‘एक्स्क्लुसिभ’

धेरै दिन भो लेख्न खोजेको। न त पात्र फेला परे न त कथा। कथा न पात्र लेखनको जात्रा भो।


एकदिन अफिसबाट चिया खान निस्किँदा कुरा निस्क्यो- स्वर्ग जाने कि नर्क भन्ने बिषयमा। सबैले आफ्नो आफ्नो तर्क दिए। मेरो तर्क चाहिँ अलि फरक भएछ। त्यसै पनि मसँग भगवान रिसाएकाका छन्। किनकी म भगवानलाई मान्छु तर भगवान मलाई मान्दैनन्। भगवानको पनि आफ्नै तर्क छ- “बाबु, मन्दिर आउ, फूल प्रसाद चढाऊ, लिङ्ग पूजा गर” भन्छन्। म भन्छु- “हेर बुढा, तिमी काँ ढुङ्गाको मूर्ति, म कहाँ हाड छालाको शरिर। तिमी काँ जतिबेला नि शिर ठाडो पारेर बसेका जबरस्वाँठ, म काँ लुत्रुक्क परेको निम्छरो। कहाँ तिमी भाङ् धतुरो खा’र नाच्दै हिँड्ने काँ म यसो बिजुली पानीसँग नाच्ने।“



घम्साघम्सी पर्छ मेरो भगवानसँग। कुरै नमिल्ने। तर एउटा कुरा के चाहिँ पक्का हो भने यमराजको मूर्ति फेला परेदेखि म मन्दिर जाने थेँ र प्रार्थना गर्ने थेँ, “हे यमराजजी, हाम्रो देशका पाखण्डी नेताहरूलाई चाँडै लैजाऔ र तेलको कराईमा उमाल” भनेर। बेमानहरूले यमराजको भक्ति गरेर हामीलाई नर्कमा पुर्या उलान् भनेर कतै यीनको न त मूर्ति नै बनाए न त कतै मन्दिरै बनाए। सबै पाखण्डीहरू। सुन्दै छु, राजा विरेन्द्र स्वर्गमा छन् रे। त्यो त के अचम्म भो र, इन्द्रले डाइरेक्ट झिका’छन् बुढालाई “यीनलाई अर्कोले मारेको हुनाले मेरोमा पठाउनु। अलि सोखिन नि छन् अप्सराका, मसँग कुरा मिल्छ” भनेर। अनौठो कुरा त अझ अर्को छ, अस्ति भर्खर हाम्रा बुद्धिसागर सम्पादक भ’र यमराजले प्रकाशित गरेको समाचार पत्रमा पढ्याथेँ। गिर्जाउ नि स्वर्ग गएछन्। यो समाचार यमलोक दैनिकले यसरी प्रस्तुत गरेको छ- “नेपाललोकबाट ८६ बर्षको अल्पायूमै निधन भएर आएका गिर्जाउलाई यमलोकबाट स्वर्गलोक स्तानान्तरण गरिएको छ। नाम नखुलाउने यमलोकको हिसाब हेर्ने स्रोतका अनुसार उनले यमराजको कुर्सी हडप्नको लागि कूटनिती खेलेको आशंकामा स्थानान्तरण गरिएको हो।“ म सोच्दैछु पत्रिकामा एउटा पाठक पत्र लेखौँ, ‘सम्माननीय इन्द्रदेव ज्यू, तिम्रा अप्सरा र तिम्रो सत्ता संकटमा छ’ भनेर।


बडो गार्हो छ नि स्वर्गमा बस्न। पूजापाठ, फलफूलको भोजन, सोमरस के के। आफूलाई लोकल कुखुरा र कोदोको लोकल रउसी खान पर्छ, कहाँ त्यो अंगुरको सोमरस। भन्यो नि, नर्क जाऊँ भनेर, तर त्याँ नि अहिले बडो गार्हो भा र’छ। आतंककारी, बन्दुकधारीको बिगबिगी छ रे। त्यसको त खास डर थे’न किनकी हामी बानी परकै छौं यस्ता कुरामा। दिउँसोको सुरक्षा व्यवस्था गान्धिलाई द्या रै’छ, बुढा सेतो धोती ला’र शान्ति शान्ति भन्दै हिँड्या छन् रे, रातीको सुरक्षाको जिम्मा अम्रिकाले गर्दो रै’छ। अनि त के चाहियो, रातभरी दोहोरो गोली हानाहान, रकेट, लञ्चर के के हो के के। त्यही भे’र विन लादेनलाई नर्कबाट निकाल्ने योजना बन्दै रै’छ।


पत्रिका संकलन केन्द्रमा बस्नुको फाइदै यही हो। जोकोहीले यस्ता ‘एक्स्क्लुसिभ’ सम्चार पढ्न काँ पाउँछन् र !! बडो विचित्र विचित्र सम्चारहरू आउँछन् आजकाल, भिन्न भिन्न लोकबाट। अहिलेलाई माथीको ताजा सम्चार यत्ति नै। बाँकी त हाम्रो भेट माथि त्यै यमलोकाँ हुने हो क्यारे। त्याँ घर भाडा तिर्नु पर्दैन, खानको पैसा तिर्न पर्दैन। कपडा पसल पनि थापेकै छैन रे यमराजले लुगा नलगाउनु भन्ने उर्दि जारी गर्‍या रे’छन्। त्यसैले काम गर्नु जरूरी छैन। तपाईं एउटा कराईमा, म अर्को कराईमा भेट हुने पक्का छ। कुरा गरौँला नि घुमीघुमी !!

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ