नेपालीकरण उर्फ ट्रान्स्लेसन् :)

काम गर्दै जाँदा अनेक अनेक गर्न मन लाग्छ :D विपीको ‘जेल जर्नल’ का पाना पल्टाउँदै जाँदा रमाइलो लाग्दै गयो। पढ्दै जाँदा केही अङ्ग्रेजी शब्दहरूको नेपाली रूपान्तरण पनि भेटियो। अङ्ग्रेजीमा सुनिरहेका केही शब्दहरूको नेपालीकरण त साँच्चै गज्जप लाग्यो। हुनत, बरू अङ्ग्रेजीमा बुझिएला तर त्यो नेपाली शब्द बुझ्न शब्दकोष नै हेर्नुपर्ने। कत्ति शब्द त नेपाली शब्दकोषमा नि भेटिन्नन्। पहिला त यी शब्दको नेपालीकरण यो डायरी संकलक गणेशराज शर्माले गरेका हुन् कि जस्तो लागेको थियो तर पछि हिन्दी हुन् वा उर्दू शब्दहरू नि भेटेपछि चाहिँ विपी आफैले लेखेका रहेछन् जस्तो लाग्छ। हुन पनि उनले जेल जर्नलको एकठाउँमा लेखेका पनि छन्- हिन्दी, बंगाली र नेपाली भाषाको मूल संस्कृत भएकोले यी लगभग समान छन्। त्यसैले पनि हिन्दी र बंगाली मेरा मातृभाषा नभएपनि बिदेशी भाषा होइनन्।

[caption id="attachment_128" align="alignleft" width="300"]जेल जर्नल आवरण जेल जर्नल आवरण[/caption]

अब धेरै गनथन नगरी मूख्य कुरो गरौं। मैले यहाँ प्रस्तुत गरेका शब्दहरू जेल जर्नलमा प्रयोग भएका शब्दहरू हुन् अङ्ग्रेजी र नेपाली दुवै। केही अप्ठ्यारा लाग्ने नेपाली शब्दहरूको अर्थ नेपाली बृहद शब्दकोष (नेपाल प्रज्ञा प्रतिष्ठान, सातौं संस्करण, २०६७) बाट खोजेर सरलीकृत बनाउने प्रयत्न पनि गरिएको छ र यसमा नभेटिएका शब्दहरू भने जस्ताको तस्तै राखिएको छ। जतिको अर्थ दिइएको छ त्यो नेपाली बृहद शब्दकोषबाट लिइएको हो। पहिल्यै माफी माग्छु, मैले शब्दहरूलाई वर्णानुक्रमानुसार राख्ने प्रयत्न गरिनँ :(



१) Agnosticism‍ = अज्ञेयवाद। अज्ञेयको अर्थ हुन्छ जान्न नसकिने वा ज्ञान गर्न नसकिने। त्यसमा वाद जोडिएपछि चाहिँ त्यसको अर्थ यस्तो हुँदो रहेछ- ‘दृश्य वा बोध्यभन्दा परको वस्तुलाई जान्न वा सोचेर मात्र निर्णय दिन सकिँदैन भन्ने सैद्धान्तिक मत’।

२) Deductive‍‍ = वियोजक। यो त सजिलो भो :P वियोग गराउने वा छुट्टयाउने।

३) Demoralization= उत्साहहीनता। यसको त के अर्थ लेखिराख्नु पर्ला र :D तर यसको अर्थ ठ्याक्कै यही चाहिँ नहोला कि जस्तो लाग्छ। मलाई यो ब्लग लेखेबापत ‘डिमोरलाइज्ड’ गर्नु हुन्न होला नि ! भन्यो भने कस्तो अर्थ निस्किन्छ होला? खै के खै के :P

४) Command Performance/Writing = राजाज्ञाकृति। राजाज्ञाको अर्थ हुन्छ- राजाबाट दिइएको आज्ञा वा हुकुम। त्यसो हो भने राजाज्ञाकृति भनेको चाहिँ राजाको आदेशले छापिएको कृति भन्ने बुझिन्छ। बिपीले पनि यसलाई त्यही अर्थमा प्रयोग गरेका छन् जेल जर्नलमा, राजा महेन्द्रले आफ्नो गुणगान सहितको पुस्तक प्रकाशन गरेको सन्दर्भमा।

५) Rationalism = बुद्धिवाद। बुद्धिवादको अर्थ चाहिँ- ‘मनुष्यको ज्ञानको स्रोत एक मात्र बुद्धि मान्ने ज्ञानमीमांसाको एक सिद्धान्त’ रै’छ। हो यही शब्द थियो यो ब्लगको सूत्रधार ;-) ‘रेस्नालिज्म्’ भन्ने चाहिँ धेरै सुनेको शब्द तर यसको नेपाली ठ्याक्कै नआउने आफूलाई। पढ्दै जाँदा यो फेला पर्‍यो। ट्वीट गरियो, प्रतिक्रियाहरू आए। अनि अरू अरू शब्द थपिँदै गए। यसो सोचियो- यी शब्दलाई ब्लगमा राखिराख्यो भने कहिलेकाहीं काम लाग्ला। त्यसैले ‘आर्काइभ’ गरेको यहाँ।

६) Empiricism= अनुभूतिवाद। अब यो गार्‍हो पर्‍यो। अनुभूतिको अर्थ चाहिँ ‘स्मृति वा कल्पनाशक्तिद्वारा प्राप्त भएको मानसिक अनुभव’ हो। तर यसमा ‘वाद’ थपिएपछि के हुन्छ त्यो नेपाली बृहद शब्दकोषमा भेटिएन। मैले यसको बयान गर्न सक्ने कुरै भएन।

७) Lucidity = पाञ्जलता । यो ‘पाञ्‍जलता’ भन्ने शब्द पहिलोपटक सुनेको यही किताब पढ्दा। बृहद नेपाली शब्दकोषमा यो शब्द छैन भनेपछि नेपाली त पक्का हैन :) गुग्ले हजुरबाका शरणमा गएँ खै के मिलेन हजुरबाले यो गलत शब्द बोकेर मकहाँ नआइज भनेर थर्काउनु भो, म चुपचाप थन्किएँ। कसैलाई थाहा भए यसो भन्दिनुस् है।

८) Embarrassment‍ =‍ हन्तबुद्धि। के के हुन् शब्द पनि :D अब कहाँ खोज्न जाउँ म यस्को अर्थ, ह मा जाउँ कि बुद्धिमा जाउँ? धर्मसंकट त परेन तर ह मा खोज्दा हन्त नाम गरेको एउटा शब्द मात्रै भेटियो ‘हन्तकाली’ :P यसो सोचेँ- यो खा’को खाई गर्ने त पक्कै होइन होला भनेर बुद्धिमा गएँ, अहँ भेटिएन। भने’सि बुद्धि धेरै खाने भएकोले हन्तबुद्धि भएको होला भन्ने मेरो निष्कर्ष रह्यो।

९) Dilution= महाप्लावन। यसको अर्थ त झन् छैन नेपाली शब्दकोषमा भन्ने पक्का थियो। त्यसैले गग्ले हजुरबाकोमा गएँ। बूढा तगडा रै’छन्, हिन्दीमा भन्दिए :P “महाप्लावन  की परिभाषा नौबंधन , का अर्थ नौबंधन - नौबंधनसंज्ञा पुं० [सं० नौबन्धन]हिमालय के सर्वोच्च श्रृंग का नाम । कहते हैं कि महाप्लावन के समय मनु ने इसी से अपना जहाज बाँधा था (महाभारत) । कुरो बुझियो :P

१०) Intuitional =  अन्तर्ज्ञानि । अर्थ प्रष्ट छ नि नत्र सोध्नुस् त तपाईंको ‘इनट्युसन्’ले के भन्छ?

११) Incisive= तीक्ष्ण। यसको नि खासै अर्थ लगाउनु पर्दैन होला जस्तो लाग्छ। त्यसै पनि हामी एकसेएक तीक्ष्ण बुद्धिका छौं क्यारे !

१२) Fig Leaf= त्यान्द्रो धरो। यो चाहिँ रमाइलो लाग्यो। कहिलेकाहीँ फ्याट्ट् शब्द आउँदैनन्। त्यसैपनि आफ्नो अङ्ग्रेजी ‘काउ इज फोर फुट्टे एनिमल’वाला ।

१३) Initiatives= पदक्षेपण। बोलीचालीको भाषामा ‘इनिसिएटिभ्स्’ लिने भने पछि कुनै कुराको नेतृत्व लिने भन्ने हुन्छ तर यहाँ आयो झन् अप्ठ्यारो शब्द। यो पढेर जानिन्छ कि झन् बढी ‘कन्फ्युजन’ हुन्छ भन्न सकिन्नँ।

१४) Pliable = नयनीय। नयनबाट नयनीय । यो शब्द चाहिँ संस्कृत शब्द रै’छ। अर्थ त आफैले बुझेको भए पो लेख्नु।

१५) Manipulate = हस्तचालन। कति हाँस्नु हो शब्द सुनेर पनि खित्खित्खित्। यो हिन्दी शब्द हो। यसको शाब्दिक अर्थ चाहिँ ‘हात चलाउनु’ हुन्छ। तर, यो अङ्ग्रेजी शब्द ‘म्यानिपुलेट’ ले त्यस्तो अर्थ दिँदैन जस्तो लाग्छ। सानो कुरालाई बढाइ चढाइ गर्नु र आफ्नो पक्षमा वा अर्काको विरूद्धमा उकास्नु भन्ने यसको अर्थ हुनु पर्ने।

अन्त्यमा ‘जेल जर्नल’ बाट लिइएका शब्द भएकाले ‘Jail journal’ को पनि त नेपालीकरण गर्नु पर्‍यो नि :D जर्नलको नेपालीकरण शब्द ‘दिन पञ्जी’ हो, जेल त जेल भइगयो। त्यसैले यी विपीका जेल दिनपञ्जीबाट सापटी लिइएका शब्दहरूका बारेमा अहिलेलाई यत्ति।  हामी सबैको नेपाङ्ग्रेजी सुध्रियोस्।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ