शहीदले नदेखेका सपना !!
-ऋतुराज
शहीदहरूले के-के सपना देखेका थिए कुन्नि ! आफ्ना सपनाबारे उनीहरूले बिस्तारसाथ लेखेर गएनन्।
ती बलिदानी आत्माहरूले देखेका सपनाबारे माघ महिनाको एकदिन व्याख्या गर्ने साना ठूला ब्याख्याताहरू नै जानुन्। हाम्रा शहीदहरूले नदेखेका सपनाचाहिँ यी हुन सक्छन्:
* नब्बे सालको भूइँचालोपछि नयाँ सडक बन्यो। पछि त्यो जुद्ध सडक कहलियो अनि त्यहाँ जुद्धशमशेरको सालिक पनि ठडियो। जुद्धशमशेरकै कारण चार शहीदले प्राणाहुति दिन परेको थियो।
* आज जुन ठाउँमा जुद्धको सालिक शानसित खडा छ त्यसै ठाउँबाट तीनतिर छुट्टिने सडकको नामाकरण शुक्र, धर्म र गंगापथ गरिएको छ। यस्तो उदेकको संयोगबारे हाम्रा शहीदले सपना देखेका थिए होलान् र?
* अझ एकताका त भूगोलपार्कको गिर्दाभित्र शहीदहरूका तस्बिर लस्करै ठड्याउने गरिन्थ्यो। तस्बिरका लहरलाई अग्लो ठाउँमा उभिएर जुद्धको सालिकले निरीक्षण गरेझैं लाग्थ्यो। बाँच्न त दिएन-दिएन, मरेपछि पनि प्राणदण्डको सजाय दिने तानाशाहले त्यसरी घुरेर निरीक्षण गर्ला भनी कसैले कल्पना गरेको हुन सक्छ र?
* शहीदगेटमा राजा त्रिभुवनको छत्रछायाँमा चार शहीदका प्रस्तर प्रतिमा छन्। तर त्यो स्मारक जनसाधारणको पहुँचभन्दा टाढा छ र सैनिक पहरामा रहेका शहीदहरू बन्दीझैं लाग्दछन्। यसरी मृत्युपरान्त पनि बन्दी बनेर बसिरहन पर्ला भन्ने हाम्रा शहीदहरूलाई लागेको थियो होला र?
अनि आफूलाई गोली दाग्ने मानिस सम्मानित नागरिक भएर बाँचिरहला र त्यस व्यक्तिको आत्मकथा पढेर मानिसहरूले वाहवाह गर्लान् भन्ने कुरा गंगालाल र दशरथ चन्दले सोचेका थिए होलान् र?
(नोट: यो लेख जगदम्बा प्रकाशनले आगामी हप्तादेखि बजारमा ल्याउन लागेको ऋतुराजको पुस्तक ‘ऋतुविचार’बाट साभार गरिएको हो। २३५ पृष्ठ रहेको यो पुस्तकको मूल्य रू. ३०० रहेको छ)
Comments
Post a Comment