राजकुमारी र शहर

खै, दुश्मनी गरेर नि भुल्न नसक्ने तिमीमा के जादु छ राजकुमारी झगडा गरेकै दिन झन् धेरै याद आउँछ्यौ। तेल, ग्याँस र पानी बिनाको यो शहरमा तिम्रो यादले मलाई कति दिन बचाउला र! आज भर्खर सम्चार पढदै थें- “ पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनमा प्रति लिटर चार रुपैयाँका दरले वृद्धि !!” मनमनै सोचें- ‘कास,… इन्धनको सट्टा तिम्रो माया बढेको सम्चार छापिए’। आश पनि लाग्न छाड्यो आजकाल त…शहर निष्ठूरी बन्दै गएको छ। राजकुमारी पनि त शहरिया नै हौ क्यारे।

तिम्रै शहराँ बसेर तिम्लाई नै गाली गर्नु मलाई मन त छैन राजकुमारी, तर शहर र तिम्ले दिएका पिडा सारै निर्दयी। यो कुरूप शहराँ तिम्रै रूपले त मलाई रोकेर राखेको थ्यो। तर, अहिले लाग्दैछ- कत्रो भ्रम- सुन्दरता भित्रको कुरूपतालाई कहिल्यै बुझ्न सकिएनछ। यो शहर र तिम्रो माया एउटै लाग्छ आजकाल। एकदिन खाल्डो पुर्‍यो अर्को दिन ट्रक चल्छ छातीमाथि अनि खाल्डो जस्ताको तस्तै। त्यसमाथि हेरन, आजकाल त शहराँ कत्ति धेरै ब्वाँसाहरू..! ठ्याक्कै तिम्रो र मेरो मायाका बीचमा आएका ब्वाँसाहरू जस्तै। अनवरत लुछिरहेछन्- मेरो खुशी र मान्छेका मायालु मनहरू। मेरा कलिला सपनाहरू त केवल मेरा लागि मात्र। त्यो पनि अस्थिपञ्जर भा’को छ आजकाल- तिम्रो र तिम्रो शहरको निर्दयतामा। हरेक साँझ म यो शहरको एउटा कुनामा आफ्ना सपना र तिम्रो माया जम्मा पारेर सिरानीमा राख्न खोज्छु तर आजकाल लाग्न थालेको छ यी दुईटै ‘सिसिपस’का कथा हुन्।

कत्रो सपना थ्यो तिम्रो अंगालोमा बाँच्ने तर हेर त यो शहर ग्याँसको सिलिण्डरलाई अंगालो हालेर रूनु पर्ने भा’छ। अनि तिमी भन्छ्यौ- ‘खबरदार! यो मेरो शहर हो’। हो, राजकुमारी! यो शहर तिम्रै अनि तिमी यही शहरकी। म त बिचरा निम्छरो ‘तिम्लाई र तिम्रो शहरलाई आफ्नो बनाउने सपना देख्ने’ एउटा सानो पतङ्ग्। दिनदिनै खबर त छापिन्छन् यो शहराँ- तर कुनै दिन सम्चार पढने हिम्मत नै हुँदैन- किनकि, म मा मेरा सपना यो शहरको सडकमा बलात्कृत भएको खबर पढने हिम्मत नै छैन। हेरन, कस्तो भिडभाड छ यो शहराँ तर तिमीबाहेक मैले कसैलाई आफ्नो ठान्नै सकिनँ। अहिले हेर्छु- तिमी पनि आखिर यही शहरकी एउटी भिड हौ, जस्मा संवेदना नै छैन, जस्मा छ त केवल घमण्ड, राम्री भएकोमा। तर सानो जिज्ञासा- यस्तो भ्रष्ट र बलात्कारी भिडाँ तिमीले आफ्नो सुन्दरतालाई कति दिन जोगाएर राख्न सकौली र खै !!

शहर कुरूप भयो भनेर आजकाल ठूला ठूला भाषण सुन्न थालेको छु। गर्नुसम्म बलात्कार गरेर अहिले यसैको कुरूपता डकारे जस्तै कसैले तिमी माथि नि त गिद्धेदृष्टि लगाइराखेको होला। कसरी जोगाउँछ्यौ तिमीले ती ब्वाँसाहरूबाट- मलाई चिन्ता लाग्छ। यो शहर र यहाँको भिड- नाङ्गै बलात्कार गरेर मजेत्रो ओढाएर माफी माग्छ। सोच त, त्यो बेला तिमी तिम्रो शहर र तिम्रो भिड- कल्पना गर्न सक्छौ? त्यो बेला पनि म तिमीलाई पर्खेर यही तिम्रै शहरमा हुनेछु। किनकी मैले तिमी र तिम्रो शहर बाहिर आफ्नो जिवन देखेकै छैन। तिमीले यसलाई मेरो लाचारी भन्न सक्छौ। त्यो तिम्रो कुरा हो। मलाई थाहा छ, तिम्रो सुन्दरता कुरूपतामा बदलियो भने वा तिम्रो शहर तिमीले सोचेभन्दा फरक भयो भने तिमीले तिम्रो शहर छोड्नेछौ र सायद कुनै अर्को शहर, कुनै अर्को देश जानेछौ। तर त्यो बेला पनि म तिम्रै शहरमा तिमीलाई पर्खेर बसेको हुनेछु- लाचार र विवश !!

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ