आमा !
जमिनमुनि गुडिरहेको रेलको सुइय्याँसँगै
मोबाइलको स्क्रीनले भिडियो कलको संकेत गर्छ
तद्र्याङ्तुङ्ग्रुङ तार जोड्छु कानमा
र, थिच्छु हरियो बटन
अनि देख्छु, बुढी आमै आँखा पिलपिल पार्दै मुस्काइरहेकी
तुरुन्तै जवाफ फर्काउँछु
रेलमा छु, २ मिनेट पर्ख है आमै !
रेलको ढोका खुलेपछि मोबाइलको स्क्रीनमा दौडाउँछु औंलाहरु
घण्टी बज्न नपाउँदै उतापट्टि तिनै टिलपिल आँखा
त्यही भाव र त्यही मुस्कान
नबोलेरै धेरै बोलिरहेजस्तो
बोलेर पनि चुपचाप बसेजस्तो
संवादमा भन्दा भावमा धेरै प्रश्न
जवाफ नदिइकनै जवाफ पाइने अनगिन्ति प्रश्न !!
सबै प्रश्नहरुलाई अनुहारबाट लुकाउँदै
आमै सहज प्रश्न गर्छिन्,'सन्चै छस्? काममा हिँडेको?'
म अनुहारमा पढ्न सक्छु उनका प्रश्न
'दुब्लो देखिएको छस् नि!'
'खाना खाँदैनस्?'
'कपाल कस्तो जिङ्ग्रिङ्ग देखिएको !'
'कहिले आउँछस्?' आदि आदि !!!
गुनासो पनि गर्दिनन् उनी
'खर्च छैन, अलिकति खर्च पठाइदिन्छस् कि!'
बरु भन्छिन्, 'खर्च के कसरी चलाएका छौ?'
'भाडा तिर्न र खान त पुग्ला नि!'
ज्यान सुकाएर काम नगर्नू
आफ्नो ख्याल राख्नू
हाम्रो चिन्ता नगर्नू !!!!
उद्वेलित हुन्छु म भित्रभित्रै
रुमलिन्छु प्रश्नै प्रश्नमा;
सन्तानलाई मुताएर काखमा आफ्नो
छदाएर काँधमा आफ्नो
हगाएर हातमा आफ्नो
नघिनाउने
नरिसाउने
नझर्किने
नथाक्ने
यी आमा बनेकी छिन् कुन तत्वले ?
टाढा रहेका सन्तानको माया पनि बढी हुन्छ क्यार
मुजा परेका अनुहारका छाला तन्काएरै
हाँस्न खोजेजस्तो, खुशी देखिन खोजेजस्तो
धोखेबाज छन् तर ती आँखाहरु
ओठको मुस्कानलाई बगाउन बर्सिन्छन्
अहँ, र पनि छोपिन्नन् ती मुस्कानका रेखाहरु
कतै भटेिन्न शास्त्रमा
न त भेटिन्छन् कुनै शिलालेखमा
सन्तानलाई दु:ख नदेखाउन
भतभती पोलेको मुटु बोकेर पनि
आशुँले बगाउन नसक्ने मुस्कान ल्याउँछिन् आमाले कहाँबाट??
Comments
Post a Comment