मकै वेदना !

(यो कथा लेन्दाइको ‘मकै’ कथाबाट प्रेरित छ। यो कथा नितान्त मनोरञ्जनका लागि लेखिएको हो। यो कथा मकैको व्यङ्ग्य गर्न लेखिएको हैन तर यही कथालाई जोड्दै अर्को कथा बुन्ने कोशिस गरिएको हो।)


थापाथली चोक, जहाँ कैयौं चिल्ला सुटमा सजिएका चिल्ला कारहरूका झ्यालमा दिनहुँ एउटै बोली सुनिन्थ्यो- ‘दाइ, १ रुँप्पे दिनु न! मैले केही खा’को छैन।’ कारका झ्यालका सिसाहरू बन्द हुन्थे। अनि ती कट्कटिएका झुत्रा लुगाले अर्को चिल्लो कार कुर्थे।


मान्छेहरू छेऊकै तन्दुरी पसलमा टन्न खान्थे, दाँत कोट्याउँदै बाहिर निस्किन्थे र पिच्च मेरो जिउमा थुक्थे। म ती कारका झ्यालमा याचना गर्ने आँखाहरू हेर्थें, अनि तुलना गर्थें मेरो जिवनसँग। दशौं हजार रूपियाँ गोजीमा हालेर शहर पसेका सपनाधारीहरू सायद कोही सपनाको व्यापारीकोमा बस्थे। रातभरी सपना देख्थे र उज्यालो भएपछि थापाथली चोकमा जम्मा हुन्थे। हरियो रङ्ले धपक्कै ढाकिएको, लामो अनुहार, टुप्पी बाहिर निकालेर लरक्क लर्केको म सुनौला लहरभित्र लुकेर बस्थें। मानिसहरूले मेरो बाहिरी रूप हेर्थे, घुटुक्क थुक निल्थे, आफ्नो गोजी छाम्थे, सायद सपना व्यापारी र आफ्ना सपना सम्झिन्थे अनि थुक निल्दै निराश अनुहारका साथ फर्किन्थे।




[caption id="attachment_27" align="alignleft" width="320"]आहा पोलेको मकै :) Google Image आहा पोलेको मकै :) Google Image[/caption]

मलाई खानेहरू कहिले सुकिला मुकिला कार, मोटरसाइकलवाला, कहिले मिनिबसका खलासी हुन्थे, तर धेरैजसो सडकमा आफ्ना सपना खोजिरहेकाहरू हुन्थे। यस्तो लाग्थ्यो- यिनीहरू महिनौं देखि भोकै छन्। मलाई देख्ने बित्तिकै आफ्ना भोका दाह्रा मेरा शरीरमा धस्थे।



मलाई एकजना दिदीले बाटोमा फिँजाएर राखेकी थिईन्- तीन ठाउँमा टालेको चौबन्दी चोली, सप्को नहाली कम्मरमा बाँधिएको सारी, ख्याउटे शरीरकी ती दिदी अरूको भोकसँग मलाई बेच्थिन्- कहिले आगोको ज्वालामा लुगासँगै डढाएर त कहिले लुगा खोलिदिएर भुङ्ग्रोमा पोलेर। पैला मलाई पोल्थिन्, अनि मेरै लुगामा मलाई पोको पार्थिन् र लुगाको एक फेरमा केही नुन खोर्सानी राखेर दिन्थिन्। सपना व्यापारीलाई सम्झिँदै त्यसको समेत रीस मेरै शरीर माथि पोख्थे। सम्पूर्ण रूपमा मेरो अस्मिता लुटिसकेपछि, फोस्रो बनाएर सडकमा फालिदिन्थे।


म सडकको एकछेऊमा लडिरहेको हुन्थें। मेरै शरीर चपाएर, मेरै लुगामाथि नुन दलेर मेरै मासु खान्थे, नाङ्गेझार पारिसकेपछि दाँत कोट्याउँदै मेरै नाङ्गो शरीरमाथि थुक्थे त्यतिले नि नपुगेर तीनको पैसे सपनाको रीस मै माथि बजार्थे। अर्को सपनाधारी आउँथ्यो, उसको पूरा नभएको सपना सम्झन्थ्यो अनि मलाई एक लात बजाउँथ्यो र मलाई सडकको पल्लो कुना पुर्‍याउँथ्यो। म छटपटिन्थें पीडाले।


कैलेकाहीं मेरो छेउबाटै अग्ला हिल भएका जुत्ता टकटक पार्दै सेता पिँडुला देखाउँदै केही सुन्दरीहरू हिँड्थे। म लम्पसार भूईंबाटै तिनका तिघ्रा हेर्थें र आफ्ना पीडा बिर्सिंदै आफूलाई बौराउन खोज्थें। सम्झिन्थें, मेरा बालापनका ती दिनहरू, जहाँ ठूलो गाउँ थियो। मान्छेहरूले हाम्रा बा-आमालाई माया गरेर स्याहार्थे, आफ्ना कटकटिएका हातले हाम्रा गाला मुसार्थे- सायद त्यसमा आफ्ना सपना पाउँथे होलान्। तरपनि आहा कति सुन्दर थियो त्यो बालापन। हामी बा-आमाको काखीमा च्यापिएर बस्थ्यौं, हुरी चल्थ्यो, झमझम पानी पर्थ्यौ, बा-आमाका फिँजारिएका पातहरू हामीलाई जोगाउन लाग्थे अनि थाकेर आफैं भाँचिन्थे। भाँचिदा भाँचिदै पनि हाम्रा शिरमा लमतन्न पछारिन्थे, भोलिपल्ट मालिक नआउञ्जेल।


म बालापन सम्झेर ब्यूँतन खोज्दै थिएँ। एउटा डिंगो बुटधारी आयो र उसको बुटले मेरो ढाडमा बजार्‍यो र मलाई वागमतीमा हुत्याइदियो। म त त्यसै नांगिएको, लुटिएको र पछारिएको निर्जिव प्राणी। मलाई न त पौडिन आउँछ न त आफुलाई बचाउने प्रयत्न गर्न सक्छु। त्यसैले अहिलेसम्म पनि त्यही वागमतीको पानीसँगै बगिरहेको छु कहिले यो किनारा र कहिले उ किनारा। मलाई थाहा छ- म एकदिन कुहिने छु यही वागमतीमा जहाँ सपना व्यापारी, सपना ग्राहक र सपना देख्नेहरू सबैले आफ्नो मल बगाएका छन्। हो, म त्यही मलमा कुहिएर एकदिन आफ्नो देह त्याग गर्नेछु। त्यो दिन न त कुनै व्यापारीले मेरो अस्तित्व सम्झिनेछ, न त मलाई नंग्याएर आफ्नो भोक मेटाउनेले मेरो त्याग देख्नेछ।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ