इतिहासको एउटा पत्तो

Writing is a struggle against silence.” - Carlos Fuentes


माथिनै कार्लोस् को भनाइ राखेसि बुझ्नुहोला लेख्न कति गारो रै’छ भनेर :P


रूची नै इतिहासमा, त्यो पनि पत्रकारिताको !


पत्रकारिताको इतिहासको कुरा गर्दा गोरखापत्र छुटाउनै नहुने नाम छँदैछ। गोरखापत्रका हरेक पुराना अंकले एउटा इतिहास बोक्छन् भनेर कमलमणि दिक्षितले कतै लेख्नुभएको थियो, जुन कुरा गोरखापत्र हेर्दा हो जस्तै लाग्छ। कमलमणि दिक्षितले जति मिहीन रूपमा गोरखापत्र हेर्ने धैर्य म मा छैन… तर पनि गोरखापत्रका बारेमा केही सोध्नु पर्‍यो भने आजकाल अफिसमा मेरो नाम आउने गर्छ। लाजैमर्दो लाग्छ।


भएपनि सरर पढ्दैजाँदा केही रमाइला कुरा भेटिन्थ्यो, म अल्छि लागेन भने टिप्थें डायरीमा। २ वर्ष अघि गोरखापत्रका पहिलो अंक देखि २०३८ सालसम्मको गोरखापत्र पढ्नेक्रममा प्रयोग भएको डायरी भेटियो र त्यही डायरीका केही रमाइला प्रसंगहरू बाँड्ने प्रयास हो यो।


२०३४ साल पुस २१ गतेको अंकमा ‘केशवराज पिँडाली’को नियमित स्तम्भ “कुराको कुरो”मा छापिएको लेखले ध्यान तान्यो। “गोरखापत्रको छापाख्याक” शीर्षकको यो लेखले बडो रमाइलो प्रसंगको चर्चा गरेको छ। उक्त समयमा पत्रिका अहिलेजस्तो अत्याधुनिक मेशीनमा छापिँदैनथ्यो। एउटा एउटा अक्षरबाट शब्द कम्पोज गरेर छाप्नुपर्थ्यो। त्यसरी कम्पोज गरिसकेपछि एकप्रति छापिन्थ्यो र त्यसलाई ‘स्टोन सम्पादक’ (ढुंगाको स्लेटजस्तोमा राखेर प्रूफ हेर्ने भएकोले सो काम गर्नेलाई स्टोन सम्पादक भनिन्थ्यो जुन अहिले अस्तित्वमा छैन) ले हेरेर रूजु गरेपछि मात्र पत्रिका छापिन्थ्यो।


‘स्टोन सम्पादक’ले गल्ती गर्‍यो भने त्यो गल्ती त पत्रिका बाहिर निस्कँदा आइहाल्थ्यो। त्यसरी एउटा छाप्न खोज्दा अर्कै छापिनेलाई ‘छापाख्याक’ भनिन्थ्यो, जसलाई अंग्रेजीमा Printer’s Devil भनिन्थ्यो। आजकाल टाइपोमा गल्ति भनिन्छ अर्थात् ‘प्रिण्टिङ मिस्टेक’। यो लेखमा दिइएका उदाहरणहरू सारै रमाइला छन्। एकपटक हेरौं:


मंसीर २२, २०३४ को गोरखापत्रमा नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दरको विज्ञापनमा पाउण्ड स्टर्लिङ् बिक्रीदर २३/०२ हुनुपर्नेमा २२/०२ भएछ। भोलिपल्टै संसोधन छापियो- “यही मार्ग २२ गते प्रकाशित नेपाल राष्ट्र बैंकको विनिमय दरमा २२/०२ को सट्टा २२३/०२ गरी सच्चाई पढ्नुहोला”। ल हेर्नुस् अब। अहिले पनि पाउण्डको दाम २०० पुगेको छैन तर त्यो छापाख्याकले त्यस्तो छापिदियो।


अर्को उदाहरण त कति संवेदनशील छ… तर पढ्दा रमाइलै लाग्छ। यो ठ्याक्कै कहिले छापिएको थियो भनेर लेखिएको छैन तर लगभग दुई वर्ष (२०३२) सालतिर (मैले २०३२ सालको पत्रिका हेर्दा भेटेको थिइनँ, अब फेरि हेर्ने सोच्दैछु) एउटा विज्ञापन छापिएको रहेछ। विज्ञापन ‘सेल्स गर्ल चाहियो’ भन्ने थियो त्यो मोरो ख्याकले ‘सेक्स गर्ल चाहियो’ भनेर छापिदिएछ। पिंडालीकै शब्दमा ‘खै त्यो विज्ञापन पढेर कति जनाले दरखास्त दिए भन्ने चैं यो लेखकले थाहा पाएन’।


यस्ता अरू पनि उदाहरण हेरौं न कस्तो अनर्थ हुनपुग्छ एउटा गल्तीले। गोरखापत्रमा विज्ञापन आयो, ‘लकडी लिलाम’को, तर ख्याकले विज्ञापनमा ‘लडकी लिलाम’ भनेर छापिदियो। त्यस्तै पहिलेदेखिनै गोरखापत्रमा सरकारी कर्मचारीलाई हाजिर हुन आउने, कुनै दिवसमा उपस्थित हुने सूचना आउने गर्थ्यो। एकपटक त्यस्तै सूचना आएछ। शीर्षक थियो: ‘हाजिर हुने जनाउ’ तर छापियो ‘हाजिर हुन नजाउ’। बिचरा त्यो हाजिर हुन नजाउ भनेर सम्बोधन गरिएको कर्मचारीको जागिर के भयो होला।


नेपालको राजनितीमा पहिल्यै देखिको रोग हो नेपालको सरकार दक्षिणको छिमेकीले बनाउँछ भन्ने। २००७ सालतिर त झन् यो चर्चा एकदमै बढी चल्थ्यो रे। जोसुकैले गर्ने गुनासो एउटै हुन्थ्यो रे (हामीले अहिले ट्वीटराँ गर्ने गुनासो जस्तै उसबेला चिया पसलमा यस्ता गुनासो सुनिन्थ्यो) – ‘देशको मन्त्रिमण्डल कहिल्यै देशमा बनेन’। जनताले गर्ने गुनासो त छँदैथियो। हुँदा हुँदा गोरखापत्रको छापाख्याकले २०३१ सालताका नेपालका प्रधानमन्त्री सम्बन्धि एउटा समाचारमा ‘नेपालका माननीय प्रधानमन्त्री फलाना’ हुनुपर्ने छापिँदा ‘भारतीय प्रधानमन्त्री’ भनेर नेपालका प्रधानमन्त्रीको नाम छापिएछ।


कम्तीमा ख्याकैले सही… नेपालका प्रधानमन्त्रीलाई भारतको प्रधानमन्त्री बनाइदियो। यो सम्चारले कूटनितीक सम्बन्धमा कस्तो असर गर्‍यो होला कुन्नी !! यो रोग अहिले पनि यथावत छँदैछ। यो कम्प्युटराँ टाइप गर्‍यो। हेर्‍यो देखिँदैन अनि जब छापेर आउँछ अनि टाउको दुख्न थाल्छ। म आफैं पनि पुस्तक प्रकाशन गर्ने काम गर्छु। प्रेसबाट पुस्तक आउने बित्तिकै चिन्ता शुरू हुन्छ- ‘यो छापाख्याकले के के खाइदियो’ भनेर। यो लेखमा पनि केही गल्ती भेटियो भने त्यो छापाख्याकको गल्ती हो। माफ गर्नुहोला !!

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ