‌+२, ट्यापे र ग्यांग फाइट

घाँटीमा टाइ, चटक्क आइरन गरेको सर्ट, चुज बनाएर टिमिक्क पारेको पाइन्ट- केटाहरूको लवाई। ऐेजन ऐजन तर पाइन्टको ठाउँमा घुडा माथिसम्म तानिएको स्कर्ट- केटीहरूको लवाई देख्दा आफ्ना नि तिनै दिन याद आए- +२ पढ्दाताकाका! मेरो कलेजको पेन्ट मैले चुज बनाइनँ- ज्यानको सवाल जो थियो :) SLC पास गरेपछि संसार जितेको भान हुन्छ सबैलाई तर मैले प्लस टु पढने बेलासम्म मेरो त्यो जोश सकिइसकेको थियो। म प्लस टु पढ्न विराटनगर जाँदा काठमाण्डौको ८ हजार महिनाको जागिर छोडेर गएको थिएँ २०५९ को साउन महिनामा जस्तो लाग्छ।

[caption id="attachment_85" align="alignleft" width="479"]Google Image: used under fair use policy Google Image: used under fair use policy[/caption]

यत्रो जोश र जाँगर बोकेर प्लस टु पढन गएको केटो विराटनगर पुगेपछि त्यतिबेला जिल्ल पर्‍यो जतिबेला मैले पढ्न खोजेको सिटी कलेजमा पत्रकारिता अंग्रेजी माध्यममा पढाइहुन्छ भन्ने थाहा भयो। काठमाण्डौ फर्किऊँ जागिर थिएन, त्यहीं पढौं अंग्रेजीमा ‘मेरो नाम अनन्त हो’ र ‘म भात खान्छु’ भन्दा तेस्रो शब्द आउँदैनथ्यो। ‘हेरेरै मर्नुभन्दा त छेरेर मर्नु निको’ भनेर थालियो पढ्न- अंग्रेजी, समाजशास्त्र र पत्रकारिता मूल बिषय राखेर।

न त सरले अंग्रेजीमा भनेको बुझ्थें न त कपीमा लेख्न सक्थें तर पनि पढिरहें। सरहरूले घरमै आएर, दाजुलाई अगाडि राखेर सम्झाउनुसम्म सम्झाए अंग्रेजी नपढ, समाजशास्त्र नेपालीमै पढ भनेर। तर मनले मानेन। कलेजको अन्तिम टेस्टमा अनिवार्य अंग्रेजीमा ७ र छनौटको अंग्रेजीमा ४ आयो ड्याङ्गै। २ महिनापछि बोर्ड परिक्षा हुँदा त्यस्तो हालत थियो। तर हिम्मत हारिएन।

पढ्न त जस्ले नि पढेकै हुन् नि :P तर क्लास बाहिरको कुरा गरौं न!! घरबाट जोगबनी साइकल हुईंकाउँदा २५ देखि ३० मिनेटको बाटो। जोगबनीमा हरेक कुराको सुविधा- फेन्सिडिल, नाइट्रोजन चक्की अनि रेल्वे लाइन हुँदै २० मिनेटजति अगाडि गएपछि ३० रूपियाँ मै पाइने मसाज पार्लरको सुविधा (मसाज हैन है, मसाज पार्लरको सुविधा हो)। पान पसलमै पाइन्थ्यो फेन्सिडिल। विराटनगर, उर्लाबारी, इटहरी र धरानसम्मका ‘ट्यापे’ (नाइट्रोजन ट्याबलेट खानेलाई ट्यापे भनिन्थ्यो)हरू जोगबनीका पान पसलमा छ्यापछ्याप्ती भेटिने। मैले भने पनि कसैले पत्याउने हैन तर माथि भनेका यी तीनै सुविधा आफुले उपभोग गरिएन। एकदुई जना साथीहरू अन्तिम बाहेकका अरू दुई सुविधा उपभोग गर्थे म जेरी खाएर फर्किन्थें। जोगबनी-फारवेसगञ्ज रेलवे लाइनको रेलको पटरीको छेऊछेऊबाटै एउटा बाटो थियो। त्यता जाँदा राम्रा चप्पल, साइकल र पैसा नलिई जानु भन्थे तर पनि हामी डराउँदै डराउँदै जान्थ्यौं। अलि पर एउटा बस्ती थियो- अनि परैबाट बोलाउँथे भारतीय नारीहरूले- ‘आइए, आइए, ३० रपैंए मैं सबकुछ मिल्ता है !’ गोजीमा १० रुपियाँ हुन्थ्यो ३० कहाँबाट ल्याउनु! हामी यस्ती हाँडीलाई ३० रूपियाँ भन्दै फर्किन्थ्यौं।

जोगबनीका पान पसल चहार्दै एक बोतल फेन्सिडिल र एक दुई ट्याबलेट हानेपछि केटाहरू झ्याप हुन्थे अनि कोसँग फाइट पर्ने हो भन्ने डर सँधै। कसैले सिधा हेरेपनि निहुँ खोज्थे केटाहरू। एकपटक क्यारामबोट खेलिरहेका बेला एकजनाले मलाई हेरेको निहुँमा घरकै बाहिर मैले नै पिटेको थिएँ, झ्याप भएपछि त केटाहरूले के बाँकी राख्थे र। एकदिन बिहान कलेज गइरहेका थियौं हिँड्दै रबिन, म, सुरेश र अरू पनि थिए सायद। कलेज पुग्न २ मिनेट मात्र थियो होला- ५ जना केटाहरूले एक्कासी आक्रमण गरे सुरेशलाई। हल्का पानी परिरहेको थियो। हामी पनि ५-६ जना थियौं- दोहोरो हानाहान भयो। कलेज हिँडेका हामी सर्ट र पाइन्ट हिलैहिलो, एकदुई जनाको त सर्टै च्यातियो। अब कसरी जानु कलेज? मनकामना कलेजका केटाहरू थिए, साइबर जाँदा हो या बजार जाँदा सुरेशले घुरेर हेर्‍या थियो रे एउटालाई। केटाहरूले बाटो ढुकैरै बसेछन्। मनकामना कलेज जोगबनी जाने बाटोमा विराटनगरको बजार पार गरेपछि आउँथ्यो। हाम्रो कलेज चाहिँ जोगबनीबाट आउँदा मुख्यबजार भन्दा पनि अलि माथि आउनुपर्थ्यो तीनपैनि छेऊमा। कृष्ण अष्टमीको केही समय अगाडि एउटा मेला लाग्थ्यो ३-४ दिने। नाम बिर्सें। त्यो मेला लाग्ने पानीटंकीको कृष्णमन्दिर बाहिर। हाम्रो कलेजको छेउमा हाम्रै एरिया त हैन तर घरबाट नि नजिक कलेजबाट नि नजिक भएकाले हाम्रो पल्ला भारी थियो। हामीले योजना बनायौं। त्यही मेलामा केटाहरूलाई धोल्ने। हतियार प्रयोग नगर्ने, हातले मात्र मर्मत गर्ने सहमति भयो। रड, छुरी र साइकलको चेनलाई हतियार भनिन्थ्यो। मेला लाग्यो। हरेक दिन ४ बजेदेखि आठ बजेसम्म रूँघेरै बसियो। अहँ, हामीलाई आक्रमण गर्ने केटाहरू चारै दिन आएनन्। बजार जाँदा जहिल्यै डर लाग्ने- कल्ले कताबाट चार्ज गर्ने हो र टाउको फुटने हो भनेर। तर त्यो ग्यांगसँग फेरि जम्काभेट भएन। एक किसिमले सुरक्षित महशुस गरियो।

हाम्रो घर छेउमा एउटा स्कूल थियो- जेम्स इन्टरनेशनल। त्यहाँ पढाउने एकजना शिक्षकसँग रबिनको भनाभन परेछ। रविनले भन्यो- लौ दाइ, त्यसलाई ठोक्नु पर्छ। घर छेउको स्कूल, त्यही स्कूलमा मेरा भाइ बहिनी (काकाका छोराछोरी) पढ्ने, त्यही स्कूलको शिक्षक कसरी कुटनु? एकपटक थर्काउने, टेरेन भने उपचार गर्ने सहमति भयो। हाम्रो घर जाने बाटो र स्कूल जाने बाटो छुट्टिने ठाउँमा एउटा किराना पसल थियो पिताम्बर भेनाको। उहाँ चाहिँ ट्वीटरका काका जस्तै- भेना। एकजना साथीका भेना भएकाले हामी सबैले भेना भन्छौं उहाँलाई ! उहाँको पसल बाहिर त्यो शिक्षकलाई सम्झाउने सल्लाह भयो। सबैले हल्का कालो पदार्थको भाइ खुकुरी चुरोटमा हालेर सेवन गरेका थियौं। स्कूल छुट्टी भयो। शिक्षक आए। म, रविन र अरू एक दुईजना थियौं। म पसलमै बसें र केटाहरूलाई थर्काउन पठाएँ। केटाहरूले केही बोल्नु पहिल्यै चार्ज गरे। जडिबुटीको चार्जले काम गर्‍यो। केटाहरूले धेरै कुटने भए भनेर म छुट्याउन गएको भाग्ने क्रममा उसको कुहिनोले मेरो मुखमा लाग्यो। ओहो !! टाउकामा भएका दुई भुवँराबाट धुवाँ निस्क्यो मेरो। छुट्याउन गएको म उल्टै चार्ज गरें। बिचरा सर, ५ मिटर अग्लो पर्खाल नाघेर तेज दाइको घरभित्र छिरे र बचे। उनको मुखबाट रगत आइरहेको देखेको थिएँ। हामी छिमेकमा गाली खाइन्छ भनेर भाग्यौं। राती ८ बजेपछि आफ्ना आफ्ना घर गयौं।

कलेज र सुत्ने समय बाहेक सँधै भेनाको पसल रूँघ्ने हामी बेपत्ता भयौं। भोलिपल्ट ३ बजेतिर म एक्लै भेनाको पसलमा बसिरहेको थिएँ- एकजना अन्दाजी ३५ बर्षिय पुरुष महाशय आए पसलमा र सोधे- ‘हिजो यहाँ एकजना सरलाई कुटे रे नि’। लौ पर्‍यो फसाद! मोरो त सादा पोशाकको पुलिस पो रहेछ। ‘खै, मैले पनि त्यस्तै सुनेको थिएँ। तर कसैले देखिनँ भन्छन्’- मैले भनें। ‘मसँग कुटने केटाहरूको नाम छ रविन, अनन्त… चिन्नुहुन्छ?’ मेरो मुटुमा ढ्याङ्ग्रो बज्यो। सायद पुलिसले मेरो अनुहार हेरेको थिएन नत्र त्यसले मलाई चिन्थ्यो त्यसपछि मेरो अनुहारको भाव देखेर। रविन र अरू केटाहरू सब पुष्पलाल चोकतिर लुकेका थिए। ममात्र थिएँ त्यहाँ। ‘अरू त सबैलाई चिन्छु तर यो अनन्त भन्ने केटा म चिन्दिनँ’ मैले बल गरेरै भनें। ‘म यतै हुन्छु, केटाहरू आए भने तपाईंले चिनाइदिनुस् है’ भनेर पुलिस चोकतिर लाग्यो। पसलमा दिदीलाई बोलाएर म हतारहतार घर गएँ र केटाहरूलाई फोन गरें। मलाई थाहा थियो केटाहरू लुकेको ठाउँ। ५ दिनसम्म न त कलेज, न त बाहिर, कतै पनि निस्किएन। पुलिस आउन छोड्यो भन्ने थाहा पाएपछि बल्ल हामी बाहिर निस्क्यौं। पछि पुलिसले कहिल्यै खोजेको थाहा पाएनौं। मुद्दा अझै छ कि प्रहरीकोमा, थाहा छैन।

फागु पूर्णिमाको दिन। विराटनगरमा भाङ, गाँजा, घोट्टा सबै चल्छ त्यो दिन। हामी बिहानै देखि झ्याप भएर होलीको रंगमा रंगिएका थियौं। बजार घुमेर घर फर्किने क्रममा तीनपैनी चोकमा पेटीमा बसिरहेका थियौँ। एक हुल केटाहरू पिकअपको पछाडी बसेर बजारतिर गएको देख्यौं। खासै याद पनि गरिएन। तर ५ मिनेट नबित्दै ६ जना केटाहरू हाम्रो अगाडि आइपुगे। हामी तर्सियौं। केटाहरू पहिला फाइट परेका मनकामना कलेजकै थिए। हामी ४ जना मात्र थियौं। त्यसै त बिहानदेखिको नशा र बजार घुमेर थाकेका। हामी बसेको अगाडि साइकल थियो। त्यो साइकल कस्को थियो याद छैन तर केटाहरूले सिधै साइकलमाथि आक्रमण गरे। एउटाले साइकल नालामा हाल्दियो। बाँकी ५ जना हामी माथि जाइलागे। उनीहरूले हानेको रोक्दै सकेको चार्ज गर्दै हामी भाग्यौं पत्तातोड। थाकेका बेला खुट्टा लर्बराउँदै पनि भाग्यौं ज्यान जोगाएर। त्यो ग्यांगसँग सँधै दुश्मनी हुने पक्का भयो। यो तालले हुँदैन भनेर पछि अरू साथीहरूका माध्यमबाट सहमति गरियो- झगडा नगर्ने। एकातिर टाल्यो अर्कातिर फाट्थ्यो। कहिले कलेजभित्रै ग्यांग फाइट हुने कैले क्रिकेट खेल्न जाँदा। एउटीको गर्ल्‌फ्रेण्डलाई अर्कोले हेरे पनि ग्यांग फाइट हुन्थ्यो। अनि बहिनीहरूका दाजुसँग लड्नु त नियमित भैगयो। तर जे जति झगडा गरेपनि कलेजभित्र र बाहिर म जहिल्यै भलादमी र पढनदास विद्यार्थी नै रहेँ। ती दिन सम्झिँदा र बाटोमा प्लस टुका विद्यार्थी देख्दा यिनीहरू कत्तिको फाइट खेल्दा हुन भन्ने सोच्छु र मुसुक्क मुस्कुराउँछु।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ