भोक युद्ध !
सफलता सायद अभावमै जन्मिन्छ । भोकले नै सायद रचनात्मक बनाउँछ । जीवनलाई फर्केर हेर्दा याद आउँछ– त्यही चुहिएको घरको छानो, माटोको भुईंमा ओछ्याएको एउटा परालको गुन्द्री, ओढ्नलाई आमाको फाटेको सारी । नांगो शरीरमा गुन्द्रीको डाम छाम्दै रूँदा आमाले गाली गरेको कर्कश आवाज !
***
६ बर्षको थिएँ– बुवाले आमा, म र २ वर्षको भाइलाई घरमुनि बारीको एउटा गरो दिएर छुट्याएका । बाबुले त्यतिबेला हामीलाई आफ्ना सन्तान ठाने कि ठानेनन्, म ठ्याक्कै सम्झन्नँ तर आमालाई खुलेरै भनेका थिए, "आजदेखि तँ मेरी श्रीमती होइनस् ।" एउटा थाङ्नो, दुइटा चाँदीका थाल, एउटा पानी खाने लोटा र किटको कालो कराई दिएर आमालाई छुट्याउँदा बाले त्यही भनेका थिए ।
मेरा बाबुका दुइटी श्रीमती । मेरी आमा कान्छी । बाबु जमिन्दार पनि थिएनन् । हाम्रो घर भएको ठाउँमा मुश्किलले ५ पाथी कोदो फल्थ्यो । घरभन्दा अलि तलतिर बारीको एउटा पाटो थियो । एउटै भए पनि यो बारी राम्रो उब्जाउ हुने मानिन्थ्यो । तर, त्यो बारीको उब्जनीले मुश्किलले ३ महिना खान पुग्थ्यो । मैले देखेको मेरो बाबुको जग्गा त्यत्ति हो । पहाडमा एउटा ढुंगाले छाएको घर र त्यससँगै अर्को मतान । बाबु जेठी आमा, उनकी छोरी (ठुल्दिदी) र भाइसँग मूलघरमा बस्थे । म, मेरी दिदी, भाइ र आमा मतानको माथ्लो तलामा । बाबुको मुख्य पेसा फलाम पिट्ने हो ।
बाबुले हामीलाई त्यही मतानबाट पनि निकालेर कम उब्जाउ हुने एउटा बारी किनेर त्यहीँ बस्न आदेश दिए । मेरी आमाको मुख अलि छुच्चो थियो । आफू कान्छी श्रीमती भएर आए पनि श्रीमानबाट सौताले पाएको सम्मान र इज्जत नपाउँदाको पीडा आमाको मनमा गडेको हुनुपर्छ । अहिले सोच्दा लाग्छ- उनी त्यही डाह र छटपटी बक्थिन् र गाउँभरि चोथाले कहलाउँथिन् । गाउँलेहरू मेरी आमाकै दोष देख्थे । मेरा बाबु गाउँलेहरूके कोदालो र हसिँया बनाउँथे । मेरी आमा फलाम पिट्दिनथिन् । हामी सानै थियौं ।
झ्याईं-झ्याईं बिहे गरेकी जेठी आमाबाट एउटी छोरी जन्माइसकेका मेरा बाबुले दोस्री श्रीमतीका रूपमा मेरी आमा किन भित्र्याए ? मेरा लागि अहिलेसम्म अनुत्तरित प्रश्न यही हो । मलाई यतिसम्म चाहिँ थाहा छ, मेरी आमा जेठीभन्दा सुन्दर थिइन्, गाउँका अरू मान्छेले पनि त्यसै भन्थे । अहिलेसम्म मैले न त बाबु चिन्न सकेँ, न आमा । अब त आमा पनि बितिसकिन् । म उनलाई सोध्न सक्थेँ तर सोधिनँ । बाबुले 'आमा चोथाले छे, अब तैंले र भाइले राम्रो गर्नुपर्छ' भनेर पनि सम्झाउँथे । बाबुसँग अहिलेसम्म जेठी आमा हुँदाहुँदै किन मेरी आमा बिहे गर्यौ, बिहे गरेर ल्याएपछि हेला गरेर किन घरबाट निकाल्यौ भनेर मैले कहिल्यै सोधिनँ । उनले पनि कहिल्यै भनेनन् ।
***
आमाले जति गाली गरे पनि म बाबुको घरमै ढुकेर बस्थें, जतिबेलासम्म भात खाँदैनथे । अनि आमा तलबाट कराउँथिन्, "टेके, ओ टेके ! टेके कोर्या !!" छिमेकीहरू गाली गर्थे आमालाई । उनी एकोहोरो लागिरहन्थिन्, "ए भैगो त, तेरो बाउले नै खान दिने र’छ । तेरो त अर्को खुट्टो पनि भाँच्चिनुपर्ने ठनक्क भर ।" आफूलाई सम्झाउन खोज्ने छिमेकीलाई पनि बाँकी राख्दिनथिन् आमा, "माया लाग्नेले लगेर पाल्नू नि।"
कहिलेकाहीँ लाग्छ–– बाबुसँगको रिस आमाले म र भाइमै पोख्थिन् । दिदी अलि ठूली भइसकेकी थिइन् । उनी आमाको थप्पडबाट उम्किन दौडिन सक्थिन् र मुखमुखै लागेर झगडा गर्न पनि सक्थिन् । म त त्यसै पनि आरनमा पसेर बाँचेको घाइते । भाइ सानै थियो । म हातको थप्पड खाएर रून्थेँ, भाइ मसँगै रून्थ्यो र लात्ती खान्थ्यो ।
केही हुनेखाने छिमेकीहरूले पढ भनेर स्कुलसम्मै तानेर लगे । तर, उनीहरूले न त मेरो भोक देखे, न त पढ्न चाहिने न्यूनतम आवश्यकता नै पूरा गरिदिए । तैपनि सावाँ अक्षरसम्म चिन्न सकेकोमा गर्व लाग्छ । छिमेकमा श्राद्ध हुँदा दिनभरि ढुकेर भए पनि भात खान पाउने चाहना सँधै रहिरह्यो । खान दिएको भातभन्दा भातसँगै मिसिएर आउने शब्दहरूले जलाउँथे । भोक मेटिएपछि भात खाइसकेको जुठो टपरी त्यही घरको भित्तोमा फालेर बदला लिँदा आउने चरम आनन्दको हिसाबै छैन ।
***
गाउँमा नयाँ राजनैतिक चहलपहल सुरू भयो । हामीलाई श्राद्धेमा टपरीमा भात दिनेहरूको नयाँ नामाकरण भयो । उनीहरूलाई सामन्तको बिल्ला लाग्यो । हामी श्राद्धेमा जसका घरमा भात खान पुग्न सक्दैनथ्यौं, तिनीहरू हाम्रा मुक्तिदाता भएर आए । मुक्तिका नारा लागे । हामी भोकका लागि संघर्षरत थियौं । उनीहरूले पनि हाम्रो भोककै लागि लडेको बताए । गाउँ र हामी सबैको मुक्तिका लागि नयाँ नेता जन्माइए । हाम्रो मुक्तिका नेता भए गाउँकै सबैभन्दा ठूलो घरका हली ।
म, दिदी, भाइ जन्मेदेखि युद्धमै थियौं, छाक टार्ने युद्ध ! भोक मेटाउने युद्ध । निद्रा पुर्याउने युद्ध । अब साथमा थपिएको थियो अर्को युद्ध- मुक्ति युद्ध । हाम्रो भोक युद्धको नेतृत्व लिने नयाँ मुक्तिकामी योद्धाले श्राद्धेको टपरीको भात बहिष्कार गरे । भात बहिष्कारले फाइदा नयाँ नेतालाई नै भयो । उनले मात्र पाउने श्राद्धेको भात उनको परिवारलाई पुग्ने भयो । फलत: उनको हलीको जागिर स्थायी भयो । उनको जागिर अब हामीले खान नपाउने पक्का भयो । तर, हाम्रो युद्ध फेरिएन ।
***
हाम्रो अवस्था सुधारको गुञ्जायसै थिएन । भात र ओछ्यानकै संघर्षमा दिदीको बिहे भयो । ठुल्दिदीको बिहेमा डेढ सय जन्ती ख्वाएका हुन् बाबुले । १० जनामात्रै जन्ती ल्याएर भिनाजुले आँगनै पोलेर दिदी लगे । फलाम पिट्ने बाबुको ज्वाईं सुन पिट्ने परे । दिदीले सुख पाइन् तर माइती आउँदा उनले सुतेको ओछ्यान, उनले खाएको थाल, पकाउने भाँडो फेरिएन । उमेरसँगै भोक बढ्दै गयो । विकल्पका खोजी जारी रहे । भाइ र मैले काठको काम सिक्यौं । भोकै बस्यौं । दु:ख त जन्मेकै दिनदेखि गरेकै हो । त्यही दु:खमा थोरै मेहनत मिसायौं ।
अहिले हेर्छु– मेरो भाइ घरका झ्याल, ढोका, दराज, खाट बनाउने अब्बल मिस्त्री भएछ । म पनि सँगसँगै रहेछु । हाम्रा पछाडि लागेर मलाई नि काम देऊ न भन्दै मान्छे आउन थालेछन् । ख्वै, मेरी आमा भएकी भए यतिबेला के सोच्थिन् होला ! घरको बार्दलीमा बसेर बाबुको भत्किन लागेको घर हेर्दै सराप्थिन् कि काखी बजाउँथिन् होला?
अस्ति नयाँ मुक्तिकामी नेता आएर भने, "मेरो छोरालाई पनि काम सिकाइदेऊ है।"
मैले ‘हुन्छ’ भन्दाभन्दै नि सोधेँ, "दाजु, मुक्ति कतिलाई दिलायौ त ?"
उनी मुसुक्क हाँसेमात्रै । उनी कान कम सुन्न थालेछन् तर हली जागिर ज्युँका त्युँ छ ।
स्केच साभार: www.zawaj.com
Comments
Post a Comment