मैले हजुरको नुन खाएको छु सरकार !

२०६१ माघ १९ मा शासनसत्ता आफ्नो हातमा ल्याएपछि तत्कालिन राजा ज्ञानेन्द्रसँग नेपाल टेलिभिजनका महाप्रबन्धक दुर्गानाथ शर्माले नेपाल टेलिभिजनका लागि लिएको अन्तर्वार्ता सारै चर्चित भयो। चर्चाको कारण ज्ञानेन्द्रले के भने भन्नेमा भन्दा पनि उनले बोल्दा दुर्गानाथ शर्मालाई सम्बोधन गरेको 'दुर्गा' का कारण थियो। त्यतिबेला राजा ज्ञानेन्द्रले भनेको एउटा जवाफ सारै चर्चित रह्यो, 'बलिदान भन्ने कुरा दुर्गा माटोले माग्दैन, आफैले जानेर दिनुपर्छ।' यो भनाइलाई नेपाली सेनाले टपक्कै टिप्यो र 'माटोले माग्दैन' भन्ने टेलिभिजन कार्यक्रम नै बनायो।Gyanedra Shaha

विगत दुईचार दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको चर्चा खपिनसक्नुको छ। एकताका उनी विरूद्ध 'मुर्दावाद' नारा लाउनेहरू अहिले 'जिन्दावाद'का नारा लगाइरहेका छन्। तर यसपाला कारण ठ्याक्कै फरक छ। सुदूरपश्चिमका बाढीपीडितलाई हिमानी ट्रस्टको तर्फबाट राहत वितरण गर्न ज्ञानेन्द्र निस्किए। निर्वाचन आयोगले 'निर्वाचन आचारसंहिता लागू भइसकेकोले कुनै पनि संस्था वा व्यक्तिले राहत पनि वितरण गर्न नपाउने' निर्देशन दियो। अनि तुरून्तै भूपू प्रधानमन्त्री तथा नेपाली सुपरहिट फिल्म 'त्याग'का नायक बाबुराम भट्टराईको 'ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने' अभिव्यक्तिले सामाजिक सञ्जालदेखि मूलधारे पत्रिकाहरू खुबै ततायो।


बाराभ बोलेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष कमल थापा कुर्लिए, 'राजासँग मिल्नुपर्ने प्रस्ताव राख्ने नै बाराभ हुन्।' बडो रमाइलो भै'राछ। तर मेरो दिमागमा भने ठ्याक्कै यही सन्दर्भमा पत्रकार दुर्गानाथ शर्मा र पूर्वराजा ज्ञानेन्द्रलाई एकपटक आमनेसामने ल्याउन मन लाग्यो। प्रस्तुत छ पत्रकार दुर्गासँग पूर्वराजा ज्ञानेन्द्रको अन्तर्वार्ताको सम्पादित अंश:


दुर्गा: सरकार ! जनतालाई राहत बाँड्न सवारी होइबक्सिँदा निर्वाचन आयोगलाई किन टाउको दुखेको होला?
ज्ञानेन्द्र शाह: राहत भन्ने कुरा जनताले माग्ने हैन, सरकार आफैले जानेर दिनुपर्छ, दुर्गा। तर अहिले सरकारले आफूले राहत त दिएको छैन नै, हामीले बाँड्न लागेको राहतमा पनि रोक लगाउन खोजेको छ। यो मैले बुझिनँ दुर्गा। हेर दुर्गा, हाम्रा देशबासीले दु:ख पाउँदा हामीले निर्धक्क सहयोग गर्न पाउनु पर्छ। फेरि हामीसँग भएको अथाह सम्पतिको केही थोप्पा चुहाउँदा जनतालाई शीतल हुन्छ भने हामीले किन कञ्जुस्याईं गर्ने! बाढीले धेरै देशबासीको घरखेत बगाएको छ, खानलाई अन्न छैन। हाम्री युवराज्ञी हिमानीका नामको संस्थाले राहत दिने भन्यो। राहत हाम्रा देशबासीका हातमा पुग्ला नपुग्ला भनेर हामी आफै आएका हौं। हामी भोट किन्न आएका त हैनौं। यस्तो संवेदनशील कुरामा पनि रोक लगाउनु देशबासीका लागि दूर्भाग्य हो।King_Gyanendra_Interview
दुर्गा: निर्वाचन आयोगको निर्देशनको विपक्षमा जनता बोल्न थालेपछि एमाओवादीका नेता बाबुराम भट्टराईज्यू बोल्नु भएको छ। उहाँले त मौसुफलाई जेल हाल्नुपर्छ समेत भन्नुभयो। मौसूफको धारणा के छ?
ज्ञानेन्द्र शाह: मलाई अचम्म लाग्छ दुर्गा, बाबुरामजीको मसँग के दुश्मनी हो। हामीलाई दरबार छोड् भन्नुभयो, हामी चुपचाप राजगद्दी छोडेर आयौं। हामीले चाहेको भए रक्तपात गर्न सक्थ्यौं। सेना त हाम्रो हातमा थियो नि। हामी अहिले जनता भएका छौं र उहाँहरू नेता। अब जनताको रूपमा हामीले अरू जनतालाई किन सहयोग गर्न नपाउने ! हामीलाई जेल हाल्ने भन्नुहुन्छ, तर हामीले के गरेका छौं जेल जानलाई? बाबुरामजीले आत्मा साक्षी राखेर भन्नुहोस् त, उहाँले जनयुद्धका नाममा हाम्रा कति नेपाली दाजुभाइको हत्या गर्नुभएको छ। कति दिदीबहिनीका सिउँदो पुछिएका छन्। हाम्रो शासनकालमा देशबासीका पीडा सुनेर दुर्गा हामी रोएका छौं। हाम्रो मन सारै कोमल छ। हुनत दुर्गा हाम्री महारानीको नाम पनि कोमल नै हो। त्यसको प्रभावले पनि होला दुर्गा, हामी छातीमा हात राखेर भन्छौं, हाम्रो हृदय सारै कोमल छ।
दुर्गा: महाराज, हिजो मात्र मौसूफकै शासनकालका एक मन्त्री कमल थापाज्यूले बाबुरामले राजासँग मिल्नुपर्छ भन्ने प्रस्ताव राखेका थिए भन्नुभएको छ। मौसूफलाई यो बारेमा जानकारी थियो? कसको कमजोरीले त्यतिबेला मेलमिलाप हुन नसकेको होला सरकार !
ज्ञानेन्द्र शाह: तिमीलाई कस्तो लाग्छ दुर्गा, तर यी कमल भन्ने मान्छेको थर मात्रै थापा हो, कुरा चाहिँ केही थापा'का हुँदैनन्। हाम्रै शासनकालको कुरा गर्छु। यी थापालाई मन्त्री बनाएकै हौं। माओवादी पनि हाम्रा दाजुभाइ नै हुन्। बाटो बिराएका हाम्रा देशबासीलाई सही बाटोमा ल्याउनु हाम्रो कर्तव्य हो। यही मूलमन्त्र अनुसार काम गर्नू भनेरै यीनलाई मन्त्री बनाएका हौं। तर यिनी 'महाराजका पक्षमा जनमत छ। महाराजलाई कसैले छुन सक्दैन' भन्दै वक्तव्यबाजी गरेर बसे। हामीलाई त्यो बेला उहाँहरूले कस्तो प्रस्ताव राख्नुभयो भनेर सूचना पनि आएन। तिमीलाई के ढाँट्नु दुर्गा, तर यी थापा र गिरीहरूका सल्लाह र वक्तव्यबाजीले हाम्रा आँखामा पनि पट्टी लागेको थियो। हामी दाजुको अपूतालीमा मिलेको गद्दीमै अलमलियौं। हाम्रा दाजुको बंशविनाश पछि बाबुरामजीले हाम्रो विरोधमा नाम चलेको पत्रिकामा लेखै लेख्नुभयो। अहिले आएर यी थापा बाबुरामजीले मिल्ने प्रस्ताव राखेका थिए भन्छन्। हामीलाई के लाग्छ भने दुर्गा, यो सबै थापाकाजीको हाम्रो सहानुभूति बटुल्ने रणनीति हो।
दुर्गा: सरकार राहत वितरण गर्न अहिले सुदूर पश्चिम आइबक्सेको छ। जनताहरूको उत्साह कस्तो पाइबक्सेको छ?
ज्ञानेन्द्र शाह: तिमीलाई त थाहा छ नि दुर्गा, हामी एकदमै भावुक प्रकृतिका मानव हौं। देशबासीको दु:खले हाम्रो छाती चिरिन्छ। अहिले बाढीका कारण दु:ख पाएका हाम्रा देशबासीसँग आफ्नो साथ रहेको देखाउन पाउँदा हामीलाई आनन्द लागेको छ। देशबासीका गुनासा छन् राज्यसँग, नेतासँग। तर उहाँहरू त आउनुभएन। आउनुभयो तर हेलिकोप्टरमा उँडेर आउनुभयो, हेर्नुभयो र जानुभयो। तर हामी त देशबासीसँगै बसेका छौं। उनीहरूका दु:ख सुनेका छौं र सँगै बसेर रोएका छौं। हाम्रो साथ पाएर देशबासीहरू खुशी हुनुभएको छ। नढाँटी भन्दा दुर्गा, हामीलाई त यतै पाल टाँगेर बसौं जस्तो लागेको छ। तर तिमीलाई त थाहा छ नि दुर्गा, हाम्री महारानी कोमल छिन्।
दुर्गा: अन्त्यमा केही भनिबक्सिन्छ कि सरकार !
ज्ञानेन्द्र शाह: देशभरी यसैगरी बाढी पहिरो गइरह्यो र हामीले पनि २५ लाख, ५० लाख गर्दै करोड करोड राहत बाँड्न थाल्यौं भनें राजतन्त्र फर्केला त? तिमीलाई के लाग्छ दुर्गा?
दुर्गा: मैले हजुरको नुन खा'को छु सरकार ! :P


(नोट: यो ब्लग विशुद्ध मनोरञ्जनका लागि लेखिएको हो। यसमा सोधिएका प्रश्न उत्तर लेखक स्वयंका हुन् ;-)

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ