमा गाँजा तानेर जोगबनी पुगेर खोकीको शिशासँग दोस्ती गर्ने दोस्त पनि हुँ।
समग्रमा म म हुँ। सत्य म हुँ, बाँकी सब मित्थ्या हो।
मैले के लेख्छु भन्ने कुराको सानो एक झलक हो यो। पृष्ठभूमि भन्नुस् वा भूमिका। म तपाइँहरुलाई यो मेरो ब्लग सब्स्क्राइब गर्नुस् पनि भन्दिनँ, न त शेयर गर्नुस् वा लाइक गर्नुस् नै भन्छु। किन गर्ने फोकटमा? तपाइँलाई आदेश दिने मान्छे हैन म। म त उपदेश र अर्ति दिने मान्छे हुँ। आदेश, उपदेश र अर्तिका बीचमा फरक छ नि ! लौ त त्यसै गरौं। बाँकी अर्को श्रृंखलामा 🙏
Comments
Post a Comment