एउटा अन्त्य !

०६७ सालको मंसिर महिना ! समय दिनको ३ बजे !! स्थान: काठमाडौं उपत्यकाको कुनै एउटा निजीसंस्था।


अशोक अफिसमा कुनै किताबको सम्पादन गर्दै थियो। फोनमा आँखा पर्‍यो, ‘झरना कलिङ्...’।


‘हेलो... सुनन... उनीहरूले सबै कुरा घरमा भनिदिए। मलाई टेन्सन भो। मैले के भनम् अब?’ झरनाको रूञ्चे स्वर। ‘हँ, के के भने रे? कसले भनेछ?’ अशोकको जिज्ञासा। 1329559321_Tragic-love-story


‘मलाई के था’ त ! ममीले फोन गर्नुभएको थियो। मैले गाली खाएँ। तिमी तुरून्त वानेश्वर आऊ।‘ रीस र आदेश सँगै। अफिसको काम त्यसै छोडेर अशोक वानेश्वर चोकतिर हुईँकियो।


****


दुई बर्ष अघि अशोकको भेट झरनासँग भएको थियो। कान्तिपुर कम्लेक्सको बाहिर गेटमा। अशोक आफ्नी प्रेमिका तृष्णालाई भेटन जाँदा उनीसँगै आएकी थिइन् झरना। कालो हाफ-पेन्ट र पिंक टिसर्टमा तृष्णासँगै उभिएकी झरनालाई देखेर अशोक त्यसै टोलाएको थियो। अशोक टोलाएको देखेर तृष्णाले हाँस्दै चिनाएकी थिइन्, ‘मेरी दिदी, झरना।‘ ‘नमस्कार !’ अशोकले प्रेमिकाको दिदीलाई सम्मान त दियो तर मन एकोहोरिएको थियो। झरना तृष्णाकी फुपूकी छोरी। मामाघरमै बसेर ‌बिबिएस पढ्दै थिईन्।


एकाध घण्टा चिया पसलमा बसेर गफ गरेपछि तीनजना छुट्टिए। साँझ अशोकले तृष्णालाई फोन गर्‍यो। ‘सुनन, तिम्री दिदी मलाई साह्रै मन पर्‍यो।‘ अशोकले मन थाम्न सकेन। दिदीको राम्रो हुन्छ भने तृष्णाले भनिन्, ‘मलाई जसरी नखेलाउने र बिहे नै गर्ने हो भने म कुरा गर्छु।‘ ‘पक्का’ अशोकले विश्वाश दिलायो। तृष्णाले झरना र अशोकलाई भेटाई। कुराकानी भयो। फोन नम्बर साटासाट भयो। एक हप्तामै स्थिति यस्तो भयो कि झरना र अशोकले तृष्णालाई जानकारी नदिई भेटघाट गर्न थाले। र, अन्त्यमा आफू बिचको कुनै पनि कुरा तृष्णासँग शेयर गर्न छोडे।


१५ औं दिन अशोकले झरनालाई प्रेम प्रस्ताव राख्यो र दुई बर्षभित्र बिहे गर्ने समझदारी पनि भयो। उता अशोक भने झरनाको आँखा छल्दै तृष्णालाई नि भेट्दै थियो। दुईजनाको घनिष्ठता कम भएको थिएन। तेस्रो महिना तृष्णाले अर्कै केटासँग बिहे गरी।


****


अशोककै पहलमा घरपरिवारको स्वीकृतिबेगरनै झरना गौशालाको एउटा अफिसमा काम गर्न थालेकी थिई। सानै उमेरमा बाबु गुमाएकी झरना विरगञ्जबाट काठमाडौंमा मामाघरमा बसेर पढ्दै थिई। विरगञ्जमा ममी मात्रै बस्नुहुन्थ्यो। ‘मेरो कर्म पनि गज्जपकै है’ झरना भन्थिन्, ‘वीरगञ्ज जन्मेर बिहे भएर विराटनगर पुग्ने भएँ।‘ उनी हाँस्थिन्। एकदिन उनले गौशालामा कुनै ज्योतिषिलाई देखाइन्। ‘तपाईंहरूको जोडी खुबै राम्रो हुन्छ। जिन्दगी सुखसयलमा बित्छ’, ज्योतिषिले भनेको कुरा सुनाउँदा झरनाका आँखा खुशीले चम्केका थिए। अशोक एउटा निजी प्रकाशन गृहको कामदार। उसको तलब पनि सामान्य थियो। झरनालाई अशोकसँगको साथमा तगारो लाग्ने उनको काकाको छोरा थिए, जसको घरमा उनका आफ्नै दाइ बसेर पढ्दै थिए। काकाका छोरा अशोक काम गर्ने संस्थाकै मालिकको अर्को संस्थाका मेनेजर। अशोक र उनको दाइको भेटघाट र चिनजान पनि थियो। झरनालाई सँधै लाग्थ्यो, ‘सबै कुरा गर्ने दाइले हो। मलाई थाहा छ, दाइले मान्नुहुन्न।‘ अशोक आफ्नो पहुँचको हवाला दिँदै भन्थ्यो, ‘तिम्रो दाइको चाबी मेरो हातमा छ। मैले त्यो चाबी प्रयोग गरेँ भने तिम्रो दाइ त केही नि होइनन्।‘


****


अशोक लञ्चको लागि कोठा पुगेको थियो। झरनाले फोन गरिन् ‘ओई, मलाई हेर्न आउन लागेको केटो भोजपूरकै घिमिरे रहेछ नि !’ अशोकको पुर्ख्यौली घर भोजपुर थियो त्यसमाथि घिमिरे नै। अशोक अवाक् भयो। ‘नाम के रहेछ? के मा काम गर्ने?’ ‘सन्देश घिमिरे। विदेशीको सहयोगमा एउटा स्कूल चलाउँछ रे !’ झरनाको जवाफले अशोक झन् चकित पर्‍यो। उनले भनेको केटो अशोकको आफ्नै ठूलीआमा (आमाकी दिदी)को नाती थियो। ‘लौ होर? ल तिमी चिन्ता नगर त्यसो भए। म कुरा गर्छु।‘ अशोकले विश्वाश दिलायो।


‘हेलो... भाउजू, नमस्कार !’


‘नमस्कार बाबु ! सञ्चै हुनुन्छ?’


‘अँ भाउजू। अनि के हो सुटुक सुटुक छ त सबै कुरा। सन्देशको लागि केटी हेर्न जाँदै हुनुहुँदो रै’छ। केही सोधपुछै छैन त? के सार्रो हो भाउजू।‘


अशोकले सन्देशलाई फोन गर्दा उसको मोबाइल स्वीच अफ भएपछि सन्देशकी ममी (अशोककी भाउजू)लाई फोन गरेको थियो।


‘अँ, हेर्नु न ! जिद्दी गरेका गर्‍यै छन्। चिनेको पनि छैन, कस्ती केटी हो, कस्तो घर हो? केही थाहा नै छैन।‘


‘भाउजू, केटी राम्री छ, घर पनि राम्रो छ। मैले चिनेकी केटी हो।‘


‘ए हो र? ल गज्जप भयो नि त। हामीलाई चिन्ता लागिरा’थ्यो। अब बाबुले चिनेको हो भने त राम्रो भयो। सन्देशको लागि ठीक हुन्छे त केटी?’


‘केटी त ठीक छे भाउजू। तर सन्देशले त्यो केटीसँग बिहे गर्दा अलि अप्ठ्यारो होला। हुनत मेरो त्यस्तो खासै सम्बन्ध त हैन, तर पनि मलाई अलि अप्ठ्यारो हुन्छ। फेरि हामी त एउटै घरका मान्छे।‘


‘ल, मैले कुरो बुझेँ बाबु। हामी केटी हेर्नै जाँदैनौं। अहिले बिहे नगर्ने भन्दिम्ला।‘


‘हुन्छ भाउजू, तर मेरो र उसको सम्बन्धको बारेमा थाहा नहोस्।‘


अशोकले भाउजूसँगको सबै संवाद झरनालाई भन्यो। झरना अफिसमै थिइन्। अशोकले मामाघरबाट फोन नआउञ्जेल अफिसमै बस्न अह्रायो र सन्देश तिमीलाई हेर्न नआउने बिश्वाश पनि दिलायो। खाना खायो र अफिस गयो।


****


वानेश्वर चोकमा झरना पर्खिरहेकी थिईन्। उनको अनुहारभरी चिन्ताका रेखाहरू दौडिरहेका थिए। हतास र अत्तालिएकी थिइन्। साँच्चै भन्दा उनी रोइरहेकी थिइन्। अशोक उनको छेऊमा गयो। हात समात्यो र डोर्‍याउँदै शंखमूलतिर लिएर गयो। अशोकले भाउजूसँग फोनमा कुरा गर्ने बित्तिकै भाउजूले दाजुलाई, दाजुले सन्देशलाई खबर पुर्‍याउनु भयो। सन्देशले झरनाको मामाघरमा फोन गरेर भनेछ, ‘म त्यो केटीसँग बिहे गर्दिनँ। झरना त मेरो अंकलकी गर्लफ्रेण्ड पो रहिछे त।‘ परेन अब पसाद !!


अशोक र झरना शंखमूलको पुलमुनीबाट खोलैखोला हिँडिरहेका थिए। अशोकको मोबाइलमा घण्टी बज्यो... ‘तृष्णा कलिङ...’ भेट्नु गाली भेट्यो अशोकले तृष्णाको मुखबाट। ‘मेरो परिवारको बेइज्जत गर्ने, तँ आवारा। मेरा बाउ आमाको आँशुले सराप्छ तँलाई,’ कुनैबेलाको प्रेमीलाई सम्झाउँदै थिई तृष्णा। अशोक बिचरा के बोलोस्। चुपचाप सुनिरह्यो। तुरून्तै झरनाको फोन बज्यो, ‘ममी कलिङ्...’


अशोकले झरनाको फोन लियो र कुरा गर्न थाल्यो, ‘ममी, सन्देशले त्यस्तो नभन्नु पर्ने थियो। जे हुनु भइगयो। म र झरना आफैले भन्नु पर्ने अर्कोको मुखबाट सुन्नुभयो तपाईंले। चिन्ता नगर्नु।‘ फोनमै लामो छलफल चल्यो। झरनाको ममीले अशोकलाई आफ्नो पारिवारीक परिवेशदेखि समाजमा पर्ने अप्ठेरा सबै भन्नुभयो। अन्त्यमा अर्को साल (२०६९) मंसीरमा बिहे गर्ने सहमतिमा फोन संवाद टुंगियो।


अशोक र झरना सँगै मामाघर गए। अशोकले झरनाकी ममीसँग भएको संवाद सबै सुनायो। अनि सन्देशभन्दा झरनाका लागि आफू योग्य केटा भएको जिकिर गर्दै घटनालाई सामसुम पार्‍यो। मामाघरमै बेलुकीको खाना खाएर अशोक कोठा फर्कियो।


****


२०६८ असारको एक बिहान। समय: ६:२५, स्थान अशोकको कोठा।


अशोक सुतिरहेको थियो। फोन बज्यो। अशोकले फोन रिसिभ गर्‍यो। ‘हेलो, अशोक बोलेको हो?’ केटीको आवाज।


‘हो, तपाईं को बोल्नुभएको?’


‘म झरनाको साथी। आज झरनाको टिकोटालो हुँदैछ। प्लिज एकपटक झरनालाई फोन गर्नु अहिल्यै।‘


अशोकले बेलुका सुत्नु अगाडि झरनासँग फोनमा कुरा गरेको थियो। झरनाले यो बारेमा केही बताएकी थिइन। तद्रामै कल्ले ब्लफ हान्यो भन्ने सोच्यो उसले।


‘ह्या...’ भन्दै फोन काटेर ऊ चुपचाप सुत्यो। ९ बजेतिर उठ्यो। उठ्दा बिहानको फोन संवाद बिर्सिसकेको थियो। खाना खायो र अफिस गयो। दिनभरी अफिसकै काममा व्यस्त। न त झरनाको फोन आयो, न त उसले नै झरनालाई फोन गर्‍यो। हरेक दिन फोनमा कुरा गर्नैपर्ने दुवैले आज फोनमा कुरा गरेका थिएनन्। साँझ अफिसबाट फर्किँदै गर्दा अशोकले बिहानको फोन सम्झ्यो। दिनभरी पोन नआएको पनि याद आयो। उसको मनमा चिसो पस्यो, ‘पक्का ल, केटीको टिकोटालो भयो।‘


कोठा पुग्यो र सबै वृतान्त साथीलाई सुनायो। फोन गरौं नउठाउली वा उठाए पनि होइन भन्ली। अशोक र साथी मिलेर साथीकी बहिनीलाई फोन गर्न लगाउने सल्लाह भयो। झरना र बहिनी दूवैको चिनजान थियो। बहिनीको फोनबाट झरनालाई गयो। फोन लाउडस्पीकरमा राखेर कुरा गर्ने सहमति थियो।


‘हेलो... दिदी कहाँ हुनुन्छ? म सलिना बोलेको’


‘ए, के छ हालखबर? म त घरमा।‘


‘काँ घरमा? काठमाडौं कि वीरगञ्ज?’


‘अँ.... अँ... काठमा........ अँ हिजो वीरगञ्ज आ’को छु।‘


अशोक सोफामा बसिरहेको थियो। अशोकले साथीलाई हेर्‍यो, साथीले अशोकलाई। सलिना पनि तितो हाँसो हाँसिन्।


‘अनि के के कुरा सुनिन्छ त? के कुरा हो?’


‘अँ.... त्यस्तै भयो।‘


‘आम्मईं, के भन्नुभ’को? त्यस्तो नि हुन्छ? आइ कान्ट टक टु यु, प्लिज टक टु ब्रदर।‘


थाहा भएअनुसार झरनाको बिहे ०६८ असारको २७ गते भयो। तर उनले र उनकी ममीले अशोकलाई बिहेको मिति २९ गते बताएका थिए। तृष्णाका अनुसार बिहे पछि झरनाले पढाई पनि छोडी। अहिले बच्चा जन्मिने बेला भएको छ। अशोकले सम्झियो, उसँग झरनाले भनेकी थिई, ‘बिहे जहिले गरे पढाई छोड्दिनँ। कम्तीमा एमबिएस पास नगरी बच्चा नजन्माउने।‘ अहिले अशोक र झरनाको पतिको अफिस ठ्याक्क बाटोवारी र बाटोपारी छ। अशोकलाई आश छ, एकदिन झरनाको पतिसँग कुनै सेकुवा वा भट्टीपसलमा भेट हुन्छ र अशोकले आफ्नी भूपु प्रेमिकाको बयान गर्नेछ उसँगै J किनकी मान्छेको जिवनको संयोग स्वयम् मान्छेलाई थाहा हुँदैन।


Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ