श्री खुर्सिदो उवाच

coollogo_com-29238904


अचानक राती चट्याङ् परेजस्तो आवाज सुनिन्छ। कालो बादल मडारिरहेकोजस्तो, ठूलै उथलपुथल हुन लागेजस्तो, छातीमा केही गह्रौं वस्तुले थिचेजस्तो। ऐठनले ऐं ऐं भएको देखि सीता माते जागा होइबक्स्यो। होटलको कोठामा छामछाम छुमछुम गरेपछि बिजुलीको स्वीच फेला पारिबक्स्यो। बत्तीको धिमा प्रकाशमा माताले स्वामीलाई हेरिबक्सनुभयो।



स्वामीजी उत्तानो परेर लडिबक्सेको थियो। जुँगा फर्फराउँदै निस्केको सासको झोंकाले सारा शहर उडाँउला जस्तो भान हुन्थ्यो। यसरी एकोहोरो हैं हैं गरिबक्सेको देखेपछि सीता मातेका निधारमा पनि चीट चीट पसिना आए। उहाँले बायाँ काखीको रौं दायाँ हातले उखेली बायाँ हातमा राखी थु थु गरि थुकिबक्सियो। त्यहाँबाट प्रचण्ड प्रतापी अजङ्गको जीव प्रकट भयो। कालो कपाल, चिपिक्क जेल लगाएर पछाडि जुल्फी फर्काएको, घोप्टे जुँगाधारी, कालो कोट र खैरो सर्ट लगाएको जीव हात जोडेर थरथर काम्दै बोल्दो भयो, 'हे माते, मलाई के उद्यमका लागि बोलाइबक्स्यो। आदेश गरिबक्स्योस्।'


मातेले अचम्मित मुद्रामा ओच्छयानमा पल्टिबक्सेका आफ्ना स्वामीतिर नयन लगाइबक्स्यो। स्वामी महाराज अझै पनि एकोहोरो हैं हैं गर्दै सिते सिते जपिरही बक्सेको देखिबक्सी आदेश बक्सिन्छ: 'हे सेवक ! मेरा स्वामी रातीदेखि अचानक निद्रैमा बहुराउने, कहिले उठ्ने र द्वार खोली बाहिर भाग्न खोज्ने, कहिले प्रभु प्रभु भन्दै निद्रैमा साष्टांग दण्डवत गरिबक्सने गरेर सुत्न सकिबक्सेको छैन। तिमी तुरून्त के कारण हो पत्ता लगाएर आऊ।'


तहाँ उप्रान्त उक्त प्रचण्ड जीव 'हवस् माते' भन्दै अन्तर्ध्यान हुँदो भयो। मातेले ओच्छ्यानको छेऊतिर आँखा डुलाइबक्सिँदा एउटा ठूलो ब्ल्याक लेबल लेखेको सिसी देखिबक्स्यो। यो के रहेछ भनी आँखा चिम्लेर हेर्दा बर्षौं जमिनमुनी मन्थेर उत्पादन भएको अमृत भन्ने पत्ता लगाइबक्स्यो। 'ओहो ! अमृत यहीं टेबलमै रहेछ, त्यो सेवक त बोलाउनै पर्थेन' भन्ने सम्झि अर्को टेबलबाट गिलास ल्याई उक्त अमृत गिलासमा खन्याइबक्सियो। स्वामीका छातीबाट दुवै हात हटाई जुँगा मुसारी माथिल्लो ओठ थोरै खोली थोरै अमृत पिलाइबक्स्यो। अमृतधारा उहाँको जिब्रो र घाँटी हुँदै पेटमा पुगेपछि स्वामी महाराज उठीबक्स्यो।


अमृतका केही धाराले नै काम गरेको देखेपछि सीता माते सोधिबक्सन्छ, 'हे स्वामी ! हिजो आरामै सुतिबक्सेको हजुर अचानक के भयो?' दुईटै कुम थुचुक थुचुक उचाल्दै स्वामी महाराज हुकुम हुन्छ, 'हे माते ! तिमीलाई म कसरी भनौं। भन्दा पनि तिमीले विश्वाश नगरौली, नभनौं भने पनि तिमी रिसाउली भन्ने डर।' स्वामीको हात आफ्ना हातले समाउँदै माते बोलिबक्स्यो, ' हे स्वामी ! हजुरको अवस्था देखेर मेरो जिउ आधा भएको छ। हजुर सडकमै अप्सरासँग नाच्दा त नरिसाएकी म अरू कुरामा कसरी रिसाउँदी हुँ। म त हजुरकी अर्धाङ्गिनी हुँ। बेफिकर हुकुम मर्जी होस्।'


घोप्टे जुँगामा ताउ लाउँदै आफ्ना दायाँ बायाँ कुम केही उचाल्दै स्वामी भन्नुहुन्छ, 'हे माते ! आज सपनामा मैले साक्षात परमेश्वरका पनि परमेश्वर, प्रभुका पनि प्रभु महाप्रभु श्री खुर्सिदेश्वर महाराज हाम्रो शहरमा पदार्पण गर्दै होइबक्सन्छ रे। दर्शन गर्न इच्छा भए तुरून्त आउनु भनी आदेश बक्सेको छ।' उहाँ कस्ता हुनुन्छ भने, आफ्नै विमान लिएर जुनसुकै बेला हाम्रो बेडरूममा प्रवेश गर्नसक्ने, जोसुकैको टाउका पनि हात राखेको भरमा एकैछिनमा राजा र एकैछिनमा पत्रु बनाउन सक्ने, एक आदेशका भरमा कुर्सीमा राख्न र हाई काढ्दा कुर्सीबाट झार्न सक्ने शक्ति हुनुभएका यस्ता महाशक्तिशाली प्रभुको हजार जिब्रा भएका शेषनागले बयान गर्न सक्दैनन् भने म नाथेले कसरी सकौंला।


स्वामीका मुखारविन्दवाट यस्ता महान शक्तिशाली साक्षात प्रभुको बयान एकचित्त भएर सुनिरहँदा अघि हावाको वेगमा बाहिर गएको दूत हावाकै वेगमा स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै प्रकट हुँदो भयो। थरथर काम्दै आधा धनुष्टंकार बनेर दूत बोल्दो भयो, 'हे माते ! हे स्वामी ! हाम्रो दरबारको दक्षिणदिशाबाट शीरमा कालो बादल बोकेर, इन्द्रेणी रंगलाई पेटभित्र खाई महाशक्ति स्वरूपा श्री गान्धिदेवीका दूत श्री खुर्सिददेव शहरमा भोलि बिहानै प्रवेश गरिबक्सँदै छ। सो समयमा शहरमा नभए र उहाँको साक्षात दर्शन नगरे दानापानी बन्द गरिदिने हुकुम गरिबक्सेको छ। म सोझै त्यहाँ पुगेर आएको हुँ। हजुरको जो हुकुम।'


दूत डराएको र उसको बयानबाट प्रभुको सास बढ्दो भयो। मातेका काखमा सुँक्क सुँक्क गर्दै स्वामीजी हुकुम हुन्छ, 'हे माते ! तिम्रो देहमा आराम छैन। तिमीलाई बुटी खुवाउन आएको म प्रभुको दर्शन बेगर कसरी बाचुँला। प्रभुको आदेश बेगर एउटा घामको प्रकाशसमेत भेटिने छैन। म तिमीलाई कहाँको प्रकाश ल्याएर राखौंला। म के गरौं।'


आफ्ना स्वामीको बिग्रँदो अवस्थादेखि चिन्तित माते हुकुम बक्सन्छ, 'हे स्वामी ! हजुर नै नभए म कसरी बाचुँ। हजुरले दिएको प्रकाशको सहारामा त जिइरहेकी छु। हजुर त कैले कुन अप्सरा, कहिले कुन सुन्दरीसँग नाच्दै हिँडिबक्सिन्छ। मेरो सहारा हजुरले दिएको प्रकाशको किरण न हो। अहिले त प्रकाशको पनि किरण हराएजस्तो फिक्का फिक्का छ। बरू म दु:ख सहुँला तर हजुरको यो अवस्था देख्न सक्दिनँ।'


स्वामीले दूततिर हेर्दै दाहिँने आँखा झिमिक्क झिम्क्याउँदै 'विमानको व्यवस्था गर' भन्ने इशारा बक्सियो। दूत 'हवस् मालिक' ईशारा गर्दै त्यहाँबाट अन्तर्ध्यान हुँदो भयो। तहाँ उप्रान्त स्वामी र माते गिलासमा रहेको अमृत पान गर्दै स्नानका लागि नुहाउने कोठा छिरिबक्स्यो। माते लजाएको देखेर स्वामी हुकुम बक्सिन्छ, 'हे माते ! यसरी नलजाऊ, अब हाम्रा दु:खका दिन गए। साक्षात महाशक्ति स्वरूपाले हामीमाथि कृपादृष्टि बक्सेको छ। हामीमाथि किरण नभएपनि प्रकाशको उज्यालो रहने छ।' यतिभन्दै दुवैजना स्नान गरी, शरीरमा नानाथरीका आभुषण र अत्तर दली बिहानै पुष्पक विमान चढी दरबार फिर्ती बक्सिँदा भया !


ईति श्री सिंगापुरखण्डे श्री सिता माते तथा भुपति स्वामी श्री खुर्सिदोदेव दर्शनार्थ नेपाल प्रस्थान अध्याय समाप्त !


Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ