बाबु छोरा: संस्कारको कुरो
एकपटक बिबिसीका बंगलादेश करेस्पोण्डेन्टसँग काम गर्दा उनले भनेको एउटा कुरा "As a journalist you Should be very attentive and clever to know what's happening around you either you are in duty or outside" ले मेरो दिमागमा गहिरो छाप पारेको छ। उनीसँग रिपोर्टिङ् गर्दै गर्दा एउटा घटनामा मेरो लापर्बाहीले सोचेको जस्तो काम नभएपछि आधा घण्टा लामो 'प्रवचन' सुन्नु परेको कसरी बिर्सिन सक्छु र! त्यसैले पनि बाटोमा हिँड्दा आँखाहरू वरीपरीका घटनाहरूका बारे चनाखा रहन्छन्। मेरो छेउछाउबाट हिँड्ने, गाडीमा यात्रा गर्ने यात्रुहरूलाई पढ्ने प्रयास गर्छु।
एउटा घटना: साँझ ७ बजेको समय। सुकेधाराबाट कोठातिर आउने क्रममा मेरो अगाडि अगाडि हिँडिरहेका बाउ छोरामा मेरो आँखा पर्यो। यी दुई बाउ छोराको क्रियाकलापले मलाई उनीहरूतिर तान्न सफल भयो। बाबुको उमेर त्यस्तै ४०-४५ को आसपास हुँदो हो, छोरा चाहिँ अन्दाजी १० बर्षका। बाबु खुट्टा सोचेको ठाउँमा टेक्क नसक्ने गरी मातेका। छोराले हात समातेर डोहोर्याई रहेका।
मलाई दुईजनाको सम्वाद सुन्ने लालसा भयो। उनीहरूको छेउबाटै सँगसँगै हिँडें। थाहा पाएँ, बाबुलाई पिशाबले च्यापेर आपत परेको रै'छ। एकातिर रक्सीको मात अर्कोतिर पिशाबथैली भरिनुको पीडा। उनको मनोदशा बुझ्न कठिन भएन। खाली चौर, दुई घरबीचको खाली ठाउँ जे जे देखिन्थ्यो बाबु साइड लागेर पेन्टको चेन खोल्न खोज्थे, छोराले फेरि तानेर हिँडाउथे। रक्सीको मातमा लठ्ठ भएपनि बाबुले छोरोलाई गाली गरेनन् बरू उसको कुरा सुन्दै छोराले डोर्याएको बाटो हिँडिरहे। छोराले भन्थे- 'ह्या, मान्छेहरू हिँडिरहेका छन्, के भन्छन् देखेर।'
म कोठामा आइपुगुञ्जेल बिचरा बाबु पेन्ट समातेरै हिँडिरहे, यद्यपी उनको बाटोमा पिशाब गर्ने प्रयास जारी थियो। सायद पेन्टमै अलिअलि त चुहाए होलान् :P संसारको सबैभन्दा सुख नै पिशाबले अत्याधिक च्यापेको बेला पिशाब गर्न पाउँदा हुन्छ रे। तर यी बाबुले चरम सुख प्राप्तिमा रोक लगाउने छोरालाई उनले गाली गरेनन्, चुपचाप सहेर हिँडिरहे। उता छोरा भने उनलाई सान्त्वना दिइरहेका थिए, 'एकछिन दु:ख गर्नुस्।' बाटोमा हिँड्दै गर्दा बाबुछोरा एकअर्काको हात समातेर हिँड्थे। बाबु स्कूलको हालखबर सोध्थे, छोरो बयान गर्थ्यो।
अर्को घटना: बिहान ९ बजे। अफिस जाँदै थिएँ। तीनकुनेमा केही मानिसहरू झुम्मिएको देखेँ। मानिसको भीडको बिचमा ५ जना ट्राफिक प्रहरी र साथमा एउटा मोटरबाइक। 'लौ, दूर्घटना भएछ' भन्ने सोचेर छेउमा गएँ र वास्तविक कुरा बुझ्ने कोशिश गरेँ। 'जथाभावी रूपमा बाइक चलाएकोले' भनेर ट्राफिकले बाइक समातेर लाइसेन्स, ब्लुबुक र चाबी खोसेछ। बाइक चलाउँदा चलाउँदै अचानक हेलमेट खसेपछि ट्राफिकले बाइक समातेको थाहा भयो। छोराले चलाएको बाइकको पछाडि बसेका बाबुले आफ्नो इमानमा धक्का लागेको महशुश गरेको प्रष्टै देखियो। उनले ट्राउजरको पकेटबाट फोन निकाले र सायद कुनै 'टाउके'लाई फोन गरे। फोनमा घटना बयान गरिसकेपछि उनले फोन बाइक समाउने ट्राफिकतिर बढाउँदै भने, 'याँ फोनमा कुरा गर्नुस्।' चेकिङ्मा जम्बो टोलीसहित बसेका ट्राफिकका इन्सपेक्टरले फोन नसमाई जवाफ दिए, 'म फोनमा कुरा गर्दिनँ, बाइक लिन अफिस आउनुस्।' उनले अर्का ट्राफिक जवानलाई अफिसमा लगेर के के गर्ने भन्ने आदेश दिएर बाइक लिएर पठाए।
यो घटनामा मलाई बाबुछोराको व्यवहार हेर्न मन थियो। अन्दाजी २२ बर्षको छोरा र बाबु ४५ आसपासका। बाबुको लवाई र उनको कुरागर्ने शैली हेर्दा उनी सायद ठेकदार थिए। छोरो चाहिँ बाबुको पैसा खर्च गर्ने लक्का जवान। बाबु घटनास्थलबाट थोरै पर्तिर बसेर 'माथि' फोन गरिरहन्थे, यता छोरो ट्राफिकसँग घम्साघम्सी गर्थ्यो । ट्राफिकले उसको कुरा नमानेपछि तुरून्त बाबु भएठाउँ पुग्थ्यो, घटना बयान गर्थ्यो र फेरि ट्राफिकसँग जुध्न जान्थ्यो। यहाँ न त बाबुले छोरालाई ट्राफिकसँग नजुध्न अराउँथे न त छोरो नै बाबुलाई ट्राफिकसँग जुध्न साथ माग्थ्यो। दुबैजना आफ्नै तरिकाले घटनासँग जुधिरहेका थिए।
म एकछिन रमिता हेरेर अफिसतिर लाग्दै थिएँ। मेरो कानमा गुञ्जियो, 'साला, पैसा खान खोजेको। भ्रष्ट मु** ट्राफिक। ब्यानै अड्डा जमाएर बस्छ।' मैले पुलुक्क फर्केर हेरेँ। बाबुले ट्राफिकतिर फर्किएर छोरालाई सुनाउँदै थिए।
यो मोडर्न बाबु छोराको कथा हो रहेछ. मन पर्यो हजुर
ReplyDeleteधन्यवाद हजुर :)
ReplyDeleteThanks for nice words :)
ReplyDelete