थुक्क ! म किन पत्रकार बनिनँ !!

जब जब दशैं आउँछ अनि मलाई लाग्छ- थुक्क ! पत्रकारिता पढेर पनि म किन पत्रकार भईनँ  :( ठाउँ ठाउँमा पत्रकारले पिटाई खाएको समाचारहरू आउँछन्, गाली खान्छन्, धक्कामुक्कीमा पर्छन् पत्रकारहरू। १० हजार महिना तलब ग्यारेन्टी गर्नुपर्छ भनेर आन्दोलन नि गरिरहेका छन् पत्रकार। बर्षभरी कहिल्यै पनि मेरो दिमागमा, मेरो सोचमा म पनि पत्रकार बन्नुपर्ने भन्ने कहीं कतै आउँदैन, तर जब दशैं आउँछ मेरो दिमागले फ्याट्ट सोचिहाल्छ। जब मेरो दिमागमा ‘म किन पत्रकार बनिनँ’ भन्ने सोच आउँछ तब दशैं आउँछ। बिशेष कारण छ यसका पछाडि :P


Google image

दशैंका बेला यसो बाहिर घुम्न गयो, साथीभाइ भेट्यो अनि सुनिन्छ दशैं महात्य। कसैले राजेन्द्र महतोले दशैंका लागि पत्रकारलाई दिएको खामको कुरा गर्छन्।


कसैले चौधरी ग्रुपबाट आउने चाउचाउका कार्टूनका कुरा गर्छन्। रेड-लेबल, बिएर, आलु चिप्स, दशैं खर्चका रूपमा आउने खाम। ओहो !! भारतीय दूतावासको कुरा त छुटाउनै नहुने उपहार खानी भैगयो  आखिर पत्रकारिता त पढेकै थिएँ, यसो कतै निवेदन हाल्न पाएको भए त एकदोटा बिएरका बोतल र चाउचाउका कार्टून र एउटो खाम त मेरो नि भागमा पर्दो हो। यसो भन्दै गर्दा एउटा कुरा स्पष्ट पारौं- ‘घुस लिन्या र घुस दिन्या राष्ट्रका शत्रु हुन्’ भन्ने कुरा नेपालका पत्रकारहरूलाई स्पष्ट थाहा छ  तर चाडबाडमा उपहार लिने र दिने हाम्रो नेपाली संस्कार हो। जसरी मामाघरमा वा ससुरालीमा दशैंमा टीका लाएर दक्षिणा लिइन्छ, जसरी बसका ड्राइभरले दशैमा पेट्रोल पम्पबाट दशैंका लागि एकजोर कपडा पाउँछन् त्यसैगरी व्यापारीबाट पत्रकारहरूले दशैंमा पाउने उपहार वैधानिक छ।


कति काइदाको जागिर। ६-६ महिनादेखि तलब नपाए पनि दशैंमा बोनस त आइहाल्छ, त्यसमाथि उपहार पनि। उपहारमा नैतिकताको कुरा हुँदैन, उपहारको कर तिर्नु पर्दैन, उपहारलाई अख्तियारले समाउँदैन। त्यसमाथि पत्रकारले पाएको, बोल्ने हिम्मत कस्को? भोलिपल्ट फ्रन्ट पेजमा भ्रष्टाचारी बनेर कसैलाई फोटो छाप्नु छ र पत्रकारको उपहारको कुरा गर्नु !   बडो फाइदोको उपहार । यो उपहार पाएबापत भोलिपल्टको पत्रिकामा समाचार छाप्दिनु पर्दैन। अरूबेला छापिदिए पुग्छ। अनि उपहार लिन तपाईं कसैकोमा धाउनु पर्दैन, सिधा तपाईंलाई खोज्दै घरमै आइपुग्छ, टुप्लुक्क। अनि मुसुक्क हाँस्यो र सोच्यो- साला !! एकबर्षभरी दु:ख गरिएको थियो, फल अहिले आयो। गीतामा त्यसै भनेको होइन- कर्म गर, फलको आशा नगर! यो उपहार कहाँ कसले पाउँछ भनेर धेरै दिमाग लाउनु पर्दैन। जब चौधरी ग्रुपको गोदाममा बर्षै पिच्छे आगो लाग्दा ‘विद्युत सर्किट’ मात्रै बिग्रिन्छ, जब एनसेलले कहिल्यै कर तिर्नु पर्दैन, अनि उसका सामानमा भन्सारमा रोकिनु पर्दैन वा चार करोडका सामान आयात गर्दा दुई करोडको सामान ढुवानीको मात्र समाचार बन्छ, जब डाबर नेपालले सुन्दरी उत्पादनमा योगदान गर्छ तब बुझे हुन्छ उपहार कार्यक्रम फस्टाएको छ।


पत्रकारितामा ‘विट’ पनि हुन्छ, तर उपहारका लागि त्यो विटको कामै छैन। खेलकुदतिर गए गणेश थापा दाज्यू हुँदैहुनुहुन्छ, चलचित्रतिर गए रेखा दिदी जिन्दावाद। आर्थिकतिर चौधरी, खेतान, डाबर कति हुन् कति। कूटनीतिक नियोगतिर भारतीय दूतावास एक्लैले काम पुर्‍याइदिन्छ। राजनीतिक रिपोर्टर भए राजेन्द्र महतो लगायतको हुलै छन् ठेक्का ले’र बसेका। पत्रिकाको नाम छ? कार्ड नि? लौ त्यसो भए के चाहियो- ‘समाचार लेख्दा यसो विचार गर्दिनुस् न, दशैंको के पीर गर्नुहुन्छ’भन्छन्। कस्तो शान्त, सरल र मृदु भाषा  :)


मन कटक्क गर्छ आफ्नो, पढेअनुसार काम त गर्नुपर्छ नि ! एउटा पत्रिकामा यसो निवेदन फालेर सूचना विभागबाट एउटा रातो कार्ड बनाएको भए के बिग्रिन्थ्यो? दशैंका बेला यसरी पछताउनु त पर्दैनथ्यो। सोच्दा सोच्दै साथीहरू भन्छन्- ‘हेर्न, यसपालीको बिदाको लागि दुईटा समाचार स्टकमा राखेको, यो छापिँदैन भन्छन्। दशैंको कोसेली भेटे जस्तो छ दूतावासबाट।’ अनि उल्टै उसलाई सान्त्वना दिनु पर्छ। अनि ढुक्क हुन्छ मन, ठीकै भएछ- पत्रकार बनिएनछ। अनि फेरि आउँछ दिमागमा- ‘के थाहा ! बा ठूलै पोष्टमा पुगिन्थ्यो कि? यो मूला आफूले पाएको उपहार लुकाउन बहाना गर्छ।’


दशैं त्यसैपनि आशिर्वाद र उपहारको चाड हो। ठूलाले सानालाई आशिर्वाद दिने संस्कारै हो। संस्कारको निरन्तरता पत्रकारितामा पनि हुनुलाई अन्यथा लिन मिल्दैन :P यसपाली नि यस्तै सोच आयो दिमागमा। भने’सि दशैं लागेछ।


सबैलाई शुभकामना !! दशैंको

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ