अब म एउटा कार किन्छु !

अब म एउटा कार किन्छु

सुशासन दिने एउटा सरकार किन्छु !

झम्‌झम् बर्सेको झरी

[caption id="attachment_467" align="alignright" width="300"]स्केच साभार स्केच साभार[/caption]

झरीले रूझाएको एउटा शरीर

सडकमा हुइँकिएका सवारी

र फूटपाथमा थुप्रिएको फोहोरका बीच निथ्रुक्क म

सवारीको हुइँक्याइँले लपक्कै हिलोपानीमा मुछिएर

छेउमा सिठ्ठी फुक्दै गरेको सरकारलाई गुहार्छु

पानी पर्दा रेनकोट लाउनुपर्छ भन्ने थाहा छैन?- सरकार चिच्याउँछ

म भाग्यलाई सराप्छु, ओठ थरथराउँछु

अब म एउटा कार किन्छु

सुरक्षित फूटपाथ दिने एउटा सरकार किन्छु !!

नयाँ सडकको भीडबाट कच्याककुचुक्क थिचिएर

लामो स्वास तान्दै आकाशेपुलको सिँढी चढ्दै गर्दा

१० रुपियाँमा इअर बर्ड बेच्दै गरेका व्यापारी

नगरपालिकाको सिठ्ठी सुनेर हुत्तिँदै दौडिन्छ

मलाई कुममा एक ठक्कर हान्छ

म धरमरिँदै आकाशेपुलको बारमा समाउँछु

धन्न लडिएन ! आफैं काँध थपथपाउँछु

सडकमा कर्कश आवाज निकाल्दै

बत्तिरहेछ एउटा चिल्लो कार

म घुटुक्क थुक निल्छु, अनायस आवाज निस्किन्छ-

अहँ भएन, अब म एउटा कार किन्छु

यी कर्कशे आवाज बन्द गर्ने एउटा सरकार किन्छु !!!

लडाइँबाट हारेर फर्केको सिपाही झैं

थकित, मलिन र विरक्तिएको अनुहार लिएर

साँझमा बस चढ्न स्टेशन दौडिन्छु

मान्छे मान्छेको भीडमा थिचिँदै, किचिँदै र हुत्तिँदै

सग्लो शरीर बसभित्र छिर्न नपाउँदै

आवाज आउँछ- कि पछाडि सर्नुस्, नत्र झर्नुस्

म लपक्कै च्यापिन्छु, तुन्द्रुंग झुण्डिन्छु

लाग्छ- म कतै लगिँदैछु

मलाई काटेर बेचिन्छ टुक्राटुक्रा बनाएर

अनि मेरो शरीरका टुक्राबाट जम्मा भएको पैसा

थुक लाउँदै, मच्चिमच्चि गन्नेछ यो बसवालाले

अनि आकाशतिर फर्केर हाँस्नेछ एक अट्टहास हाँसो

म आत्तिन्छु, म तर्सिन्छु, म काम्छु, म चिच्याउँछु

पख् ! अब म एउटा कार किन्छु

सुरक्षित घर पुर्‍याउन सक्ने एउटा सरकार किन्छु !!!

 

Comments