प्रणयदिवस घोषणापत्र

'फेब्रेवरी' महिना प्रेमको महिना हो रे ! माया गर्ने फुर्सद नहुनेहरूले जे भने नि भयो। नत्र मान्छे थोडी कुकुर हो र, माया गर्न महिना कुर्नू ! कुकुरको पो कहिल्यै काम नि हुँदैन फुर्सद नि हुँदैन र कार्तिक महिनामा फुर्सद मिलाएर 'प्रणय दिवस' मनाउँछन्। मान्छेको सँधै काम, सँधै फुर्सद। त्यसैले सँधै प्रणय दिवस।

माया प्रेमलाई महिना वा दिनमा बाँध्नु जीवन जिउन नजान्नु हो। कल्पना गर्नुस् त, शेक्सपियरValentineले 'ब्ल्याक लेडी'लाई प्रेम गर्न फेब्रेवरी महिना पर्खेको भए अंग्रेजी साहित्यले १ सय ३७ वटा 'सनेट' पाउँथ्यो? उनले त हरेक दिन प्रेम गरे र 'ब्ल्याक लेडी'का बारेमा 'सनेट' लेखे। फेब्रेवरी महिनामा मात्र प्रेम गर्नुपरेको भए ताजमहल नै बन्दैनथ्यो। अरू ११ महिनाको 'नप्रेम'ले एकमहिने 'प्रेम' ध्वस्त हुनेथियो ;-)

आफू त त्यसै प्रेमिल मान्छे। हरेक दिन प्रेम गरिन्छ।  चेतनाका हिसाबले मानिस उत्कृष्ठ प्राणी हो भनेर पढेकै कुरो। त्यसो भए, माया गर्न किन महिना वा दिन कुर्ने? हरेक दिन यसरी माया गरौं कि भोलिपल्ट मरिँदैछ। त्यसैपनि मृत्यु अनिश्चित हुन्छ भनिन्छ। जसले जति ठूला कुरा गरेपनि भोलि बाँचिन्छ कि बाँचिदैन भन्ने ग्यारेन्टी हुँदैन। 

त्यसैले पनि माया गर्ने मान्छेलाई हरेक दिन नयाँ दिन र विशेष दिन। सबै प्रेम सच्चा र सबै प्रेम अमर। हाँसो लाग्दो कुरा, मान्छेहरू प्रेमलाई साँचो र झुटो भनेर विभाजित गर्छन्। जब झुटो हुन्छ भने त्यो प्रेम नै हुँदैन, त्यो केवल आकर्षण हुन्छ, क्षणिक शारीरिक आकर्षण। झुटमा प्रेम नै हुँदैन। त्यसैले 'झुटो' प्रेम र 'साँचो' प्रेम भनेर विभाजन गर्नुभन्दा आकर्षण हो कि प्रेम हो भनेर छुट्याउँदा राम्रो होला :P 

अर्को महत्वपुर्ण कुरा: कोही मान्छे मन पर्‍यो भने जुनबेला मन पर्‍यो त्यहीबेलादेखि काममा लागिहाल्ने। मन परेको मान्छेलाई मन पर्‍यो भन्न ११ महिना कुर्नुपर्छ भने कृपया कसैलाई मन नपराउनुस्। बेकारमा ज्यानलाई किन पीडा दिनु !

मान्नुस् कि तपाइँलाई कोही मान्छे मार्च महिनामा मन पर्‍यो भने 'फेब्रेवरी' आउँछ र प्रेम प्रस्ताव राख्छु भनेर पर्खिनुभयो भने तपाइँले प्रस्ताव गर्नेबेलासम्म तपाइँले मन पराएको मान्छेले छोरा/छोरीको फोटो फेसबुकमा अपलोड गरिसक्छ :D

प्रेमका बारेमा लेक्चर नदिई सबैले मानेको 'प्रणय दिवस' महिनाका लागि तीन बुँदे एउटा घोषणापत्र जारी गरिन्छ। (धेरै बुँदा हुने रै'छन्, तर यो एक महिनाका लागि बेकारमा किन लम्बेतान लेख्नु भनेर तीनवटा महत्वपुर्ण बुँदा मात्र लेखिएको जानकारी गराइन्छ।)

घोषणा नम्बर १: पछाडिबाट 'राम्री' देखिएकी मान्छेलाई अगाडि गएर नहेर्ने:

संसारमा बिरलै मान्छे भेटिन्छन् जसले पछाडिबाट 'राम्री' देखेकी मान्छेलाई अगाडि गएर हेरेपछि 'थुक्क ! बेकारमा अनुहार हेरिएछ' भनेर पछुताउनु नपरेको होस्। बरू कसलाई कतिपटक धोखा भएको छ भनेर हिसाब गर्न सकिएला। हरेकले दिनमा कतिपटक अनुहार हेरेर पछुताउनु परेको छ भन्ने अनुसन्धानको बिषय बन्ला बरू। त्यसैले अरू महिना जे गरे पनि 'प्रणय' महिनाभरि पछाडिबाट हेर्दा 'फुटेको मनको लड्डू'लाई पुन: जोड्ने प्रयास नगरिने घोषणा गरिन्छ।

घोषणा नम्बर २: पछाडिबाट देखिएको सर्लक्क परेको लामो कपालको भ्रममा नपर्ने: 

कुनै तथ्यांक संकलन नगरि गरिएको एक सर्वे अनुसार 'हीप' सम्म सर्लक्क झरेको कपाल भएका ९५ प्रतिशतको हेर्न हुने त्यही कपाल मात्र हुन्छ। जम्मा ५ प्रतिशतको लागि 'रिस्क्' लिने? हुनत जीवनका हरेक कदमहरू 'रिस्क्' नै हुन्छन्, तर यो प्रणय महिनामा कपाल देखेर प्रेमिल भएका आँखालाई किन धोखा ख्वाउने अगाडि गएर अनुहार हेरेर ;-) त्यसैले यो फेब्रेवरी महिनाभरि लामो र सर्लक्क परेको कपाल भएका 'राम्री'हरूको अनुहार हेर्ने प्रयास गरिने छैन।

घोषणापत्र नम्बर ३: जे छ नाममा छ :

नाम राम्रा भएका वा देखाउनुपर्ने ठाउँमा 'सिजनेवल' नाम ग्रहण गर्नेहरूबाट सकेसम्म टाढा बसेको राम्रो। तिनीहरू स्वभावैले चन्चले हुन्छन्। कुनै कुराको स्थायित्व नभएका। हुनत, कसैलाई 'सिजन' अनुसार नै काउली वा परवल खाने हो भन्ने पनि लाग्न सक्ला। तर काउली हुन्जेल परवललाई अप्सनमा नराखौं होला :P काउली नपाउने महिनामा विचार गरौंला तर यो प्रणय महिनाभरी 'सिजनेवल' नामधारीबाट तीन कोष टाढा रहिनेछ :)

(अँ, तपाइँहरूका केही थप कुरा छन् भने कमेन्टमा लेख्नुस्, पैसा लाग्दैन :P )

 

Comments

  1. कार्यान्वयनमा ल्याउन सके घोसणापत्र अच्छा छ |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ