गोरखापत्र महिमा

खै सबैले भन्छन्: यो एक्काइसौं शताब्दी हो। किन भनेका हुन् था’छैन मलाई तर पनि म पनि भन्छु यो एक्काइसौं शताब्दी नै हो। मैले भने पनि नभने पनि, तपाईंले माने पनि नमाने पनि यो हो त एक्काइसौं शताब्दी नै। कसरी प्रमाणित गर्छस् भनेर तपाईं सोध्नुहुन्छ मलाई था’ छ। मलाई चाहिँ के को डर नि… आउनुस् त गोरखापत्रको इतिहास पढ्न, अनि तपाईंले नै भन्नुहुन्छ: ‘ज्या है, अन्त साँच्चि पो है’छ हऊ!’

[caption id="attachment_266" align="alignleft" width="210"]Gorkhapatra Image: Source: Madan Puraskar Pustakalaya Gorkhapatra Image: Source: Madan Puraskar Pustakalaya[/caption]

क्यार्नु! अरू चन्द्रमा पुगे भनेर आफू धुरी चढ्न भएन। अरू अगाडि बढ्छन्, मलाई पछाडि फर्किन मन लाग्छ। त्यसै पनि अहिले देश पृथ्वीनारायण शाहभन्दा अगाडि जान खोजिरा’को अवस्था छ अनि मैले चैं जाबो १०० बर्ष अगाडि फर्किन किन नपाउने? बेकारका कुरा। धेरै गन्थन किन गर्नु। चुरो कुरो के भने; ‘पत्रिकाको मेरुदण्ड विज्ञापन हो’ भनेर तपाईंले र मैले नमाने पनि पत्रिका चलाउनेले त्यसै भन्छन्। हुन पनि हो, टेबुलमुनीको हिसाब नगर्ने हो भने पत्रिका चल्ने विज्ञापनले नै हो। यसो फुर्सद मिल्यो कि गोरखापत्र पढुम् पढुम् लाग्छ। यसो खोजिपस्यो केही न केही त भेटिहाल्छ। अब किन एक्काईंसौं शताब्दी भनेको भनेर म भन्छु, सुन्नुस् भन्न मिलेन पढनुस्।

गोरखापत्रको वर्ष १, संख्या ६, बिक्रम संवत् १९५८ साल आषाढवदी ८, सोमवारका दिन गोरखापत्रमा पहिलोपटक गोरखापत्रका प्रकाशक पं. नरदेव, पशुपति प्रेसभन्दा बाहेकको विज्ञापन छापियो। ‘पिताम्वर कायस्थ’का नाममा छापिएको यो विज्ञापनले तपाईंलाई अहिले साँच्चै एक्काईसौं शताब्दी नै रहेछ भन्ने प्रष्ट पार्ने छ। विज्ञापनको शीर्षक छ: ‘पढाउने माष्टर”। विज्ञापन जस्ताको तस्तै: “मेरो घर गयाजीमा हो मैले इन्ट्रेन्स यफ.ए. पास गरेको छु वी.ए. फेल भयाको छु. हाल सर्कारमा बक्साई कम्याण्डर कर्णेल फौद्रसीं खत्री क्षत्रीले आफ्ना नातिहरूलाई पढाउन मलाई झिकाउदा मज्कुर कर्णेलका नाति पढाउछु उनीहरूलाइ पढाउने टाइम बाहेक अरू बखत मलाइ फूर्सत छ कसैलाइ पढन इरादा भया मेरो डेरा कमल पोखरी अधिकारी कप्तान का घर मा आइ पढने टाइम र फिसको ठेकाना गर्नु रामरा हीसाब सँग पढाउनेछू.”

 

हेर्नुस् त, आफूले पास गरेको त जस्ले नि भन्छ तर ‘मैले बिए फेल गरेको छु पढन आउनुस् राम्रोसँग पढाउँछु’ भनेर कसैले भन्न सक्छ अहिले विज्ञापनै गरेर? हेरौं न बाटा बाटामा टाँसेका होर्डिङ् बोर्डहरूमा। इमान्दारिताको नि हद हुन्छ नि। यो विज्ञापन गोरखापत्रमा कुनै व्यक्तिका नाममा छापिएको पहिलो विज्ञापन हो। चेतना भया :)इमान्दारीता पिताम्वर कायस्थसँग मात्र थिएन। १ महिना पछि १९५८ श्रावणवदी १३ सोमवार, वर्ष १, संख्या १५ मा अर्को सहयोगको अपील भनौं या विज्ञापन आयो। यसले पनि बडो भावनात्मक कुरा गर्छ। पढौं: “छप्रा जिल्ला मा मैले ३ गौशाला बनाञा तेस्मा मेरो १,००० हजार खर्च भये कोछ, तसर्थ हरी भक्तहरू सित प्राथना गर्दछु की यो मेरो पुण्यशालामा मदत दिउन् यदी मैले भनेको कसैलाई पत्यार पर्दैन यो ठग हो भन्ने हुन्छ भने लक्ष्मीप्रसाद वकिल, रघुनाथ सिंह छप्राबाट बुझि म गौपुत्र रामचरण दासको मदत् गर्नु भया गौशाला स्थिर रहि अनन्त पुण्य हुनेछ.” -मवसेको ठेगाना, त्रिपुरेश्वर रामदयाल मिस्त्रीको घर नेपाल.

छैन त गजब !! साक्षी प्रमाण दिएर, ठग हैन है भनेर सहयोग माग्ने। अहिले न त कसैले म यति फेल भनेर गर्वले पत्रिकामा विज्ञापन छाप्न सक्छ, न त कसैले सहयोग गर्नु अघि बुझेर सहयोग गर्नुस् भनेर नै भन्छ। अबको पालो गोरखापत्रको आफ्नै विज्ञापन तर लेखको शैलीमा। बिक्रम संवत १९५९ आषाढवदी २ सोमवार, भाग २, संख्या ८को पृष्ठ २मा छापिएको ‘अखबारको फाइदा’ शिर्षकको लेख: “हे समाचार पत्रमा रसिक भयाका सज्जन हो ! विचार गर्नुहोस् ______ संसारमा सबभन्दा ठूलो र टाढासम्म देखन सक्ने दुर्बिन बाहेक अरू केहि छ? जुनद्वारा सारा संसार तपाञीहरूको दृष्टी गोचर स्थान (आँखाले देखिने ठाउँ) हुनसक्तछ? अथवा अखबार भन्दा अरू जुनबाट हेर्दा, सारा संसार देखन सकिन्छ!”

अब त पक्का भो होला नि हामी एक्काईसौं शताब्दीमा छौं भनेर। अहिले पत्रिकाभन्दा पहिले संसार एकैपटक कस्ले देखाउँछ भनेर मैले किन भन्नु यहाँ। गोरखापत्रले यो लेख लेख्दा अहिलेकै जस्तो प्रविधिको विकास हुन्छ होला, अनि पत्रिकाले इन्टरनेटबाट तानेर समाचार छाप्नुपर्ला भनेर सोचेको थियो होला त? तर जे भएपनि यो गोरखापत्रका हरेक पृष्ठ, हरेक समाचार रमाइला र ऐतिहासिक लाग्छन्। त्यसैले यसको महिमा अपरम्पार छ। तर अहिलेलाई यत्ति। बाँकी फेरि फेरि लेख्दै गरौंला !! जदौ !!!

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ