जब आमाको ममता छल्किन्छ !!

हप्ताभरी यता कुद्यो उता कुद्यो व्यस्त भइन्छ- काम होस् या नहोस्। बल्ल एकदिन शनिवार बिदा हुन्छ अनि सोचिन्छ- सुतेरै खुशी होऊँ कि खुशी खोज्न सडक डुलौं! हाम्रै सडकहरूमा सुख र दु:ख, हाँसो र वेदना छरपस्टै भेटिन्छन्। दु:ख र वेदनामा खुशी खोज्ने कि सुख र हाँसोमा वेदना खोज्ने हाम्रै जिम्मामा! अर्काको हाँसोमा आफ्नो खुशी खोज्ने कि अर्काको आँशुमा आफ्नो खुशी खोज्ने त्यो पनि आफ्नै जिम्मा :)

[caption id="attachment_77" align="alignleft" width="320"]असहाय तथा अपाङ्ग केन्द्र, भैंसेपाटी। Photo: TFC Blog असहाय तथा अपाङ्ग केन्द्र, भैंसेपाटी। Photo: TFC Blog[/caption]

शनिबार बिहान साँच्चै सुखद रह्यो। आमाको ममता कति निस्वार्थ हुँदोरहेछ। हाम्रा खुशीका बाटाहरू, आत्मसन्तुष्टिका भावहरू पिडा र वेदनाहरूलाई छिचोल्दै कसरी प्रकट हुँदा रहेछन् भन्ने प्रत्यक्ष हेर्न पाएर पनि होला सँधै ९ बजेसम्म सुत्ने मलाई ७ बजे नै उठेर पनि सन्तुष्टि मिलेको थियो। कोही सेवामा स्वार्थ देख्छन् अनि कोही स्वार्थ नै सेवालाई बनाउँछन्। एकै ठाउँमा भिन्न मान्छे, एउटै काममा भिन्न स्वार्थ।

कुरो साथी जनकको फेसबुक स्टाटसबाट शुरू गरौं- “हिजो असाहाय तथा अपाङ्ग केन्द्र भैसेपाटिकी आमैलाई भेटेपछी लाग्यो, मानबता बाँकी छ संसारमा, कुनै एउटा स्वार्थीले NGO को ब्यापार गर्न ल्याएर छोडेर भागेका ८ बच्चालाई यति मजाले स्याहार्नुभएको छ, TFC नेपाल वहाँलाई सहयोग गर्न पाउँदा खुसी छ । मैले अहिले सम्म हेरेका सबै अनाथश्रम भन्दा राम्रो गरी र सफासँग स्याहारसुसार गरिएको हेरेपछि सोचें : सेवा सबैको लागि ब्यापार होइन रहेछ !

अबोध बालबालिकाहरूको नाममा लाखौं कुम्ल्याउने जमातहरूले कति आमाहरूका ममता कुल्चिएका छन्। आफ्नो स्वार्थका लागि अबोध बालबालिकाहरूको मुहारमा सँधैका लागि वेदना र पीडाको छाप लगाउने सेवाका व्यापारीहरू हाम्रै सडकमा, हाम्रै घर वरिपरि, हामी भित्रै छन्। गर्भैबाट वेदना र पीडा बोकाएर जन्माइएकाहरूको मुहारमा आफ्नो सम्पति बेचेर हाँसो र खुशी ल्याउन संघर्षरत आमाहरू पनि हाम्रै वरिपरि छन्।

ललितपूरको भैंसेपाटीमा एउटी बुढी आमै भेटिनुभयो। आफ्नो दुईतले घरको तल्लोतलामा ८ जना बालबालिकाहरूलाई आफ्ना छोराछोरीको माया दिएर पालनपोषण गर्दै आउनुभएकी आमैले भनेको कथाले जोकोहीका आँखामा आँशु ल्याउँछ। ८ बर्ष पहिले एकजना व्यक्तिलाई भाडामा दिएको त्यो तल्लो तलामा आफ्नो स्वार्थको भारी अबोध बालबालिकाहरूको हाँसोमा बोकाएर एउटा व्यापारीले व्यापार शुरू गर्‍यो। व्यापारीले एकाध महिनामै आफूलाई पुग्ने नाफा कमायो र फरार भयो। त्यसपछि सुनौलो भविश्यको सपना देखेका अबोध बालबालिकाको भविश्य अन्धकार भयो। घरबेटी आमाको ममता ती बालबालिका माथि पोखियो र अहिले ती बालबालिकाको मुहारमा हाँसो देखिएको छ।

छेउमै देशका नाम चलेका राजनैतिक नेताहरू बस्छन्- हृदयश त्रिपाठी र वामदेव गौतम। बुढी आमैको दुवै नेताहरूसँग चिनचान छ। उहाँले ती अवोध बालबालिकाको पीडा र वेदनामा मल्हम लगाइदिन अनुनय गर्नुभयो धेरैपटक। तर हात लाग्यो- आश्वासन। आफ्नी छोरीको विवाह गर्दा आदरणीय नेताहरूले भैंसेपाटीको सडकमा कारहरूको बजार खडा गरे तर ती अबोध बालबालिकाहरूको एकछाक टार्न हिम्मत गरेनन्। यतिसम्म कि आफ्नो घरमा कुहिएर जान लागेको चामल र चिउरा दिन्छु भनेर घर बोलाएर खाली हातसम्म पठाए। ११ जनाको सञ्चालक समिति राखेर शुरू गरिएको बाल केन्द्रका सञ्चालक समितिका सदस्यहरू कहाँ छन् अत्तोपत्तो छैन। सायद अमेरिका वा यूरोपमा तिनै बालबालिकाको फोटो देखाएर चन्दा उठाउँदै होलान् अनि तिनै बालबालिकाको आँशुबाट महल नि ठड्याए होलान्।

लगभग १ घन्टाको बसाइमा हामी १० जना साथीहरू ८ जना ती अबोध बालबालिकाकी एक्ली आमाका यीनै पिडाका कथा सुनेर बसिरह्यौं। हामी सबैले सोच्यौं- जब आमाको ममता छचल्किन्छ, हाँसो र खुशी खोज्न टाढा जानु पर्दैन। आमाहरूको आँखामा हेरे पुग्छ, आमाहरूको सपना जाने पुग्छ। खुशी यस मानेमा लागेको छ कि हामी ट्वीटरमा हल्ला गर्नेहरू तीनै आमाको ममता र सपनामा एउटा ईंटा थप्न हौसिएका छौं। उहाँलाई सलाम गर्न हामीले हाम्रा हात खडा गर्ने जमर्को गरेका छौं। उहाँको ममतालाई सलाम !!

TFCNepal को सातौं मिसनका बारेमा पढ्न यहाँ क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ